अर्थ
प्रकाश बञ्जाराः जसले सहकारी संघको निर्वाचनमा एमालेको साख जोगाए
जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकको यसअघिको निर्वाचनमा राजनीतिक दलहरुले सबै जसो पद भागबण्डा गरेर मिलाए ।
अध्यक्ष एमालेले लिएको थियो । अन्य पद भागबण्डा गरियो । यो पटकको निर्वाचनमा भने एमालेसँग अन्य दल मिल्नै सकेनन् । अर्थात एमालेले अध्यक्ष पद अन्य दललाई दिएर सहमतिको वातारवण बनाउन चाहेन । अध्यक्ष आफैले पाउनु पर्ने अडान छोडेन् । अन्तिममा एक्लै भिड्यो ।
अध्यक्षमा दिलिप शर्माले दोहोर्याउन चाहेका थिए । आम सहकारीकर्मीबीच शर्माको लोकप्रियता पनि राम्रो थियो । तर पार्टीको वर्तमान नेतृत्वले शर्मालाई स्वीकारेन । एमालेले अध्यक्षमा राजन शाक्यलाई अघि सार्यो । गठबन्धनले पनि बनेपाकै अमन पोटे श्रेष्ठलाई अध्यक्षमा अघि सारेपछि बनेपाको मत काट्नका लागि एमालेले शाक्यलाई अघि सारेको थियो । सचिबमा प्रकाश बञ्जारा ।
एमालेले यो पटक जम्मा एक जना पदाधिकारी र १ जना सञ्चालक समिति सदस्यमा मात्रै चित्त बुझायो । सचिबमा भारी मतका साथ विजयी भएर प्रकाश बञ्जाराले एमालेको साख जोगाए । बञ्जारा १८६ मत प्राप्त गरेर विजयी हुनुभयो । यो मत गठबन्धनका अध्यक्ष पदका उम्मेदवार अमन पोटे श्रेष्ठले ल्याएको १९० मतपछि सर्वाधिक बढी मत हो ।
बञ्जारा पनौतीमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष हुन् । यो सहकारीले पछिल्लो समय सहकारीसंस्थाहरुको नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित भएको सामुदायिक साकोसको नेतृत्व गरेका बञ्जारालाई जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकलाई थप मजबुद बनाउने जिम्मेवारी आएको छ ।
यसअघि एमालेबाट निर्वाचित अध्यक्ष शर्माको पालामा जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले प्राप्त गरेका उपलब्धीहरुलाई संस्थागत गर्ने र थप उपलब्धी प्राप्तिका लागि समेत बञ्जाराको भूमिका महत्वपूर्ण रहनेछ ।
हजारौँ शेयर सदस्य माझ गुणस्तरीय र विश्वासनिय सेवा दिँदै आइरहेको सामुदायिक साकोसको नेतृत्व गरेका बञ्जारालाई गठबन्धनबाट समेत धेरै मत गयो । निर्वाचन स्थलमा गठबन्धनका मतदाताहरुले खुल्लाम खुल्ला बञ्जाराको पक्षमा भोट मागिररहेका थिए । माहोल बनाइरहेका थिए । आफ्ना मात्रै उम्मेदवारलाई भोट हाल्न गठबन्धनको उर्दीकाबीच बञ्जाराले बाजी मारे । सचिवमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका यदुनाथ हुमेगाई उम्मेदवार थिए । हुमेगाईमाथि भने गठबन्धनबाटै धाको भयो ।








