समाचार
स्वआर्जित छात्रवृति रकमबाट “शुलभ” स्टेशनरी सञ्चालन
इको हिमाल नेपालले मण्डनदेउपुर नगरपालिकाको सहकार्यमा र किन्डरमिसन्सरेक जर्मनीको आर्थिक सहयोगमा सञ्चालन हुँदै आईरहेको ग्रामिण सहयोग शिक्षा परियोजना अन्र्तगत स्वआर्जित छात्रवृत्ति कार्यक्रम श्री कालिका आधारभुत विद्यालयमा विगत वर्षहरु जस्तै यस वर्ष पनि बालबालिकाहरुलाई वितरण गरिएको छ ।
त्यस मध्ये ७ लाभान्वित बालबालिकाहरुको स्व निर्णय अनुरुप आफ्नो पढाईको खर्चलाई सहयोग गर्न साथै स्वआर्जन गर्न सिक्ने उद्देश्यले “सुलभ स्टेशनरी” स्थापना गरिएको छ । यसबाट अध्यापन गराउने शिक्षक शिक्षिकाहरु र बालबालिकाले विद्यालयमा नै सहज र सुलभ मुल्यमा आफुलाई आवश्यक सामान प्राप्त गर्न सक्ने, विद्यालयमा आउँदा कपी कलम नलिइकन आउने बालबालिकालाई पढाइमा समेत मद्दत पुग्ने कुरा विद्यालयका प्रधानाध्यापक अम्बिका पण्डीतले बताउनु भयो ।
यस कार्यक्रमले बालबालीकाहरुमा भविश्यमा कसरी व्यवसाय गर्ने र आम्दनी खर्च कसरी राख्नु पर्दछ भन्ने बारेमा बालबालिकालाई व्यवहारिक बनाउनको लागि ७ जना संयुक्त लगानीमा यो व्यवस्थापनको प्रारम्भ गरिएको हो । सुरुमा विद्यालयका शिक्षकहरुको अभिभावकत्वमा यसको व्यवस्थापन गरिनेछ र पछि बालबालिका आफैले यो कार्य सञ्चालन गर्ने कुरा स्वआर्जित छात्रवृतिका संरक्षक शिक्षक दिनेश अधिकारीले बताउनु भयो ।
यसबाट बालबालिकालाई व्यवहारिक शिक्षा दिनुका साथै उनीहरुको पढाईको लागि सानो सानो खर्च समेत गर्न नसकेर बिचैमा विद्यालय छाड्नु नपरोस भन्ने उद्धेश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको कुरा इको हिमाल नेपालका परियोजना व्यवस्थापक अनिषा खरेलले बताउदै एक विषेश समारोहका साथ स्टेशनरीको औपचारिक कार्यक्रम मार्फत समुद्घाटन गर्नु भयो ।





