स्वास्थ्य
मण्डनदेउपुर नगरपालिका बन्यो बागमती प्रदेशकै वातानुकूलित खोप केन्द्र सञ्चालन गर्ने पहिलो पालिका
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले वातानुकूलित खोप केन्द्र सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमका बीच नगरप्रमुख टोक बहादुर वाईबाले खोप केन्द्रको उद्घाटन गर्नुभएको हो । खोप केन्द्र मण्डनदेउपुर आधारभूत अस्पतालमा स्थापना गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका अनुसार यो वातानुकूलित खोप केन्द्र बागमती प्रदेशभित्र रहेका स्थानीय तहहरुले सञ्चालनमा ल्याएको पहिलो हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख वाईबाले नगरबासीको स्वास्थ्य सुरक्षा प्रति नगरपालिका सदैब सजग रहेको बताउनुभयो ।
उपप्रमुख विष्णुमणी नेपालले वडा वडामा रहेका खोप केन्द्रहरुलाई समेत थप ब्यवस्थित गर्दै जाने बताउनुभयो ।
वडा नम्बर ८ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक निरञ्जन विष्टले सबैको सहयोगले वातानुकूलित खोप केन्द्र सञ्चालनमा ल्याउने मद्दत मिलेको बताउनुभयो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका खोप फोकलपर्सन पार्थमणी न्यौपानेले वातानुकूलित खोप केन्द्रको महत्व बताउँदै कोही पनि खोप लगाउने उमेर समूहका बालबालिका नछुट्न थप सहयोग पुग्ने बताउनुभयो ।
नगरपालिकाको अझै दुई ठाउँमा खोप केन्द्र आवश्यक रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले जानकारी दिनुभयो ।








