कृषि

चौंरीदेउराली गाउँपालिकाद्वारा उत्कृष्ट कृषि समूह तथा फर्मका किसान सम्मानित

milijulikhabar

काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिकाले उत्कृष्ट कृषि समूह तथा फर्मका किसानलाई सम्मान तथा पुरस्कृत गरेको छ । किसानसंग अध्यक्ष कार्यक्रम अन्तर्गत पालिकाभित्रका उत्कृष्ट किसानलाई सम्मान तथा पुरस्कृत गरिएको हो । 

पालिकाका कृषि शाखा प्रमुख रोज कुमार शर्माका अनुसार विभिन्न विधाका फरक फरक कृषि समूह तथा फर्मका ७ जना किसानलाई सम्मान तथा पुरस्कृत गरिएको छ । पालिकाले कृषि फर्म तथा समुह दर्ता गरी काम गर्दै आएका किसानहरुबाट आवेदन संकलन गरेर आवेदकहरुमध्ये उत्कृष्टलाई पुरस्कृत गरेको हो । 

किसानहरुलाई नगद १५ हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर गाउँपालिका अध्यक्ष रेणुका चौंलागाई, प्रमुख प्रशासकीय अधिकृत महान दास लामा र वडा अध्यक्षहरुले सम्मान तथा पुरस्कृत गर्नुभएको थियो । 

पुरस्कृत तथा सम्मानित हुनेमा कागती खेती गर्दै आएको सानो पाइला एग्रो टेक, आँप खेती गर्दै आएको रजाबेशी आधुनिक कुषि तथा पशुपंक्षी फर्म, गोलभेडा खेती गर्दै आएको मातृभूमि कृषि फर्म, अकुबरे खुर्सानी खेती गर्दै आएको गतिशिल उद्यम तथा कृषक महिला समूह र मौसम युवा कृषि तथा पशुपन्छी पालन कृषक समूह छन् । 
त्यसैगरी कुखुरा पालन गर्दै आएको चौंरीदेउराली फर्म हाउस प्रा.लि. र बाख्रा पालन गर्दै आएको मजुवा चौलागाई कृषि फर्म पुरस्कृत भएको कृषि शाखा प्रमुख शर्माले मिलिजुली खबरलाई जानकारी दिनुभयो । 

किसान सम्मान कार्यक्रममा बोल्दै पालिका अध्यक्ष चौलागाईले मेहनत र उदाहरणीय कार्य गर्ने किसानहरुको सम्मानले थप प्रोत्साहन दिने बताउनुभयो । साथै उहाँले उत्कृष्ट किसानको अनुभव र सफलताको कथा अन्य किसानसँग बाड्दा कृषि क्षेत्रमा नवप्रवर्तन र सुधार ल्याउन मद्दत पुग्ने बताउनुभयो । 

 

 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर