समाचार

धुलिखेल खानेपानीः रास्वपा, कांग्रेस र एमालेको चौतर्फि घेराबन्दीकाबीच भूषणको सानदार जित, रास्वपा शुन्य

milijulikhabar

धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, कांग्रेस र एमालेको चौतर्फि घेराबन्दीका बीच अध्यक्ष पदमा पुनः कृष्ण भूषण खोजु श्रेष्ठ निर्वाचित हुनुभएको छ । 

शनिबार (भदौ ६) गते सम्पन्न निर्वाचनमा ९०१ मत प्राप्त गर्दै अध्यक्षमा श्रेष्ठ विजयी हुनुभएको हो । श्रेष्ठको निकतम प्रतिस्पर्धी राज कुमार श्रेष्ठ तखाछेले ८०६ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा कृष्ण भूषण, राजकुमार, श्याम दर्शन गणेजु र केशब बहादुर खुलाल (के.सी) प्रतिस्पर्धामा उत्रिएका थिए । 

केसीले २६५ र गणेजुले १८२ मत प्राप्त गरे ।  एमाले पार्टीको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका राजकुमारलाई नेपाली कांग्रेस धुलिखेलका नेताहरुले समर्थन गरेका थिए । तर गणेजुले कांग्रेसको आधिकारिक उम्मेदवार बताएको थिए । किन भने अघिल्लो पटकको कार्यसमितिमा उनी कांग्रेसकै प्रतिनिधित्व गर्दै सचिवमा बनेका थिए । गणेजुको पक्षमा मत माग्न एक शब्द खर्च नगरेका र एक ठाउँमा समेत नहिँडेका कांग्रेसका नेताहरु राजकुमारको ब्यानर नै बोकेर भोट माग्दै हिँडेका थिए । यसमा ब्यवसायी समेत रहेका कांग्रेसको नियमित महाधिवेशन पक्षधर मञ्जु कुमार कोजुले नेतृत्व सम्हाल्नुभएको थियो । अप्रत्यक्ष ढंगबाट कांग्रेसको दुबै पक्षले राजकुमारलाई सहयोग गरेको थियो ।  

आफ्नै पार्टी र समर्थकहरुले गतिलो साथ नदिएपछि यसअघिको कार्य समितिमा सचिब रहेका गणेजुले मतदानको दिन राजकुमारलाई नै अप्रत्यक्ष ढंगले समर्थन गरेका थिए । गणेजुले वडा नम्बर ३ बाट ८ मत, वडा नम्बर ४ बाट २६ मत, वडा नम्बर ५ बाट ७, वडा नम्बर ६ बाट २५, वडा नम्बर ७ बाट ७८ मत र वडा नम्बर ८ बाट ३८ मत प्राप्त गरेका थिए । 

केसी रास्वपाको प्रतिनिधित्व गर्दै अध्यक्ष पदमा प्रतिस्पर्धामा होमिएका थिए । तर केसीलाई जसले अध्यक्ष उठ्न हौसाए, पछि उनीहरु नै साइट लागेको बताइन्छ । कतिसम्म भने आफ्नै वडा नम्बर ४ मा तेस्रो अर्थात ११५ मतमा चित्त बुझाउन केसी बाध्य भए । उनले वडा नम्बर ३ बाट १६ मत, वडा नम्बर ४ बाट ११५, वडा नम्बर ५ बाट ७६ मत, वडा नम्बर ६ बाट ८, वडा नम्बर ७ बाट ९ मत र वडा नम्बर ८ बाट ४१ मत प्राप्त गरेका थिए । 

केसीलाई अध्यक्षमा अघि सारेका रास्वपा धुलिखेल नगरसमितिका उपसभापति एवं खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पूर्व अध्यक्ष रामेश्वर श्रेष्ठले नै मतमाग्ने क्रममा असहयोग गरेको विवरणहरु सार्वजनिक भएको छ । खानेपानीको निर्वाचनको परिणाम आफ्नो पार्टीको पक्षमा पार्न धुलिखेलमा अड्डा जमाएर बसेका श्रेष्ठले अन्तिम समयमा आएर एमालेका उम्मेदवार राजकुमारलाई नै सहयोग गरेको पाइएको छ । रास्वपाले यो खानेपानीको निर्वाचनलाई आगामी स्थानीय तहको निर्वाचन लक्षित गरेर पदाधिकारीमा उठाएको थियो । रास्वपाले अध्यक्षमा खुलाल, सचिवमा जीबनाथ पराजुली र कोषाध्यक्षमा प्रभात श्रेष्ठलाई अघि सारेर निर्वाचनमा होमिएको थियो । तीन वटै पदमा रास्वपाले हार ब्यहारेको छ । रास्वपाले वडामा उठाएको उम्मेदवारहरुको समेत लजास्पद हार भएको छ ।

आफुहरुले समर्थन गरेको उम्मेदवार केसीको पक्षमा महोल राम्रो नबनेपछि भूषणलाई जसैगरी पनि हराई छाड्ने बाचाका साथ रास्वपा नगर उपसभापति श्रेष्ठ एमाले उम्मेदवार राजकुमारको पक्षमा उभिएको आरोप लागेको छ । राज कुमारले वडा नम्बर ३ बाट ७८ मत, वडा नम्बर ४ बाट २०६, वडा नम्बर ५ बाट ९६ मत, वडा नम्बर ६ बाट १६९ मत, वडा नम्बर ७ बाट २३३ र वडा नम्बर ८ बाट २४ मत प्राप्त गरेका थिए । राजकुमारलाई जिताउन नेकपाका कतिपय नेताहरु समेत खुलामखुल्ला मत माग्दै हिँडेका थिए । 

धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा अध्यक्षमा निर्वाचित कृषण भूषण खोजु श्रेष्ठको यो चौथो कार्यकाल हो । उनले वडा नम्बर ३ बाट १०१ मत, वडा नम्बर ४ बाट ३४६ मत, वडा नम्बर ५ बाट ७२ मत, वडा नम्बर ६ बाट १७६ मत, वडा नम्बर ७ बाट १४९ र वडा नम्बर ८ बाट ५७ मत प्राप्त गर्नुभएको थियो । कृष्ण भूषण नेकपा निकट मानिन्छन् । तर मत माग्न भने नेकपाका कुनै पनि नेताहरु उनको साथमा हिँडेका थिएनन् । 

करिब ३५ सय धारा रहेको यो खानेपानी समितिलाई स्थानीय तहको निर्वाचनसँग समेत जोडेर हेरिन्छ । संसदीय निर्वाचनकै झल्को दिने गरी चुनाव हुँदै आइरहेको छ । सचिवमा एमाले निकट बिन्द्र लाल श्रेष्ठ १०७४ मत ल्याएर विजयी भए । त्यस्तै कोषाध्यक्षमा कांग्रेस निकट हरि कृष्ण तिमल्सिना १२९१ मत ल्याएर विजयी भएका छन् । 

 

 

 

 

 

 

 

 

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर