विचार

अति सिमान्तकृत दनुवार समुदायः विगत, वर्तमान र भविष्य

milijulikhabar

नेपाल जातीय विबिधता भएको देश हो । नेपालमा २०६८ को जनगणना अनुसार ११८ भन्दा बढि भनि उल्लेखित जात जाती रहेको जनगणनाको तथ्यांकले देखाउँछ । पछिल्लो जनगणना २०७८ ले नेपालकै तथ्यांकमा १४८ जात जाति रहेको तथ्यांक प्रकाशन गरिएको छ । 

 

तीनै जातिहरु मध्ये दनुवार पनि एउटा सिंगो परम्परा र सस्कृति बोकेको जनजाति मध्ये एक हो । नेपाल राज्यभर दनुवार समुदायको २०६८ को जनगणना अनुसार ८०,००० (असि हजार) उल्लेखित दनुवार समुदाय २०७८ को जनगणनामा ८२७८४ अर्थात कुल जनसंख्याको ०.२८ प्रतिशत रहेको देखिन्छ । कुल जनसंख्याको आधारमा यस समुदायलाई अति सिमान्तकृत समुदायमा राखिएको छ । 

 

दनुवार जाति मुख्यतया कोशी प्रदेशको उदयपुर, झापा, मोरङ, मधेश प्रदेशको सर्लाहि, सिरहा, सप्तरी, महोत्तरी, बागमती प्रदेशको सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, ललितपुर, नुवाकोटमा बाक्लो बस्ति रहेको पाईन्छ । यो समुदाय जनसंख्याको फैलावटको हिसाबमा नेपालको सातै प्रदेशको ५५ जिल्लामा बसोबास गर्दै आएको पाईन्छ । 

 

कुल जनसंख्याको हिसाबले हेर्ने हो भने सबैभन्दा धेरै सिन्धुली जिल्ला, दोस्रोमा काभ्रेपलाञ्चोकको निर्वाचन क्षेत्र नम्बर २ को (क) पाँचखाल नगरपालिका र मण्डनदेउपुर नगरपालिका भित्र रहेका छन् । 

 

दनुवार जातिका उत्पति र विकासका सन्र्दभमा विभिन्न मत मतान्तर रहेको पाईन्छ । एकथरी अड्कल अनुसार दनुवारहरु चौधौ शताब्दीमा सिमरौनगढबाट नेपाल पसेका हुन् भन्ने भनाई छ । समाजशास्त्रीहरुको शुक्ष्म अध्ययन प्रतिवेदन अनुसार दनुवार भाषलाई ‘मगधि’ भाषाबाट आएको उल्लेख गरिएको छ । 

 

तर यी सबै कथन पुष्टि गर्ने प्रमाण कुनै पनि अध्ययन प्रतिवेदनमा उल्लेखित छैन । त्यसैगरी दनुवार जातिका नामाकरणको विषयमा पनि विभिन्न तर्कहरु पाईन्छ । एक थरीको भनाई अनुसार ‘दलवार’ शब्दबाट अपभ्रंश भई दनुवार बनेको हो र यसको संयुक्त अर्थ लडाकु हुन्छ । यसैगरी होचो उपत्यका वा दुनमा बस्ने भएकाले दुनवार हुँदै दलवार हुन गएको तर्क पनि समाजशास्त्रीहरुले उल्लेख गरेका पाईन्छ ।

 

समुदायको हिसावले दनुवारहरु घर बनाउँदा मधेश कछारमा बस्नेहरु अन्य समुदायको जस्तै फुसको छाना, चित्रोको भित्ता र स–साना अलग अलग छाप्रा बनाउछन् । तर महाभारतको खोचसम्म उक्लेका दनुवार भने पहाडी समुदायले भने ढुंगामाटोको गारो र खरको छाना हाली बनाएका स– साना बस्ती छन् । तर पछिल्लो समय बिनासकारी भुकम्पसंगै दनुवार समुदायको परम्परागत घर निति विधिको कारण बनेका छैनन् । 

 

