फिचर
बन्दन भगवतीलाई प्रश्नः प्रभावित क्षेत्रका नागरिकलाई नबुझाउने, अरुलाई भ्रम छरेको दोष लगाउने ?
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ८ होक्से क्षेत्रमा बन्दन भगवती निर्माण सेवा प्रा.लि.ले राख्न लागेको ‘असपाल्ट ब्याचिङ प्लान्ट’ वातावरण मैत्री रहेको दाबी गरेको छ ।
तर प्रश्न यहाँनेर, उसो भएँ प्रभावित क्षेत्रका जनतालाई प्लान्ट वातावरण मैत्री रहेको कुरा किन सुरुमा नबुझाएको ? धमाधम जग्गा सम्याउने, प्यान्टका लागि आवश्यक मेसिनरी सामग्री फिल्डमा झार्ने, वडा र पालिकाबाट समेत कुनै प्रकारको अनुमति नलिई काम पुरा गर्न खोज्ने अनि विरोध सुरु भएपछि पत्रकार सम्मेलन गरेर वातावरण मैत्री छ भन्ने ?
बुधबार प्रा.लिका प्रबन्ध निर्देशक रामजी पन्त (मुकेश) ले धुलिखेलमा पत्रकार सम्मेलन मार्फत प्लान्टका बारे फिहरिस्त बताए । उनले पत्रकारहरु, स्थानीय जनता, नेतादेखि सांसदसम्मले बुझ्दै नबुझि भ्रम फैलाएको आरोप लगाउन भ्याए । यदी पन्तले भनेजस्तै भ्रम नै थियो भने, यो भ्रम फैलाउन पनि पन्तकै ठूलो हात छ । किन भने यति ठूलो प्लान्ट राख्दा स्थानीयले चासो राख्नु शोभाविक हो । स्थानीयको चासो र चिन्तालाई भ्रम भनेर कम्पनी उम्कन पाउँदैन ।
तर पन्तले प्रभावित क्षेत्रका जनतालाई प्लान्टका बारे सुरुमै बुझाउन नसकेको कुरामा क्षमायाना गर्न सकेनन् । बरु आफु पनि पाँचखाल ११ कै स्थानीय बासिन्दा भएको, पाँचखालमा पनि पिचका लागि सहयोग पुग्ने, सूर्य निवायक–साँगा सडक (जो अहिले बन्दन भगवती नै निर्माणका जिम्मा पाएको छ), धुलिखेल–खावा सडक पिच गर्न सजिलो हुने तर्क प्रस्तुत गरेर आफ्नो गल्ती ढाकछोप गर्ने प्रयत्न गरे ।
उनले पत्रकार सम्मेलनमा आफुहरु प्रारम्भिक चरणमै रहेको समेत बताए । पालिकासम्म आफुहरु पुगेको छ । बैशाखदेखि प्रक्रिया थालेको बताए । ‘देशभर निर्माणको काम भैरहेको छ । तर कतै पनि प्लान्ट राख्नु अघि स्वीकृति लिनु परेको छैन् । किन भने सरकारसम्मसंग निर्माणको सम्झौता गर्दा नै स्वीकृति दिइसकेको हुन्छ ।’ पन्तले भने ।
पन्त भनेका कुरा आफैमा विरोधाभाष देखिन्छ । किन भने देशभर स्वीकृति लिन नपर्ने पनि उनी आफै भन्छन् फेरी वडा र नगरपालिकामा स्वीकृतिको प्रक्रियामा गएपनि भन्छन् ? उनले नगरपालिकाको मापदण्ड अनुसार प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) समेत नगरि फिल्डमा काम धमाधम थालेपछि स्थानीय आक्रोसित बनेका हुन् । सडकदेखि सदनसम्म यो प्लान्टका बारे कुरा उठेको हो । आईईईका लागि साउन १८ गते आयोजना गरिएको सार्वजनिक सुनुवाई समेत बिथोलिएको थियो ।
नेपाली कांग्रेसका नेता समेत रहेका पन्त निर्माण ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष हुन् । उनी भित्रभित्रै यो प्लान्ट सञ्चालनमा ल्याउन चाहान्थे । अहिलेसम्म बलमिच्याई नै गरिरहेका छन् । अझै पनि उनी त्यही बाटोमा देखिन्छन् । तर गाउँका मानिसहरुले चासो राखे । खोजी गरे । चौतर्फी विरोध सुरु भयो ।
प्लान्ट प्रभावित क्षेत्रका युवाहरुले वातावरण संरक्षण संघर्ष समिति नै बनाएर विरोधमा उत्रिएका छन् । सागर लामाको संयोजकत्वमा संघर्ष समितिले वडा नम्बर ८ को कार्यालय, नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय लगायतलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
प्रा.लि. ले प्यान्ट सञ्चालनको न्यूनतम मापदण्ड समेत पालना नगरेको भन्दै संघर्ष समितिले प्यान्ट सञ्चालन नगर्न माग समेत गरेको छ । मठमन्दिर, वनजंगल, बस्ती, खानेपानीको मुहान, खेती योग्य जमिनबाट कति टाढा हुनुपर्ने भन्ने मापदण्डका बारे समेत प्रा.लि.ले हेक्का नराखि जबरजस्ती ‘असपाल्ट ब्याचिङ प्लान्ट’ स्थापना गर्न खोजेको संघर्ष समितिले बताएको छ ।








