स्वास्थ्य
चौंरीदेउराली–५ मा विशेषज्ञ सेवासहितको बृहत निःशुल्क स्वास्थ्य शिविर, १४ सयबढीले लिए सेवा
काभ्रेपलाञ्चोकको चाैंरीदेउराली गाउँपालिका वडा नम्बर ५ मा विशेषज्ञ सेवा सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जनस्वास्थ्य कार्यालय काभ्रेको आयोजना र चौंरी देउराली गाउँपालिकाको समन्वयमा शिविर भएको हो । स्वास्थ्य शिविर दुई दिन अर्थात चैत २६ र २७ गते धुसेनी शिवालय प्राथमिक अस्पतालमा भएको थियो ।
शिविरमा मार्फत १४ सय ३८ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन् । जसमा नसर्ने रोग तथा मुख्यमन्त्री कार्यक्रम तर्फ २६६ जनाले सेवा लिएका छन् ।
१८० जनाले विशेषज्ञ मेडिसिन सेवा, हाडजोर्नी–११० जना, नाक, कान, घाँटी ९१ जना, बालरोग ३० जना, १४ वर्षमुनि पोषण लेखाजोखा ३३ जना, दन्त रोग सेवा ७३ जना, स्त्रीरोग तथा प्रजनन रुग्णता ११६ जना, ल्याब परीक्षण ३७ जना, प्रोष्टेट सम्वन्धि जाँच २६ जना, आयुर्वेद सेवा तथा उपचार ११७ र ३५९ जनालाई औषधि वितरण गरिएको थियो ।
शिविरको उद्घाटन गाउँपालिकाका अध्यक्ष रेणुका चौलागाईले गर्नुभएको थियो । उहाँले हरेक वर्ष विविध विषयका विशेषज्ञसहितको शिविर मार्फत उत्कृष्ट सेवा प्रदान गर्ने कार्यक्रमको निरन्तरता रहेको बताउनुभयो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जनस्वास्थ्य कार्यालयले जनस्वास्थ्य अभियान कार्यक्रम अन्तर्गत सधै विकट ठाउँहरुमा शिविर सञ्चालन मार्फत सेवा प्रदान गर्नु पहिलो प्राथमिकता रहेको बताउनु भयो ।
शिविरमा मेथिनकोट अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे, नेपाल युथ फाउण्डेशन पुनस्र्थापन केन्द्र सुनाकोठी ललितपुर, नेपाल परिवार नियोजन संघ काभ्रे र शिर मेमोरियल अस्पताल बनेपाले प्राविधिक सहयोग गरेका थिए ।








