फिचर
समाजसेवी कृष्णदेव थापालाई सम्मान तथा अभिनन्दन
समाजसेवी कृष्णदेव थापालाई सम्मान तथा अभिनन्दन गरिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८, ढोडिनीमा रहेको डेडीथुम्का माध्यामिक विद्यालयले आज एक समारोहको आयोजना गरेर थापालाई सम्मान तथा अभिनन्दन गरेको हो ।
थापाको ब्यक्तिगत आर्थिक सहयोगमा यो विद्यालयमा पहिलो पकट कक्षा ६ देखि १० सम्मका बालबालिकाका लागि दिवा खाजाको ब्यवस्थापन भैरहेको छ । सरकारले हाल कक्षा ५ सम्मका बालबालिकालाई मात्रै दिवा खाजा दिँदै आइरहेको छ ।
थापाकै सहयोगमा यस विद्यालयमा अध्ययन गर्ने बालबालिकाले विद्यालय पोसाक, जुत्ता, शैक्षिक सामग्री प्राप्त गर्दै आइरहेका छन् । त्यसैगरी थापाले झण्डै २ लाख लगानीमा दिवा खाजा खान सजिलो होस् भन्ने उद्देश्यका साथ ट्रष्ट निर्माण गरिदिनुभएको छ ।
बनेपा नगरपालिका वडा नम्बर १२ का थापा जर्मनमा होटल ब्यवसाय गर्दै आइरहनुभएको छ । थापाले शैक्षिक सत्र २०८२ बाट कक्षा ६ देखि १० सम्म दिवा खाजाका लागि आर्थिक सहयोग उपलब्ध गराउन थाल्नुभएको हो ।
सम्मान तथा अभिनन्दनपछि बोल्दै थापाले आगामी दिनमा समेत यस विद्यालयलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । थापाले आमा बुबा नभएका बालबालिकालाई विद्यालय पोसाक, शैक्षिक सामग्री उपलब्ध गराउने बताउनुभयो ।
थापाले बालबालिकालाई सहयोग मात्रै होइन, स्वदेशमै रोजगार सिर्जना गर्ने उद्देश्यले एक जना युवालाई सोही विद्यालयमा रोजगारको ब्यवस्था समेत गर्नुभएको छ । ब्यक्तिगत रुपमा सहयोग गर्दै आउनुभएका थापाले अर्को वर्षदेखि सामुहिक रुपमा सहयोग गर्दै जाने बताउनुभयो । थापाले दिवा खाजाका लागि आर्थिक सहयोग उपलब्ध गराउन थालेदेखि विद्यार्थी विद्यालय बीचैमा छोड्ने दर न्यून भएको छ । यो विद्यालयमा ८० प्रतिशतभन्दा बढी सिमान्तकृत दनुवार समुदाय तथा कम आर्थिक अवस्था भएका बालबालिका पढ्दै आईरहेका छन् ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अनिल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा डा.विनय सापकोटा, समाजसेवी दिपक खड्का, उषा खड्का, समेश सापकोटा, डा. रुपेश दास, डा. शम्भु यादव लगायतको उपस्थिति थियो । कार्यक्रममा बालबालिकाहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
यसैबीच आजै डा. यादव र डा. दासको टोलीले बालबालिकाहरुको नाक, कान, घाँटीको स्क्रिनिङ गर्नुभएको थियो ।