बिनासकारी भुकम्पसंगै पहाडी भूगोलका दनुवार समुदायको घर भुकम्प प्रतिरोध सरकारी निति अनुरुप अन्य समुदायकै जस्तो बनेका छन् । शारीरिक बनोटका हिसावले दनुवारहरु पातला तर बलियो एवं सुसंगठित छन् । अधिकांश दनुवार समुदायको अनुहार कालो, आँखा सानो, चिउँडो गोलो, ठूलो कान, कालो कपाल, दाह्री जुंगा धेरै जसोको नआउने, उचाई ५ फिट देखि माथि भएको पाईन्छ । महिलाहरुको वर्ण पनि समान रुपकै भएको दनुवार समुदाय परिश्रममा विश्वास गर्ने र अधिक परिश्रमी रहेको पाईन्छ । 

 

तथ्यांकमा उल्लेख रहेको दनुवार समुदाय ८२७८४ जनगणना २०७८ को तथ्यांक अनुसार मुल मातृभाषा बोल्ने जनसंख्या २५ प्रतिशत पनि नभएको पाईन्छ । यस जातिको पहिचानको भाषा छुट्टै छ । तर भाषागत लिपि छैन । समयानुकुल प्रविधि र संसारसंगै मातृभाषा बोल्नेको संख्या दिनानुदिन घट्दो क्रममा छ । यसरी दनुवार भाषा नेपाली भाषा र अन्तराष्ट्रिय भाषाको अतिक्रमणमा परिरहेको छ । यस अबस्थामा भाषा अतिक्रमण र संकटमा पर्नुको साथै लोप हुन सक्ने अबस्थामा समेत रहेको देखिन्छ । 

 

सामुदायिक रहनसहनमा दनुवार समुदाय एकल परिवारमा बस्ने समुदाय भित्र पर्छ । सम्भ्रानत समुदाय वर्ग जाति भन्नेहरुको भन्दा दनुवार जातीका महिलाहरुको सामाजिक निर्णायक स्तर धेरै माथि छ । सम्पत्तिमा परिवारको सबै सदस्यहरुको समान र उत्तिकै अधिकारको रुपमा प्रयोग गर्ने गर्छन् । परिश्रममा खुशी हुने र परिश्रममै रमाउने भएको यस समुदायको आय आर्जन अधिकांश दैनिक जीवन यापन र व्यवस्थापनमा खर्च हुने गरेको कारण बचत कम हुने गरेको देखिन्छ । 

 

खास गरी महिला पुरुष कृषि कर्ममा समान रुपमा हातेमालो गरेर कार्य गरेको पाईन्छ । अघिल्लो पुस्तामा शिक्षालाई उच्च महत्व नदिएको कारण सामुदायिक चेतनाको स्तर बृद्धिमा सुस्त नै रहेको पाईन्छ । तर शिक्षाको महत्व बुझ्ने बर्ग पहिलो पुस्ता देखिनै टाठोबाठो र आफ्नो बालबालिकालाई शिक्षामा अग्रसर गराएको पाउन सकिन्छ । पछिल्लो समयमा समुदाय स्तरमा शिक्षाको महत्व तथा अधिकारमा अपनत्वको धारणा विकासका लागि थप चेतनाको विकास र बृद्धि हुँदै गईरहेको छ । 

 

सामुदायिक हिसावमा दनुवार समुदाय प्रकृति पुजक हुन् । राज्य व्यवस्था अनुरुप दनुवार समुदाय हिन्दु धर्मावलम्बीको रुपमा स्थापित धर्म पुज्दछन् । हिन्दु धर्म मानिएकता पनि मुख्य देवता बस्तिअनुसार फरक फरक भएतापनि बनदेवि र घरभित्रको कुलदेवता मुख्य मान्ने प्रचलन रहेको छ । अहिले पनि  दनुवार समुदाय तन्त्र बिद्यामा विश्वास गर्ने गरेको देखिन्छ जसको कारण झारफुक गर्ने गरेको देखिन्छ । मुल कुल देवताको पूजाआजा गर्ने धामिले विधि पुर्‍याउन सकेमा आफु बाघबाट फेरी मानिस बन्न सक्दछन् । भन्ने धारणा यो समुदायमा अझै कायम छ । 

