कृषि
कृषि र पशुपालन सम्बन्धि काभ्रेका तीन कार्यालयको योजना तर्जुमा गोष्ठी
काभ्रेपलाञ्चोक जिल्लामा रहेका कृषि र पशुपालन सम्बन्धि तीन वटा कार्यालयको योजना दर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
आज धुलिखेलमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतमको अध्यक्षतामा कृषि विकास कार्यालय, पशु सेवा कार्यालय र बागवानी विकास केन्द्रको योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो ।
तीन वटा कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक अवधिसम्मको प्रगती समिक्षा तथा आगामी आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुमा गोष्ठी आयोजना गरेका हुन् । कार्यक्रममा कृषि विकास कार्यालयका प्रमुख कुल प्रसाद दवाडी, पशु सेवा कार्यालयका प्रमुख डा.सुजा वाग्ले र बागवानी विकास केन्द्र पाँचखालका प्रमुख विष्णु बोगटीले चालु आर्थिक वर्षको प्रगती विवरण र आगामी आर्थिक वर्षको योजना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका नगरप्रमुख, उपप्रमुख, पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, विभिन्न कृषि समूह, पशुपालन समूह तथा फार्म, उद्योग वाणिज्य संघ, जिल्ला स्थित कृषि तथा पशुपालना पेशासंग सम्बन्धित सरोकारवाला निकायहरुको सहभागिता थियो ।
सार्वजनिक विवरण अनुसार तीन वटै कार्यालयले चालु आर्थिक वर्षको हालसम्म सन्तोषजनक प्रगति गरेका छन् । कार्यक्रममा सहभागि स्थानीय सरकारका प्रमुख एवं प्रतिनिधिहरुले कार्यक्रम नदोहोरिने गरी सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरुले खासगरी कृषि र पशु सेवा कार्यालय मार्फत स्थानीय तहमा सञ्चालन हुने कार्यक्रमहरुको अनुगमन गराउँदा आफुहरुको उपस्थिति अनिवार्य गराउन आग्रह गरेका छन् ।
जिल्लाको १३ वटै पालिकाको भुगोल र उत्पादन हुने क्षेत्र फरक–फरक रहेको भन्दै त्यही अनुसार कार्यक्रम र बजेट बनाउन उनीहरुले आग्रह गरेका छन् । अनुदानको कार्यक्रमलाई थप विश्वासनिय र लक्षित वर्गसम्म पुग्ने गरी सञ्चालन गर्ने अवस्था बनाउनसमेत सरोकारवालाहरुको जोड थियो ।








