समाचार
रोशी गाउँपालिकाको गाउँसभाको १९ औं अधिवेशनः नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित
काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको गाउँसभाको १९ औँ अधिवेशन, नीति तथा कार्यक्रम र बजेटसहित विभिन्न प्रस्तावहरु सर्वसम्मत पारित गर्दै सम्पन्न भएको छ ।
गाउँसभाको १९ औँ अधिवेशन अन्तर्गत आज (२०८३ असार ३० गते) बसेको दोस्रो बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम, बजेट तथा व्ययको अनुमान (बजेट) पारित सर्वसम्मत पारित गरेको हो । असार १० गते बसेको गाउँसभाको १९ औँ अधिवेशनको पहिलो बैठकमा पालिका अध्यक्ष दिनेश लामाले नीति तथा कार्यक्रम र उपाध्यक्ष मिम बहादुर वाईबा (ज्वाला) ले बजेट टेबल गर्नुभएको थियो ।
बैठकमा पालिका बार्षिक प्रगती प्रतिवेदन प्रवक्त बसन्त कुमार तामाङले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै लेखा समिति संयोजक एवं वडा नम्बर ३ का वडा अध्यक्ष धनजीत लामाले अनियमित बेरुजुलाई नियमित गर्ने सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो ।
बैठकमा सभा अध्यक्ष एवं पालिका अध्यक्ष लामाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बार्षिक नीति तथा कार्यक्रम, २०८३/०८४ को राजश्व र ब्ययको अनुमान, विनियोजन विद्येयक र आर्थिक विद्येयक, बार्षिक प्रगती प्रतिवेदन निर्णयार्थ पेश गर्नुभएको थियो ।
त्यसैगरी रोशी गाउँपालिकाको वन व्यवस्थापन सम्बन्धमा ब्यवस्था गर्न बनेको विद्येयक, २०८३ र लैंगिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार र घरेलु हिंसाका पीडितहरुको संरक्षणका लागि कोष र केन्द्रको स्थापना तथा सञ्चालन सम्बन्धमा ब्यवस्था गर्न बनेको विद्येयक, २०८३, अनियमित बेरुजुलाई नियमित गर्ने सम्बन्धी प्रस्ताव र न्यायिक समितिको वार्षिक प्रगति प्रतिवेदन निर्णयार्थ पेश गरिएको थियो ।
निर्णयार्थ पेश गरिएकाे सबै प्रस्तावहरु सर्वसम्मत पारित भएका हुन् ।





