राजनीति
रास्वपा छोडेका दिनेश हुमागाईलाई काभ्रे कांग्रेसले दिएन भाउ !
फेसबुकबाट रास्वपा छोडेको र सर्लाहीमा पुगेर नेपाली कांग्रेसका सभापति गगन थापासंग फोटो खिचाएर प्रवेश गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश समिति उपसभापति दिनेश हुमागाईंले आज धुलिखेलमा पत्रकार सम्मेलनको आयोजना गरे ।
उनले पत्रकार सम्मेलनको समय विहान ११ बजे तोकेका थिए । तर उनी तोकिएको समयमा आइपुगेनन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काभ्रे–२ का उम्मेदवार मधु आचार्य तोकिएकै समयमा आए । अन्य नेता कार्यकर्ता समेत लगभग तोकिएकै समयमा आएका थिए ।
धुलिखेलको चुनावी घरदैलो अभियानबीचैमा छोडेर उम्मेदवार आचार्य झण्डै १ घण्टा दिनेशको फर्काइमा बसे । ढिला गरी पत्रकार सम्मेलनमा आइपुगेका हुमागाईको अपेक्षा निकै ठूलो देखिने खालको हाउभाउ थियो । तर उनी चकित परे कि, नेता कार्यकर्ताको संख्या धेरै, खादा माला एउटा पनि थिएन् ।
उम्मेदवार आचार्य र सभापति तीर्थ लामाको बीचमा बसेका हुमागाईं आफैले खै त खादा भनेर सोधे । खादा त लगाइदिनु न भने । उम्मेदवार आचार्यले ओहो खादा भने । खल्ती छाम्न थाले । तल्लो रोमा बसेका प्रदेश क्षेत्रीय समिति (क) का सभापतिले आफ्नो गोजीमा रहेको खादा आचार्यको हातमा थमाए । त्यसपछि सभापति लामा र नेता अच्युत पौडेलले खादा लगाइदिए ।
हुमागाईको स्वागतमा उम्मेदवार आचार्य र जिल्ला सभापति लामालाई भनाई राख्ने कि भनेर कार्यक्रम सञ्चालक प्रेस युनियनका केन्द्रीय सदस्य कपिल कोइरालाले सोधे । तर दुबै जनाले यो दिनेश जीको कार्यक्रम हो भन्दै नबोल्ने सकेंत गरे ।
चुनावी घरदैलो । त्यो पनि आज धुलिखेलमै उम्मेदवार सहित भएकाले पत्रकार सम्मेलनमा कांग्रेस नेता कार्यकर्ता देखिएता पनि स्वागत भने दिलैदेखि नगरेको प्रष्ट देखिन्थ्यो । किन कि खादा समेत उनी आफैले माग्नु परेको थियो । हुमागाईंले कांग्रेस सभापति गगन थापाको प्रशंसा तथा रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन शाहको आलोचनामा धेरै समय खर्च गरे । काभ्रे कांग्रेसले उनलाई भाउ नदिनुको मुख्य कारण हो, पार्टी प्रवेश हुमागाई एक्लै भए । उनीसंग अरु एक जना पनि कांग्रेसको पक्षमा देखिएनन् । अघिल्लो पटक क्षेत्र नम्बर २ मा हुमागाईले रास्वपाको तर्फबाट १० हजार बढी मत ल्याएका थिए । त्यसमा ठूलो हिस्सा नेपाली कांग्रेसकै थियो ।
यो पटक झनै बढी प्रतिस्पर्धामा रास्वपा यो निर्वाचन क्षेत्रमा देखिन्छ । हुमागाईको कांग्रेस प्रवेशले त्यो प्रतिस्पर्धाको रेसलाई रोक्ने कुनै छाटकाँट छैन् । उल्टै रास्वपा र नेपाली कांग्रेसभित्र समेत उनले अवसरवादीको ट्याग पाइरहनेछन् । नाम पत्रकार सम्मेलन दिएता पनि नेता कार्यकर्ताको भेला थियो । प्रेस युनियन काभ्रे शाखाकै कोही पनि पदाधिकारी पत्रकार सम्मेलनमा नआएपछि केन्द्रीय सदस्य कोइराला नै कार्यक्रम चलाउन बाध्य हुनुुपर्यो ।
पत्रकारको प्रश्नको उचित जवाफ समेत हुमागाईले दिएनन् । उनलाई पत्रकारले काभ्रेमा रास्वपाका कुन उम्मेदवारले कति पैसा तिरेर यो पटक टिकट किनेका हुन् त्यसको प्रमाण छ ? भनेर प्रश्न सोधेका थिए । त्यस्तै २०७९ सालको टिकट तपाईले कतिमा किन्नु भएको हो भनेर प्रश्न गरिएको थियो । उनले ठोस उत्तर दिन आनाकानी गरे । पैसा टिकट किनेको आधिकारिता पुष्टि हुने कुनै प्रमाण र जवाफ दिन सकेनन् ।
२०७९ सालको चुनावमा कांग्रेस उम्मेदवार शिव हुमागाईलाई हराउन रास्वपाबाट उम्मेदवार बनेको र अहिले मधु आचार्यलाई जिताउन कांग्रेस प्रवेश गरेको हो ? भन्ने प्रश्नमा उनले कांग्रेसले नै मत नदिएर शिव हुमागाई हारे तर्क दिए ।
तपाईलाई कारबाही गर्न रास्वपाको पनौती नगर समितिले पार्टी केन्द्रीय कार्यालयमा निवेदन दिएपछि पार्टी छोडेको हो ? भन्ने प्रश्नमा उनले प्रसंग नै नमिल्ने गरी भदौ २४ गते नगरसभापति विवेक भट्टाईले शिव हुमागाईको घर जलागएको कुरा उठाएर आफुलाई कारबाही गर्ने कुरा कतैबाट थाहा नपाएको बताए ।
पत्रकार सम्मेलनस्थलमा पुगेका कांग्रेसका धेरै नेता कार्यकर्ता उनको आगमनले खासै उत्साहित देखिदैँन थिए । चुनावको बीचमा पार्टी छोड्नेको कुनै भर नहुने उनीहरुको तर्क थियो । कांग्रेसमा अवसर नपाए फेरी दिनेश हुमागाईले अर्को चुनावमा पार्टी छोड्ने भन्दै उनको आगमनले खास मत नबढ्ने कांग्रेस नेता कार्यकर्ताको बुझाई छ ।








