शिक्षा
ज्ञानोदय आधारभूत विद्यालयमा नयाँ नेतृत्वः शिक्षा सुधार र सामाजिक रूपान्तरणको नयाँ आशा
काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर २ ज्यामिरकोटमा रहेको ज्ञानोदय आधारभूत विद्यालयमा नयाँ नेतृत्वको आगमनसँगै शिक्षा सुधार र सामाजिक रूपान्तरणको नयाँ आशा जागेको छ ।
विद्यालयमा नवनियुक्त प्रधानाध्यापक सागर जंग दनुवारको ओजस्वी उपस्थितिले समग्र शैक्षिक वातावरणमा सकारात्मक ऊर्जा थपिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालका अनुसार शिक्षा केवल अक्षर ज्ञानमा सीमित नभई चेतनाको उज्यालो र संस्कारको जग हो । यही मूल मान्यतालाई आत्मसात गर्दै विद्यालयले अब गुणस्तरीय शिक्षा, नैतिक विकास र व्यवहारिक ज्ञानमा केन्द्रित कार्यक्रमहरू अघि बढाउने तयारी गरेको छ ।
नयाँ नेतृत्वले विद्यार्थीहरूको सर्वाङ्गीण विकास, शिक्षकहरूको क्षमता अभिवृद्धि तथा अभिभावक र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ । प्रधानाध्यापक दनुवारको प्रखर प्रज्ञा, दूरगामी दृष्टिकोण र निष्ठावान नेतृत्वले विद्यालयलाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ ।
शिक्षा सुधारसँगै सामाजिक रूपान्तरणको लक्ष्य लिएर अघि बढिरहेको यस विद्यालयले अब अनुशासन, नवप्रवर्तन र समावेशी शिक्षालाई जोड दिँदै उदाहरणीय संस्था बन्ने दिशामा अग्रसर हुने अपेक्षा गरिएको छ ।
स्थानीय समुदायले पनि विद्यालयको यस सकारात्मक परिवर्तनलाई स्वागत गर्दै आगामी दिनहरूमा विद्यालय र समाजबीचको सहकार्य अझ सुदृढ हुने विश्वास गरेका छन् ।







