फिचर
मुकेश पन्तको अस्पाल्ट प्लान्ट विरुद्ध कांग्रेस बाहेक पाँचखालका राजनीतिक दल एकै ठाउँमा
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ८ स्थित होक्से क्षेत्रमा राख्न लागेको अस्पाल्ट ब्याचिङ प्लान्टको विरोधमा कांग्रेस बाहेक सबै राजनीतिक दल एकै ठाउँमा उभिएका छन् ।
नगरपालिकाभित्र क्रियाशिल कांग्रेस बाहेकका राजनीतिक दलहरुले प्लान्ट राख्ने उपयुक्त स्थान हो वा होइन भन्ने निक्र्योल समेत नगरेको दाबीसहित विरोध गरेका हुन् ।
नेकपा एमाले, रास्वपा, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेकपा (बहुमत) लगायतका राजनीतिक दलहरुले विज्ञप्ति जारी गर्दै विरोध गरेका छन् ।
मुकेश पन्त (रामजी) प्रबन्ध निर्देशक रहेको बन्दन भगवती निर्माण सेवा प्रा.लि. ले अघि न्यूनतम मापदण्ड समेत पुरा नगरी प्लान्ट राख्न लागेपछि स्थानीयहरुले विरोध गर्दै आइरहेका छन् । यसअघि प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन तयारका लागि भन्दै साउन १८ गते आईतबार सार्वजनिक सुनुवाई आब्हान गरिएको थियो ।
त्यो सार्वजनिक सुनुवाई विथोलिएको थियो । भोली सोमबार फेरी सार्वजनिक सुनुवाई राखिएको छ । सार्वजनिक सुनुवाईको पूर्वसन्ध्यामा नेपाली कांग्रेस बाहेक नगरपालिकाभित्र क्रियाशिल राजनीतिक दलहरु विरोधमा उत्रिएका हुन् ।
प्रा.लिले ब्यक्तिको जग्गा भाडामा लिएर नगरपालिकाको समेत अनुमति नलिई जबरजस्ती प्लान्टका लागि मेसिन झारेपछि स्थानीय युवाहरु आन्दोलनमा उत्रिएका थिए । युवाहरुलाई साथ दिँदै राजनीतिक दल र विभिन्न संघसंस्थाहरुले प्लान्टको विरोध गरेका हुन् ।








