फिचर

पाँचखालमा जिसस प्रमुख र मेयरकै अगाडी स्थानीयमाथि प्रहरीको बल प्रयोग, एक जना घाईते

milijulikhabar

पाँचखाल नगरपालिकाको वडा नम्बर ८ होक्से क्षेत्रमा बन्दन भगवती निर्माण सेवा प्रा.लि.ले राख्न लागेको अस्पाल्ट ब्याचिङ प्लान्टको विरोध स्थानीयले सक्रियता पूर्वक गरिरहेका छन् । 

अहिले प्रा.लिले जे काम गर्न खोजिरहेको यो काम प्लान्ट राख्ने योजना बनाउँदै गर्नुपर्ने थियो । तर प्रा.लि गुपचुप प्लान्ट सञ्चालनको तयारीमा थियो । 

यो कुरा अहिलेसम्म प्रा.लिले गरेको हरेक गतिविधिले पुष्टि गर्छ । प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) समेत नगरी मेसिन झार्यो । उनले साउन १८ गते सार्वजनिक सुनुवाई आयोजना गरेको थियो । त्यो पनि नागरिकको विरोधपछि स्थगित भयो । 

त्यसपछि आज (सोमबार) जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतम, मेयर महेश खरेल ठूलो संख्यामा प्रहरीको (नेपाल प्रहरी र सशस्त्र प्रहरी) शक्ति र केही बाहिरी ब्यक्ति सहित सार्वजनिक सुनुवाई स्थल पुगे । कार्यक्रमका लागि तोकिएको विशेष आर्थिक क्षेत्र (सेज) को हल स्थानीय पुग्नु अगाबै प्लान्ट राख्नै पर्ने पक्षले भरिसकेको थियो । 
बन्दन भगवती उनीहरुलाई मात्रै राखेर सार्वजनिक सुनुवाई सम्पन्न गर्ने पक्षमा देखिन्थ्यो । प्रत्यक्षदर्शिका अनुसार सार्वजनिक सुनुवाईका लागि समय विहान ११ बजे तोकिएको थियो । तर हल भने साँढे १० बजेतिर बाहिरी ब्यक्तिहरुले कब्जा गरिसकेका थिए । कार्यक्रम स्थलमा प्रहरीको बाक्लो घेराका बीच केही महिनादेखि चरणबद्ध आन्दोलनमा रहेका युवाहरु हलभित्र पसे । 

सार्वजनिक सुनुवाई सामान्य अवस्थामै सुरु भईरहेको थियो । तर पछि एकाएक विथोलियो । प्लान्ट चाहिन्छ र चाहिँदैन भन्ने पक्षबीच चर्को चर्को स्वरमा नारा जुलुस लाग्यो । नेपाल प्रहरीले सामान्य बल प्रयोग गर्यो । वडा नम्बर ८ का स्थानीय समेत रहेका अभियान्त सिमान्त बजगाई घाईते भए । उनको हातमा चोट लाग्यो । बजगाईलाई नेपाल प्रहरीले बल प्रयोग गर्दा चोट लागेको हो । जिसस प्रमुख गौतम र मेयरकै अगाडी प्रहरीले बल प्रयोग गरेको स्थानीयको दाबी छ । 

सम्भवतः जिसस प्रमुख गौतम र मेयर खरेल प्रहरीसहित पुग्नुको मुख्य कारण थियो । सार्वजनिक सुनुवाईको अघिल्लो दिनसम्म नगरपालिकाभित्र क्रियाशिल नेपाली कांग्रेस बाहेक सबै राजनीतिक दलले प्लान्टको विपक्षमा विज्ञप्ति जारी गर्नु । त्यत्ति मात्रै होइन बगाले थापा कल्याणकारी परिषद् र मुडुला कार्की परिवारले समेत विज्ञप्ति जारी गर्दै प्लान्टको विपक्षमा धारणा सार्वजनिक गरे । 

त्यत्ति हुँदा हुँदै पनि सार्वजनिक सुनुवाईमा पुगेर जिसस प्रमुख गौतम र मेयर खरेल स्वयमले भिडलाई उत्तेजित बनाउन सहयोग गरेको स्थानीय युवाहरुले आरोप लगाए । बाहिरी ब्यक्ति र ठूलो संख्यामा प्रहरी लगेर स्थानीय माथि दमन गर्न खोजेको युवाहरुको ठम्याई छ । अघिल्लो दिनकै परिस्थिति मुल्याङ्कन गरेर जसरी प्रहरी परिचालन गरियो त्यो भन्दा त संघर्ष समिति र राजनीतिक दलसंग जिसस र नगरपालिकाले समन्वयात्मक बैठक राख्नु पथ्र्यो । सार्वजनिक सुनुवाई स्थगित गरेर वातावरण सहज बनाउनु पथ्र्यो ।  तर स्थानीयसंग भिड्ने हिसाबले जिसस प्रमुख र मेयर ब्यवसायीको निम्तोमा सार्वजनिक सुनुवाईका लागि पुगेको स्थानीय युवाहरुको भनाई छ । 

सार्वजनिक सुनुवाई स्थलमा मेयर खरेल विरुद्ध मुर्दावादकै नारा समेत लाग्यो । सार्वजनिक सुनुवाई स्थलबाट स्थानीयको चर्को विरोधपछि नगरपालिका पुगेर मेयर खरेलले आफ्नो धारणा सार्वजनिक गरे । उल्टै स्थानीयलाई आरोप लगाएर आफु पन्छिन खोजे । स्थानीय महिलाहरु समेत कालो झण्डा लिएर प्लान्ट राख्न नहुने भन्दै ठूलो संख्यामा नारा जुसुल गर्दै सेजमा पुगेका थिए । 

बन्दन भगवती निर्माण सेवा प्रा.लिले प्लान्ट राख्न जुन विधि अपनायो, त्यो नै गलत थियो । जब की प्रा.लिका प्रबन्ध निर्देशक मुकेश पन्त (रामजी) स्वयमले भनेका छन्, त्यहाँ प्लान्ट राख्न झण्डै दुई वर्षअघि देखि तयारी थालिएको थियो । तर न्यूनतम प्रक्रिया समेत पुरा नगरी रातारात प्लान्टको उपकरण झारेपछि स्थानीय झस्केका हुन् । 

आजको सार्वजनिक सुनुवाई समेत विथोलिएको छ । त्यसपछि नगरपालिकाका क्रियाशिल नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा बहुमत र वातावरण संरक्षण संघर्ष समितिले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा प्रहरी दमन र उत्शृंखल गतिविधिको घोर निन्दा एवं भत्सर्ना गरिएको छ ।  

 

 

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार
धेरै पढिएको
ट्विटर