समाचार
अखिल नेपाल यातायात मजदुर संघ अरनिको विशेष जिल्ला समितिद्वारा नेपाल अरनिको यातायात सेवा प्रा.लि.लाई मागपत्र पेश
अखिल नेपाल यातायात मजदुर संघ, अरनिको विशेष जिल्ला समितिले नेपाल अरनिको यातायात सेवा प्रा.लि., लोकन्थली, भक्तपुरलाई श्रमिक, स्वरोजगार व्यवसायी तथा यात्रु उपभोक्ताको हक, हित र अधिकार सुनिश्चित गर्न माग गर्दै आठबुँदे मागपत्र पेश गरेको छ।
मजदुर संगठनका अध्यक्ष केदार चौलागाईंले कम्पनीका अध्यक्ष बिकास श्रेष्ठलाई बुझाएको मागपत्रमा सार्वजनिक यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित, प्रविधिमैत्री, श्रममैत्री, व्यवसायीमैत्री तथा यात्रुमैत्री बनाउँदै श्रमिक अधिकारको पूर्ण कार्यान्वयन गर्न आग्रह गरिएको छ।
मागपत्रमा नेपालको संविधान, श्रम ऐन, २०७४ तथा सामाजिक सुरक्षा ऐन, २०७५ बमोजिम कम्पनीमा कार्यरत सम्पूर्ण श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आबद्ध गरिनुपर्ने, श्रमिकका छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्था प्रभावकारी रूपमा लागू गरिनुपर्ने तथा बसपार्क परिसरभित्र श्रमिक सम्पर्क तथा सेवा कार्यालय स्थापना गर्नुपर्ने माग गरिएको छ।
त्यसैगरी चालक, सहचालक तथा अन्य श्रमिकका लागि नियमित क्षमता अभिवृद्धि तालिम, स्वास्थ्य परीक्षण, कानुनी सचेतना, प्राथमिक उपचार तथा यात्रुमैत्री व्यवहारसम्बन्धी कार्यक्रम सञ्चालन गर्न, दुर्घटना वा आकस्मिक अवस्थाका लागि श्रमिक कल्याण कोष स्थापना गर्न, कम्पनी–व्यवसायी–श्रमिक संगठनबीच संयुक्त समन्वय समिति गठन गरी नियमित संवाद सञ्चालन गर्न तथा सार्वजनिक यातायात सेवालाई सुरक्षित, भरपर्दो र आधुनिक बनाउन पनि माग गरिएको छ।
मागपत्रमा हाल नेपाल सरकारले प्रस्ताव गरेको "सवारी तथा यातायात व्यवस्था गर्न बनेको विधेयक, २०८३" मा दण्ड, सजाय र जरिवानालाई अत्यधिक प्राथमिकता दिइएकाले यसले सार्वजनिक यातायात क्षेत्रमा कार्यरत श्रमिक, व्यवसायी तथा यात्रु उपभोक्तामा नकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गरिएको छ। त्यसैले उक्त विधेयक, सुरक्षित प्रविधिसम्बन्धी व्यवस्था तथा नयाँ कानुनी प्रावधानका विषयमा कम्पनी, व्यवसायी, श्रमिक संगठन र सरोकारवालाबीच बृहत् छलफल तथा अन्तरक्रिया गरी साझा धारणा निर्माण गर्न पनि माग गरिएको छ।
अखिल नेपाल यातायात मजदुर संघले कम्पनीको व्यवस्थित विकास, श्रमिक अधिकारको संरक्षण, व्यवसायीको लगानीको सुरक्षा तथा यात्रुलाई सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउने अभियानमा आफू सदैव रचनात्मक रूपमा सहकार्य गर्दै आएको उल्लेख गर्दै मागपत्रलाई गम्भीरतापूर्वक अध्ययन गरी यथाशीघ्र कार्यान्वयन प्रक्रिया अघि बढाइने विश्वास व्यक्त गरेको छ।
उक्त मागपत्रको बोधार्थ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, यातायात व्यवस्था विभाग, बागमती प्रदेश सरकार, सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरू, अखिल नेपाल यातायात मजदुर संघ केन्द्रीय समिति तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई समेत पठाइएको छ।





