राजनीति
चौंरीदेउराली गाउँपालिकाको दुई स्थानमा सक्रिय क्षयरोग खोज पड्ताल शिविर
काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकाको दुई स्थानमा सक्रिय क्षयरोग खोज पड्तालका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
गाउँपालिका र जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त आयोजना तथा जन्त्र नेपालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो । शिविर चैत ८ गते कात्तिके देउराली र डिसिडब्लुसी सामुदायिक अस्पताल रजबासमा चैत ९ गते भएको थियो ।
कात्तिके देउरालीमा २९१ जनाको जाँच गरिएको थियो । डिसिडब्लुसीमा १३८ जनाको जाँच गरिएका मध्ये ३ जना पुरुषमा फोक्सोको क्षयरोग पत्ता लागेको छ ।
शिविरमा आधुनिक प्रविधिको मेसिनबाट छातीको एक्सरे गरिएको थियो । त्यस्तै खकार जाँच तथा परीक्षण गर्नुका साथै विशेषज्ञ चिकित्सकहरुले परामर्श सेवा प्रदान गरेका थिए ।
दुबै ठाउँमा सञ्चालन भएका शिविर अवलोकनका लागि पालिका अध्यक्ष रेणुका चौंलागाई पुग्नुभएको थियो । पालिका अध्यक्ष चौंलागाईले यस्ता शिविर मार्फत ग्रामीण भेगमै नागरिकको छाति र फोक्सो जाँच गराउन सहयोग पुगेको बताउनुभयो । उहाँले नागरिकको स्वास्थ्यलाई पालिकाले विशेष प्राथमिकता दिँदै विभिन्न प्रकारका शिविरहरु गाउँ–गाउँमा सञ्चालन गर्दै आइरहेको भन्दै सेवा लिन आग्रह गनुृभयो ।








