समाचार
मण्डनदेउपुर नगरपालिकाका २ हजार ६३८ घरधुरीलाई इन्डक्सन चुल्हो
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले इन्डक्सन चुल्हो वितरण सुरु गरेको छ ।
नगरपालिका क्षेत्रभित्रका १२ वटै वडाबाट संकलित फर्मको आधारमा नगरपालिकाले इन्डक्सन वितरण सुरु गरेको हो । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर नगरपालिकाले इन्डक्सन चुल्हो वितरण थलेको छ ।
नगरपालिकाले २ हजार ६३८ घरपरिवारलाई इन्डक्सन चुल्हो वितरण गर्नेछ । नगर प्रमुख टोकबहादुर वाइवाले समयानुकुल इन्डक्सन चुल्होको प्रयोग गरेर ग्यासको आयात कम गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले विद्यूतीय चुल्होको प्रयोगले वातावरण संरक्षण र स्वस्थ जीवनयानमा समेत सहयोग पुग्ने बताउनुभयो ।
उपप्रमुख विष्णुमणी नेपालले २०८० सालदेखि थालिएको अभियानले सार्थकता पाएको बताउनुभयो । साथै उहाँले चुल्होको राम्रोसँग प्रयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष एवं प्रवक्ता पुरुषोत्तम बजगाई, नीति तथा योजना आयोगका उपाध्यक्ष गोकुल गौतम, आयोगका सदस्य कश्यप पौडेलले विद्यूतीय चुल्होको प्रयोग तथा महत्वका बारे धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नगरपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत उमेश अधिकारीले इन्डक्सन चुल्हो सञ्चालन सम्बन्धी प्राविधिक पक्षको जानकारी गराउनुभएको थियो ।
अनुदानमा इन्डक्सन चुल्हो पाउँदा स्थानीय खुशी देखिन्थे । आज वितरण भै नसकेका चुल्हो सम्बन्धीत वडा कार्यालय मार्फत वितरणको ब्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ ।





