स्वास्थ्य
मण्डनदेउपुरमा एचआईभी सम्बन्धी लाञ्छना तथा भेदभाव कम गर्न एक दिने अभिमुखिकरण
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकामा एचआईभी सम्बन्धी लाञ्छना तथा भेदभाव कम गराउने बारे एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम नगरपालिकाको समन्वयमा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले आयोजना गरेको हो । अभिमुखिकरण जनप्रतिनिधि, पत्रकार, प्रहरी, एचआईभी संक्रमित तथा मुख्य जोखिम समूहलाई लक्षित गरिएको थियो ।
अभिमुखिकरणमा एचआईभी, एड्स रोकथामका उपाय, उपचारका विधि र स्थानका बारे छलफल भएको थियो । त्यस्तै एचआईभी संक्रमित ब्यक्तिलाई समाजमा हुँदै आएका लाञ्छना र भेदभाव न्यूनिकरणका विषयमा समेत छलफल भएको थियो ।
अभिमुखिकरणलाई समापन गर्दै जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागिश्री कक्षपतिले घर परिवार तथा समाजका सबै पक्ष जागरुक हुँदा एचआईभी रोग लाग्नबाट जोगाउन सकिने बताउनुभयो । साथै उहाँले एचआईभी एड्स लागेका ब्यक्तिलाई यो वा त्यो बहानामा भेदभाव वा लाञ्छना लगाउन नहुने बताउनुभयो ।
अभिमुखिकरण कार्यक्रमको सहजीकरण जनस्वास्थ्य कार्यालयका नर्सिङ अधिकृतद्वय गायत्री पौडेल र सुदिक्षा पौडेलले गर्नुभएको थियो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले एचआईभी संक्रमितहरुलाई समाजमा घुलमिल हुन सबैले सहजीकरण गर्नुपर्ने बताउनुभयो ।








