अर्थ
जिल्ला सहकारी संघ काभ्रेको निर्वाचन, एमाले विरुद्ध कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन
जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को गठबन्धन बनेको छ ।
हिजो यी तीनको बैठकले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेका हुन् । तीन दलका नेताहरुको उपस्थितिमा बसेको बैठकले पदाधिकारी सहित सदस्यसम्मको भागबण्डा गरेको छ ।
सहमति अनुसार नेपाली कांग्रेसले ३ जना पदाधिकारीसहित ९ सदस्य, माओवादी केन्द्रले २ जना पदाधिकारीसहित ७ जना र नेकपा (एकीकृत समाजवादी) ले १ जना पदाधिकारीसहित २ जना सदस्य पाउनेछ ।
संघको अध्यक्ष नेपाली कांग्रेसले लिनेछ । उपाध्यक्ष खुल्ला तर्फ माओवादी केन्द्र र महिला उपाध्यक्ष नेपाली कांग्रेसले पाउनेछ । सचिव माओवादी केन्द्रको भागमा परेको छ भने कोषाध्यक्ष नेपाली कांग्रेसको भागमा परेको छ ।
लेखा सुपरीवेक्षण संयोजक नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ । नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सचिव माधव ढकालको अध्यक्षता तथा माओवादी केन्द्रका जिल्ला संयोजक भोला प्रसाद अर्याल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष बसुन्धरा हुमागाई उपस्थितिमा बसेको बैठकले सहमति गरिएको हो । संघको नयाँ नेतृत्वका लागि भोली मतदान हुनेछ ।








