खेलकुद
धार्नेमा खुल्ला वडा स्तरीय भविबल प्रतियोगिता, उपाधि खानीखोला–६ लाई
काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका वडा नम्बर १ धार्नेमा खुल्ला वडा स्तरीय भविबल प्रतियोगिता सम्पन्न भएको छ । पुस १४ गतेबाट सुरु भएको प्रतियोगिता हिजो सम्पन्न भएको हो ।
प्रतियोगिताको उपाधि खानीखोला गाउँपालिका वडा नम्बर ६ ले हासिल गरेको छ । ललितपुरको गिम्देली युवा क्लबलाई हराउँदै वडा नम्बर ६ ले उपाधि चुमेको हो । उसले ७१ हजार १११ रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ ।
दोस्रो भएको गिम्देली युवा क्लबले ४१ हजार १११ रुपैयाँ, तेस्रो भएको खानीखोला गाउँपालिका वडा नम्बर ७ ले २१ हजार १११ रुपैयाँ र सान्त्वना भएको खानीखोला गाउँपालिकाकै वडा नम्बर ५ ले ११ हजार १११ नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गरेका छन् ।
प्रतियोगितामा खानीखोला गाउँपालिकासहित महाभारत, चौंरीदेउराली गाउँपालिका, ललितपुर र रामेछाप जिल्लाका गरी १८ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा खानीखोला वडा नम्बर ५ का पासाङ वाईबा बेष्ट स्पाईकर, गिम्देली युवा क्लबका निशान रानामगर बेष्ट सेटर, गिम्देली युवा क्लबकै कुशल बोलन बेष्ट ब्लकर, खानीखोला ६ का कुमार थोकर बेष्ट डिफेन्स, वडा नम्बर ६ कै मनोज आलेमगर बेष्ट सर्भर घोषित भएका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि गिम्देली युवा क्लबका अनिष घिमिरेले प्राप्त गरेका थिए ।
धार्ने जात्राको अवसरमा स्थानीय ह्रेम्बोर्छे युवा क्लबले भलिबल प्रतियोगिताको आयोजना गरेको हो । विजेता खेलाडीहरुलाई नगर पुरस्कार, मेडल र प्रमाणपत्र पालिका अध्यक्ष इन्द्र बहादुर थिङ छिन्ताङले प्रदान गर्नुभएको थियो ।
क्लबका अध्यक्ष अभि थिङको अध्यक्षता र पालिका अध्यक्ष छिन्ताङको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रम मार्फत विजेता खेलाडीहरुलाई नगर पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा पालिका अध्यक्ष छिन्ताङ, उपाध्यक्ष दोर्जेमान जिम्बा, नेपाली कम्युनिष्ट पार्टीका नेता दैब लाल घिसिङ (अनुशिल), वडाअध्यक्षहरु सन्तमान थिङ, बुद्धि बहादुर स्याङतान, निसान मोक्तान, युवा ब्यवसायी विरेन बोलन, रामकाजी बोलनले लगायत शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रम संयोजक दिपक गोलेका अनुसार गत वर्षको तुलनामा यो पटक प्रतियोगिता मार्फत धेरै भन्दा धेरै युवा खेलाडीहरुलाई सहभागि गराउन सफलता मिलेको छ । यो प्रतियोगिता अघिल्लो वर्षदेखिको निरन्तरता हो । समापन कार्यक्रममा गायिका निर्मला घिसिङ, लक्ष्मी स्याङतान लगायतले गीत मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।








