विचार
१० वर्ष दोलखा बसाईको क्रममा नजिकबाट नियालिएका आदर्णीय ब्यक्तित्व ‘डबल पाण्डे’
दोलखा जिल्लाको साबिक लापिलाङ्ग गाबिस हालको कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ मा आज भन्दा ५५ वर्ष अगाडि जन्मनु भएका डबल पाण्डे दोलखा एमालेको राजनीतिमा एक चिर–परिचित नाम हो, भने नेपालको राजनीतिमा यदी इमान निष्ठा, त्याग र समर्पण सहितको योगदान गरेकाहरु सफल हुने दिन आउँदा समग्र देशकै राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने एक क्षमतावान नेता पनि हुन् ।
निरङ्कुश पंचायती शासनको समयमा उमेरले सानै भए पनि प्रजातन्त्र स्थापना र जनताको मुक्ति खातिर क्रान्तिको झण्डा उठाउने क्रममा निरङ्कुस पन्चायतको काल कोठरीमा केही समय निर्वासित जीवन बिताएका तिनै पाण्डेले प्रजातन्त्र स्थापना पश्चातको खुला समयमा आफ्नो निजि लाभ–हानिलाई हेरेर अनेकन फाइदाजनक क्षेत्रमा जान सक्ने सम्भावना हुँदाहुँदै पनि तेसलाइ त्यागेर राजनीतिमा नै सक्रिय रहने निधो गर्नुभयो ।
त्यसो गर्ने क्रममा दोलखा जिल्लाको बामपन्थी आन्दोलनलाइ एक सशक्त संगठनमा रुपान्तरण गर्न शुरुमा सहयोगीको अनि पछि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । त्यसो गर्दै गर्दा प्रजातन्त्र स्थापना पछिका सुरु–सुरुका दिनमा तत्कालिन काँग्रेसी सर्वसत्तावादको विरुद्ध लड्नु प¥यो भने पछि तत्कालिन माओवादीको आतंककारी गतिविधि संग डटेर सामना गर्नुप¥यो ।
माओवादीको आतंककारी गतिविधि सङ्ग विमति राख्दा अपहरणमा पर्नुको साथै कयौं वर्ष विस्थापित जीवन बिताउनु प¥यो, माओवादीले उहाँलाई सुराकीको आरोप लगाएर त्रस्त बनाउन खोजे, सार्वजनिक चोक चौतारीमा ‘लौ चिनौ सामाजिक अपराधी’ लेखिएका पोस्टर छ्यापछ्याप्ती बनाए । तर ति सबै खाले प्रपोगाण्ड र लडाईलाइ कुनै अपराधिक बाटोबाट नभई राजनीतिक–बैचारिक ढङ्गबाट नै प्रतिवाद गरि रहनु भयो । त्यस्ता खाले क्रियाकलापले उहाँलाई न त कम्जोर पार्यो न त उहाँले जनता प्रति गरेको निःस्वार्थ सेवाको प्रतिवद्धतामा कमि नै आयो ।
उहाँ निरन्तर अभियानमा लागिरहनु भयो । जसले गर्दा जनताकै मायाको जगमा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा विजयी भइ जनताको सेवामा निरन्तर सहभागी भइ रहनु भयो । देशभरका जिसस प्रमुखहरु मध्ये उत्कृष्ट हुँदै रचनात्मक र सृजनात्मक काम गर्न सक्नेमा आफूलाई अब्बल सावित गराउनु भयो ।
२०७९ मा ५ वर्षे कार्यकाल समाप्ति पछि नेपालको राजनीतिक क्षितिजमा अनेकन उथल–पुथलका घटनाबाट देश गुज्रंदै आएको छ । स्वयं राजनीतिक दलहरुले नै लेखेको संविधान राजनीतिक दलहरू कै नेताहरुबाट नै असुरक्षित भएको इतिहास छ र अहिले पनि त्यहींबाट संविधानलाइ खतरा छ भन्ने आशंका गर्ने गरिन्छ ।
त्यसैले संविधानको कार्यन्वयन वा आवश्यक परे संविधान संसोधन गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को कार्यभार पूरा गर्न गलत गर्ने (विरोधी होस् वा आफ्नै होस) का विरुद्ध पनि विद्रोह गर्नु पर्छ भन्ने मान्यता राखेर एमाले पार्टी निर्माणको महान अभियानमा क्रियाशिल बनेर डबल पाण्डेले काम गरिराख्नु भएको देखिन्छ ।
हो उहाँहरुले रोजेको बाटो त्यति सजिलो पक्कै छैन होला तर ज्यान नै जाने जोखिमसंग नडराई पंचायती निरंकुशता, तत्कालिन काँग्रेसी सर्वसत्तावाद र माओवादी अराजकता तथा उग्रवादसंग लडेको डबल पाण्डेहरुले असजिलोलाई सजिलो मात्रै हैन असम्भवलाइ सम्भव बनाउने ल्याकत पनि राख्दछन । त्यसैले निष्ठा, इमान र त्याग सहितको सक्रियता अनि चुनौतीको सामना गर्न सक्ने आवश्यक योग्यता भएका डबल पाण्डे प्रति उच्च सम्मान प्रकट गर्दै उहाँको सम्मान योग्य व्यक्तित्वलाइ सादर नमन गर्दछु ।
यो त्यहाँको ल्याकत र क्षमता राख्ने एउटा होनाहार प्रतिवद्ध एमाले नेता तथा पार्टी कार्यकर्ता अहिले गुमनाम जत्तिकै लाग्दछ । पार्टीको कुनै जिम्मेवारीमा र कुनै फोरममा रहेको सुनिदैन–देखिदैन । पार्टी नेतृत्वले पनि उहाँलाई खासै वास्ता नगरेको र जिम्मेवारी नदिएको पो हो कि ? कि उहाँको उपादेयता अब सकिएको हो त ?








