राजनीति

इनिशाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काभ्रे प्रशासनलाई ज्ञापन पत्र

milijulikhabar

सुर्खेतकी बालिका इनिशा वि.कको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काभ्रे प्रशासनलाई ज्ञापन पत्र बुझाइएको छ । 

आज जिल्ला स्थित विभिन्न जातीय संघसंगठनले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् । 

नेपाल दलित मुक्ति मोर्चा काभ्रे जिल्ला समन्वय समितिका इन्चार्ज दिपेन्द्र सुर्खेती, मुक्ति समाज नेपालका अध्यक्ष मदन विश्वकर्मा, एकीकृत दलित मुक्ति मोर्चाका जिल्ला संयोजक प्रकाश बिसुन्के र नेपाल दलि संघ काभ्रेका सचिब धनराज सुर्खेतीले हस्ताक्षर गरेको ज्ञापन पत्र प्रजिअ अधिकारीलाई बुझाइएको हो । 

ज्ञापन पत्रमा भनिएको छ ‘सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नं. ६ स्थायी घर भई हाल वीरेन्द्रनगर–१ बसोबास गर्दै आएकी १६ वर्षीया इनिसा वि.क.को बलात्कारपछि भएको अमानवीय हत्याप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त अमानवीय घटनाको घोर निन्दा तथा भत्र्सना गर्दछौं । एउटा निर्दोष नाबालिकामाथि यसरी सामूहिक बलात्कारपछि हत्या गरिएको छ । 
उक्त घटनामा संलग्नहरुलाई विभिन्न बहनामा बचाउ गर्न खोज्ने, कार्वाहीको प्रक्रियामा ढिलासुस्ती गर्ने जस्ता भएका गतिविधिप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । हाम्रो समाजमा विद्यमान हिंसा, अन्याय र विभेद कति गहिरो छ भन्ने ज्वलन्त उदाहरण पनि हो । 

यस्तो जघन्य अपराधले मानवता, कानुनी शासन तथा सभ्य समाजका मूल्य–मान्यतामाथि गम्भीर प्रहार गरेको छ । यस घटनामा संलग्न दोषीहरूलाई कडा भन्दा कडा कानुनी कारबाही गर्न, पीडित परिवारलाई न्याय, सुरक्षा तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि हामी जोडदार माग गर्दछौं । 

यदि दोषीहरूलाई उन्मुक्ति दिने वा घटनालाई ढाकछोप गर्ने प्रयास गरियो भने त्यसको कडा प्रतिरोध गरिने यसै प्रेस विज्ञप्ति मार्फत चेतावनी दिन चाहन्छौं । दलितहरुमाथि श्रृखलाबद्ध रुपमा एकपछि अर्को हत्या, हिंसा र उत्पडिनका घटनाहरु घटिरहंदा पनि राज्यका तर्फबाट कुनै विशेष पहलकदमी नलिएको प्रति हामी अत्यन्तै चिन्तित भएका छौं । 

यस्ता अपराधजन्य घटनाहरु घट्न नदिन दलितहरु माथिको उत्पीडन, शोषण र अत्याचारको अन्त्यको योजना बनाइ दलितहरुमाथिको अन्याय र अत्याचारको अन्त्य गर्न माग गर्दछौं । साथै यस अमानवीय घटनाको सत्यतथ्य छानवीन गरी न्यायको लागि सहयोग गर्न र एकता बद्धताका लागि आव्हान गर्दछौं । मृतक इनिशा वि.क. प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।’

 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर