फिचर

सिन्धुपाल्चोकका हर्क लामाको नेतृत्वमा ‘क्यान्सर बिरामी सहयोग कोष’ का लागि साइकल यात्रा हुँदै

धुलिखेल अस्पतालकाे साथ

धुलिखेल अस्पतालकाे साथ
milijulikhabar

सिन्धुपाल्चोक जिल्लाको लिसंखुमा जन्मिएका साइक्लिस्ट हर्क लामाको नेतृत्वमा ‘क्यान्सर बिरामी सहयोग कोष’ का लागि साइकल यात्रा हुने भएको छ । 

अंग्रेजी नयाँ वर्ष सन् २०२६ को जनवरी १ तारिखमा पाँचथरको चिवाभञ्ज्याङबाट लामाको नेतृत्वमा साइक्लिङ सुरु हुनेछ । २८ दिनसम्म चल्ने यो यात्रा बैतडीको झुलाघाटमा पुगेर अन्त्य गरिनेछ । 

आज (बुधबार) धुलिखेल अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार लामा आफै पिसाब थैलीको क्यान्सरका बिरामी हुन् । उनले २०२० देखि क्यान्सरसंग संघर्ष गरिरहेका छन् । लामाले सन् २०१६ देखि नेपाल तथा नेपाल बाहिरका विभिन्न साहसिक साइकल प्रतियोगिताहरुमा सहभागि भएर विजयी भैसकेका छन् । 

यो यात्रामा स्तन क्यान्सरको तेस्रो चरणबाट उठेर साइकल मार्फत सक्रिय सकारात्मक जीवन शैली अपनाउँदै आएकी कविता चित्रकार पनि सहभागि हुनेछिन् । उनीहरुले कुल १८ सय किलोमिटर दूरी पार गर्ने छन् । 

यो यात्रामा मेचीदेखि महाकालीसम्मका साइकलप्रेमी तथा सहयोगीहरु जोडिने साइक्लिङ अभियानका संयोजक डा.तारालाल श्रेष्ठले जानकारी दिनुभयो । यो अभियान धुलिखेल अस्पतालको सहकार्यमा हुन लागेको हो । अस्पतालका हाडजोर्नी विभागका डा. विकास पराजुलीको टिमले यात्राका क्रममा आइपर्ने सम्पूर्ण मेडिकल तथा उपचारको नेतृत्व गर्नेछ ।

साइक्लिस्ट लामाले क्यान्सर रोगको उपचार धुलिखेल अस्प्तालमै गरेका थिए । उपचार पश्चात साइक्लिङ गर्न थप हौसला मिलेको लामाले बताए । ‘म अहिले नर्मल अवस्थामा छु । अबको एक वर्षसम्म पनि मेरो शरीरमा क्यान्सर देखिएन भने मैले क्यान्सरलाई पूर्ण रुपमा जित्ने छु । मैले लगभग पुर्नजन्म पाएको भन्दा पनि हुन्छ । क्यान्सर लागेपछि पनि मैले साइक्लिङ गर्न छोडिन् । यो अभियान मार्फत क्यान्सर लाग्नै नदिन सचेतना जोगाउने र लागिसकेकाहरुका लागि कोष स्थापना गर्नु हो ।’ लामाले पत्रकार सम्मेलनमा भने ।

कविता चित्रकारले क्यान्सर लाग्यो भनेर निराश नहुन सबैलाई अपील गर्नुभयो । ‘क्यान्सर रोगबाट मैले मेरो आफन्तहरु गुमाएँ । यो लागेपछि निराश होइन, हौसलाका साथ जीवनलाई सक्रिय बनाउनुपर्छ । निराशाले जीवनलाई कहिँ पुर्याउँदैन । आजको लागि खुशी भएर बाँचौं । जीवन अमुल्य छ । यो अभियान मार्फत हामी जस्तै क्यान्सर भएका बिरामीहरुको उपचारमा सहयोग पुर्याउने मुख्य उद्देश्य हो । तपाईहरु सबै जोडिनु होस् ।’ चित्रकारले भनिन् ।

धुलिखेल अस्पतालका निर्देशक डा. राम कण्ठ श्रेष्ठले यो अभियानले सकारात्मक सन्देश प्रवाह गर्ने भएकाले सबै पक्षलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न अपील गर्नुभयो । ‘क्यान्सरसंग संघर्षरत लामा र चित्रकारले जस्तै सक्रिय र सकारात्मक जीवनशैली अपनाउन जनचेतना जगाउन समेत यो अभियान सहयोगी बन्नेछ । सकेसम्म लाग्नै नदिने र लागि हाले समयमै उपचार गराउन मद्दत गर्ने यो अभियानले धेरैलाई सहयोग पुग्नेछ ।’ निर्देशक श्रेष्ठले भन्नुभयो ।

आजै धुलिखेल अस्पतालका प्रा.डा. सुमन राज ताम्राकारले लेख्नुभएको क्यान्सरको लक्ष्मण, पहिचान र निवारण गर्न सजिलो हुने किताब ‘अर्बुद मन्थनः दीर्घ जीवन’ सार्वजनिक गरिएको छ । यो किताब मार्फत सरल भाषामा क्यान्सरको लक्ष्मण, पहिचान र निवारणका उपायहरु थाहा पाउन सकिनेछ ।

क्यान्सर बिरामी सहयोगका लागि सुरु गर्न लागिएको साइक्लिङ अभियानमा रोटरी क्लब, लायन्स क्लब, विभिन्न ब्यापार, ब्यवसायी, उद्योगी, संघसंस्थाहरुमा समेत सहयोगको अपेक्षा गरिएको छ । अभियानको क्रममा विभिन्न ठाउँमा क्यान्सर रोग पहिचानका लागि स्क्रीनिङ शिविरहरु समेत सञ्चालन गरिनेछ । यो साइकल यात्राबाट प्राप्त रकम क्यान्सर बिरामी सहयोग कोष स्थापनाका लागि धुलिखेल अस्प्ताललाई हस्तान्तरण गरिनेछ ।

 

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार
धेरै पढिएको
ट्विटर