 

भुगोल अनुसारको खानपान, मांस मदिरा सहितको भोजन गर्ने यस समुदाय तराई पहाड र शहरी क्षेत्रमा समयानुकल पहिरन लगाउने गरेको पाईन्छ । पुरुषहरु कमिज शुरुवाल तथा महिलाहरु परीया चोलो सादा रंगको लगाउने गर्दछन् । यस समुदायमा विवाह प्रकृया सरल छ । नेपालको कानुनमा अहिले पनि बिवाहको लागी २० वर्ष रहेको देखिएतापनि उमेर पुगेको खासगरी २४, २५ वर्ष नाघिसकेको लोग्ने मानिसले महिलालाई लिएर घरजम गरेर बस्ने निधो गरेपनि लगभग बिवाहको कार्य सम्पन्न हुने प्रावधान देखिन्छ । परम्परागत रुपमा केटी मागेर बिवाह गरेपनि दुईजना राजी खुशि मिलेर बसेपनि दुलहीका आमाबाबुलाई दस्तुर नबुझाएसम्म जोईपोई (श्रीमान, श्रीमती) को औपचारीक सम्बन्धको मान्यता नपाउने सामुदायिक नितिगत चलन रहेको थियो । यस अर्थमा पनि दनुवार महिलाहरुको सामाजिक स्तर उचो रहेको प्रष्ट देखिन्छ । 

 

नेपालको ५५ जिल्लामा बसोबास गर्ने दनुवार समुदाय विभिन्न संगठनको नाममा संगठित रहेको २० जिल्लामा मात्र छ । जनजातिहरुको सुचीमा अति सिमान्तकृत समुदायको यी जातिहरु नजिकको छिमेकी टाठाबाठा जातिका मानिसबाट विभिन्न रुपमा ठगिँदै आएका हुँदा सकभर उनीहरुको सम्पर्कमा आउन चहादैँनन् । खास गरी नेपालको भूमिमा रहेको विभिन्न जात जातिहरुको अझ अति सिमान्तकृत तथा लोपोन्मुख जात जातिको ईतिहास तथा खोज अध्ययन शुक्ष्म रुपमा सरोकारवाला निकायले गर्न सकिरहेको छैन ।

 

आफ्नो सिंगै मौलिक संस्कृति बोकेको समुदायलाई पछिल्लो समय पहाडी समुदायसंग उनीहरुको भाष संस्कार संस्कृति र रहन सहनसंगै जोडिन थालेपछि परिर्वतनको नाममा मौलिक संस्कृति लोप बनाएको समेत देखिन्छ । दनुवार समुदायको प्राचिन र राजनितिक संगठन (मानजनि प्रथा) तत्कालिन राणा शासनबाट मान्यता प्राप्त र अत्यन्तै प्रभावशालि र प्रभावकारी पनि थियो । तर पञ्चायति व्यवस्थासंगै यस मान्यता प्राप्त प्राचिन दनुवार समुदायको राजनितिक न्यायिक संगठन कहिल्यै उठन नसक्ने गरी समुदायमाथि धक्का दिई फाल्यो । यो गणतनत्रमा दनुवार समुदायको सामाजिक राजनितिक न्यायिक संगठन प्रणाली प्रभावविहीन बनाई एउटा मौलिक संस्कृति बोकेको समुदायको संरचनाको समुल अन्त गरियो । 

 

पछिल्लो समय दनुवार समुदायमा निराशाबादी मनोबृत्ति फैलिएको देखिन्छ । यस प्रकारको मनोबृत्ति रोक्न अधिक मांसहार तथा मदिरापान आदिमा गरिने फजुल खर्च घटाउन तथा अनियन्त्रित तवरमा रहेको शिक्षाको अभावसंगै समयानुल ज्ञान सिप दिलाउन आबश्यक छ । यस समुदायको बस्ति स्तरमा अझै पनि शिक्षा, स्वास्थ तथा समय सापेक्ष विकासका अन्य दृष्टिले नेतृत्व पंक्तिले पछाडी पारीरहेको देखिन्छ । 

