कृषि
मण्डनदेउपुर–८ पशुपालक किसानलाई मेसिनरी औजार वितरण
मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ८ का पशुपालक किसानहरुलाई मेसिनरी औजार वितरण गरिएको छ ।
प्रदेश सरकारको १० लाख पशुपालन प्रवद्र्धन कार्यक्रम अन्तर्गत ससर्त अनुदानबाट मेसिनरी औजार विवरण गरिएको हो ।
आज नगरप्रमुख टोक बहादुर वाईबाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी ५० जना किसानलाई कम्बाईन मिल (धान र मकै कुटानी–पिसानी) र १५ जना च्याप कटर वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख वाईबाले किसानकै करबाट औजार खरिद गरिएको भन्दै सुरक्षितसंग प्रयोग गर्न आग्रह गर्नुभयो । ‘यो तपाईहरुकै करबाट खरिद गरिएको सामग्री हो । यसलाई जतन गरेर चलाउनु होला । प्रविधिले समयको पनि बचत गराउँछ । नयाँ प्रविधि चलाउँदा आफ्नो सुरक्षाको पनि उत्तिकै ख्याल गर्नुहोला ।’ नगरप्रमुख वाईबाले किसानहरुलाई भन्नुभयो ।
उपप्रमुख विष्णुमणी नेपालले नयाँ प्रविधिले पशुपालन विस्तारमा समेत किसानलाई सजिलो हुने बताउनुभयो । ‘प्रविधिले काम गर्न सहज हुन्छ । समयमा धेरै काम गर्न सक्दा पशुको संख्या थप्न समेत किसानलाई मद्दत पुग्छ ।’ उपप्रमुख नेपालले भन्नुभयो ।
वडा अध्यक्ष निराजन विष्टले वडाबाट गरिने सबै कार्यक्रमहरु पादर्शि ढंगले गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा समेत तीनै तहको सरकारसंग समन्वय र सहकार्य गरेर काम गर्ने बताउनुभयो ।
प्रदेश सरकारले नगरपालिकाको ५ वटा वडामा पशु पालन प्रवद्र्धनका लागि कार्यक्रम नै तोकेर बजेट आएको पशु पंक्षी विकास शाखा प्रमुख ध्रुव प्रसाद पराजुलीले जानकारी दिनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य सूर्य बहादुर राई र विकास राई, वडासदस्यहरु गीता विश्वकर्मा र गोविन्द प्रसाद नेपाल, कर्मचारी तथा किसानहरुको उपस्थिति थियो ।








