समाचार

नमोबुद्ध नगरपालिकामा बालबालिकाले गरे नगर प्रमुखसँग प्रत्यक्ष सम्बाद 

milijulikhabar

काभ्रेपलाञ्चाेककाे नमोबुद्ध नगरपालिकामा ‘मेयरसँग बालबालिका’ कार्यक्रममा नगरप्रमुख कुनसाङ लामासंग  बालबालिकाले प्रत्यक्ष सम्वाद गरेका छन् । 

बुधबार नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी विभिन्न विद्यालयस्थित बाल क्लवका सदस्य, विद्यार्थीहरुले जिज्ञासा र आफ्ना समस्या नगर प्रमुख समक्ष राखेका हुन् । 

जनक माध्यमिक विद्यालयका किरण दाहालले विद्यालय तहमा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्न अनुरोध गरे । 

बालबालिकाहरुले विद्यालय बस, छात्राबासको व्यवस्थापन गर्न, खेलकुद मैदान, कम्पाउण्ड वाल निर्माण, विद्यालय नर्सको व्यवस्थापन गर्न, कक्षा १२ सम्मका विद्यार्थीलाई पनि दिवा खाजा व्यवस्थापन गर्न अनुरोध गरेका थिए । बालबालिकाहरुले खेलकुद सामाग्री, निशुल्क पोशाक, छात्रवृति, मञ्च लगायतका विद्यालय पूर्वाधार निर्माण गरिदिन अनुरोध गरेका थिए । 

जवाफमा नगर प्रमुख कुनसाङ लामाले शिक्षा र बालबालिकालाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट तयार गरेको भन्दै बालबालिकाका समस्याहरु क्रमशः समाधान गर्दै जाने बताए । नगरको सिमित श्रोतका कारण सबै आवश्यकता एकैपटक पुरा हुन नसक्ने भन्दै उनले बालबालिकाका समस्या, सबाल र आवश्यकता प्रदेश र संघ सरकारसंगको सहकार्यमा पुरा गर्ने बताए । 
प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बालबालिकाले आफ्ना समस्या, गुनासो, जिज्ञासा प्रत्यक्ष रुपमा नगर प्रमुखसँग सोध्न सकुन् र नीति निर्माण र कार्यान्वयन प्रकृयाबारे जानकारी लिन सकुन् भन्ने उद्धेश्यले कार्यक्रम गरिएको बताए । 

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामबहादुर तामाङले नगर शिक्षा योजना निर्माणको चरणमा रहेको भन्दै विद्यार्थी शिक्षक अनुपात मिलान, दरबन्दी मिलान लगायत शिक्षासंग सम्बन्धित समस्या क्रमश ः समाधान हुँदै जाने बताए । 

स्वास्थ्य शाखा प्रमुख पवनकुमार लामाले विद्यालय नर्स कार्यक्रम लागू नभएको विद्यालयमा पनि नजिकैको स्वास्थ्य संस्थाबाट सेवा दिइरहेको जानकारी दिदै बालमैत्री स्थानीय शासनको सूचक पुरा गर्न स्वास्थ्य क्षेत्र लागि रहेको बताए । 
 
नमोबुद्ध नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुुनुवारले  बालबालिकालाई आफ्ना सबालबारे प्रत्यक्ष जिज्ञासा राख्न प्रत्येक बर्ष यस्ता कार्यक्रम गर्ने गरिएको बताइन् । 

सहभागीहरुले बालबालिकाको अधिकार र सूचनाको हक प्राप्तीको लागि पनि यस्ता कार्यक्रम उपयोगी भएको बताएका छन् ।

 

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर