मनोरञ्जन
म हेड सर
सूर्यको लालिमाले पृथ्वीको स्पर्श गर्न नपाउँदै,
उषाले पृथ्वीमा चरालाई बोलाउन नपाउँदै,
के हिउँद, के झरी, कर्म थलोमा लाग्ने म ।
कहिले विद्यार्थीका गुनासाका पोका हेर्ने त कहिले अभिभावकका गुनासा सुन्ने,
कहिले जनप्रतिनिधि र समाजका मानिसहरुको गाली, ताली र सुझाव सुन्ने म,
कहिले आफ्नै सहकर्मीको मलिन अनुहार त कहिले विद्यालयका यो र त्यो समस्याको निकास खोज्ने म,
कहिले शौचालय बनाउन त, कहिले कक्षाकोठाका झ्याल, ढोका टुटे फुटेको हेर्न पुग्नु पर्ने म,
कहिले विद्यार्थीको उज्यालो भविष्य खोजेर सहकर्मीसंग गुनासो पोख्ने म,
कहिले न्यायाधीश जस्तै बनेर न्याय र निसाफको फैसला गर्न न्यायाधीश हुन बाध्य म,
कहिले विद्यार्थीको त कहिले सहकर्मीको समस्या लिएर अड्डा धाउने म,
कहिले टिठ लाग्दो नतिजाले शिर निहुराउने त, कहिले एक दिनको राम्रो नतिजाले बर्ष भरिको पीडा बिर्सेर पुलकित हुने म,
२००, ३०० र ५०० को सरकरी सुविधाको भारी बोकेर संसार बदल्न हिड्न खोज्ने म,
कहिले निर्माणकार्यको भारी त कहिले रुपान्तरणको अभियानको भारी बोक्ने,
कहिले प्रविधिसंग त कहिले प्राविधिकसँग रिसाउने म,
सधैं सधैं तनाव, जिम्मेवारी र सामाजिक जिम्मेवारीको भारी सजिलै बोक्ने म,
कहिले मध्यरातमा बल्लतल्ल घर आइ पुग्ने त कहिले आज घर आउन भ्याइन है भन्ने म,
कहिले हर–हिसाब भारी पनि बोक्न बाध्य म,
कहिले सम्भावनाको खोजी गर्ने त, कहिले सम्भावना देखाउने म, म हेड सर, कठै म हेड सर ।
लेखकः बेद प्रकाश खतिवडा
प्रधानाध्यापक, इन्द्रावती मावि, मण्डनदेउपुर–१२ ज्याम्दी