 

दनुवार मातृभाषाको सामाजिक बनोट, राजनैतिक संगठन, लोक साहित्य तथा मौलिख ईतिहासको बैज्ञानिक दृष्टिले खोज हुनु अत्यन्तै आवश्यक छ । संस्कार संस्कृति र परम्परा धान्ने नाममा चर्को ब्याजमा ऋण लिएर गरिने फजुल खर्च रोक्ने कार्यमा यस जातिलाई समयानुकुल शिक्षा दिनु सघाउनु पर्ने देखिन्छ । बर्षेनी अनावश्यक ऋण गरेर खर्च गर्दा जग्गा जमिन बिक्रि गर्नुपर्ने अवस्था समेत सिर्जना भएको छ । 

 

खास गरी आर्थिक अवस्था कमजोर तथा शिक्षाको अभावको कारणले गर्दा ‘भूमि’का मालिक दनुवार समुदाय भूमिहिन बन्दै गईरहेको समेत देखिन्छ । हरेक समुदायमा भएको जस्तै यस समुदायमा पनि जान्ने सुन्ने तथा पढीलेखेकाले निमुखा र सोझालाई सताउने तथा आफु आफुमा आस्था तथा प्रतिष्ठामा खिचातानी गर्ने अभ्यास समेत देखिदा थप समस्यामा जेलिदै जालाकी भन्ने डर त्रास पैदा यस समुदाय भित्रनै छ । 

 

आजको समयमा महिला र पुरुषहरुको हरेक क्षेत्रहरुमा समान हक र अधिकारको अपेक्षा हुन्छ । यसको निमित्त विभिन्न विकास निर्माणका कार्यहरुमा पुरुषसंगै महिलाहरुको सहभागिता बढाउनुपर्ने देखिन्छ । महिला सहभागिता भएको कार्यहरु प्रभावकारी रुपमा सफल समेत भएको उदाहरण छन् । यसरी महिला सहभागिता बृद्धि गर्ने र महिलाहरुलाई विविध दृष्टिकोणबाट सक्षम बनाउनका लागी सर्वप्रथम उनीहरु हालसम्म कस्तो अवस्थामा छन् भन्ने विषयगत अध्ययन गर्न समेत जरुरी छ ।

 

दनुवार समुदायभित्र रजहन, जनोधरी र कछाडे गरी ३ वर्गमा समुदायले आफुले आफुलाई बर्गिकृत गरेको देखिन्छ । रजहन बर्गका दनुवारहरु आफुलाई राजपुत तथा क्षेत्रीय बर्गमा राख्दछन् भने जनोधरीहरु ब्रामाण संस्कार संस्कृति र परम्परा मान्ने भएकाले आफुले आफुलाई उपल्लो बर्गको ठान्ने गरेको देखिन्छ । 

 

हरेक विषयमा बिमुखा बर्गलाई समुदायलेनै कछाडे दनुवारको रुपमा बर्गिकरणको दायरामा राखेको पाईन्छ । जातिय बर्गिकरणको आधारमा नै पछिल्लो समय दनुवार समुदाय भित्र विभाजनको कारक समेत बनेको छ । जसको प्रत्यक्ष असर तथ्याङ्कमा बृद्धिदर अत्यन्तै कम देखिएको छ । यसरी विभाजन गरी नयाँ थर लेख्ने समुदाय पछिल्लो समय पहिचानको लडाई भन्दै साम्प्रदायिकता तर्फ उन्मुख भएको हो कि भन्ने भान समेत परेको देखिन्छ । पुरातन संस्कार संस्कृति अपनाउने दनुवार समुदाय जातिय बर्गिकरण जे जस्तो रहेता पनि अन्य जुनसुकै जातिले छोएको खाना नखाने गरी आफ्नो जातलाई चोखो पार्ने प्रचलन पछिल्लो समय यस प्रकारको मौलिकता हराईसकेको छ ।

 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर