राजनीति

बाढीबाट क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण पुरा

milijulikhabar

काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा ल्याइएको खानेपानी आयोजना पुनःनिर्माण पुरा भएको छ । 

२०८१ साल असोज १०, ११ र १२ को अविरल वर्षसँगै आएको बाढीले पनौती नगरपालिका वडा नम्बर १२ स्थित मुहान क्षेत्रमा ठूलो क्षति गरेको थियो ।

धुलिखेल खानेपानी आयोजनाको ६० प्रतिशत र जर्मन सहयोग नियाग (जिआईजेड) को ४० प्रतिशत आर्थिक सहयोगमा पुनःनिर्माण सम्पन्न भएको हो । आयोजनाको आज नेपाल स्थित जर्मन राजदूत उडो एउगेन फोल्ज, धुलिखेल नगरपालिकाका कार्यबाहक नगरप्रमुख निराजन जंगम र उपभोक्ता समितिका अध्यक्ष कृष्णभूषण खोजुले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । 

उपभोक्ता समितिका अध्यक्ष खोजुका अनुसार ३ करोड ५१ लाख लागतमा आयोजना पुनःनिर्माण सम्पन्न भएको हो । बाढीले मुहान क्षेत्र खारखोलामा १५० मिटर मुख्य पाइप लाईन बगाएको थियो । त्यस्तै इन्टेक र ट्यांकीमा क्षति गरेको थियो । त्यो बेला धुलिखेलमा ८८ दिन खानेपानी अवरुद्ध भएको थियो । 

पनौतीको पानी धुलिखेल ल्याउन जर्मन सरकारले नै आर्थिक सहयोग गरेको थियो । सन् १९९२ मा स्थापना भएको यो खानेपानी आयोजना मार्फत धुलिखेल नगरपालिकाको वडा नम्बर ३, ४, ५, ६, ७ र ८ का ३ हजार ६ सय घरधुरीले शुद्ध खानेपानी पाइरहेका छन ।  

 

 

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर