खेलकुद
२२ औं विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी
नेपाली खेलाडीले टर्कीमा हुने आइकेएफ २२ औं विश्व केम्पो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । सोमबारदेखि सुरु भएको च्याम्पियनसिप टर्कीको अन्टालियामा आगामी अप्रिल २६ तारिखसम्म सञ्चालन हुनेछ ।
नेपाल केम्पो खुकुरी फेडेरेसनको टोली सोमबार च्याम्पियनसिपमा सहभागिता जनाउन टर्की प्रस्थान गरेको हो । च्याम्पियनसिपमा नेपालको तर्फबाट ६ पुरुष र चार महिला खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
फेडेरेसनका अध्यक्ष पाभेल शाहको नेतृत्वमा नेपाली टोली अन्टालिया प्रस्थान गरेको हो । महिलातर्फ सेमी केम्पो ५० केजी तौलसमूहमा अञ्जना शाही, सेमी केम्पो २२ केजीमा प्रिशा राज्यलक्ष्मी शाह, सेमी केम्पो २५ केजीमा इरा गौतम र मोनालिशा धामीले सेमी केम्पो ६० केजीमा प्रतिस्पर्धा गर्नेछन् । अञ्जनाले काता र सेल्फ डिफेन्स तथा इराले कातामा पनि चुनौती प्रस्तुत गर्ने फेडेरेसनका अध्यक्ष पाभेल शाहले जानकारी दिनुभयो ।
पुरुष सेमी केम्पोतर्रफ सुरेश पराजुलीले ६५ केजी तौलसमूहमा, सुलभ श्रेष्ठले ३० केजीमा र कृदिक्स विक्रम कुँवरले २५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । दिलमान लामाले २५ केजी फुल केम्पो, काता र सेल्फ डिफेन्स विधामा खेल्नेछन् । यमन पाण्डेले ५० केजी तौलसमूहमा फुल केम्पो, सेमी केम्पो, सबमिसन, सेल्फ डिफेन्स र कातामा गरी पाँच विधामा चुनौती प्रस्तुत गर्ने प्रशिक्षकसमेत रहेकी अञ्जना शाहीले जानकारी दिनुभयो ।
शिवहरी राईले ५५ केजी तौलसमूहमा सेमी केम्पो र फुल कम्पोमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनले काता र सबमिसनमा पनि चुनौती प्रस्तुत गर्नेछन् प्रस्थान बकार्यक्रममा अध्यक्ष पाभेल शाहले खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै पदक जितेर देशलाई गौरवान्वित बनाउने विश्वास ब्यक्त गर्नुभयो ।








