समाज
जर्मनमा रसुवा बाढी पीडितका लागि सहयोग जुटाइरहेका बनेपाका कृष्णदेव थापा
जर्मनमा ब्यवसाय सञ्चालन गर्दै आएका काभ्रेपलाञ्चोकको बनेपाका कृष्णदेव थापा अहिले रसुवा बाढी प्रभावितका लागि सहयोग जुटाउन नदिनरात नभनि लागिपरेका छन् ।
आफ्नो ब्यक्तिगत रुपमा नेपाली १० लाख रुपैयाँ सहयोग गरेका थापाले जर्मनमा रहेका साथीहरुसँग मिलेर बाढी प्रभावितका लागि जतिसक्दो धेरै सहयोग जुटाउन लागिरहेका छन् । नेपालमा बाढीले पुर्याएको क्षतिपछि निकै दुखित थापा खास गरी बाढी प्रभावित क्षेत्रको बालबालिकाको भविष्य प्रति अझ बढी चिन्तित छन् ।
थापाको विचारमा अहिले बाढी प्रभावित क्षेत्रमा सबैभन्दा तत्काल आवश्यकता आर्थिक सहयोग हो । नेपालसम्म जर्मनबाट राहत सामग्री पठाउन महँगो र जटिल पर्ने भएकाले नगद सहयोग बढी प्रभावकारी हुने भएका आर्थिक सहयोग जुटाउन थापाले नेतृत्व गरिरहेका छन् । ‘नमस्ते नेपाल टेल्ग्टे’ संस्थामार्फत बाढी प्रभावितका लागि संकलन गरिएको रकम नेपालमा पठाइनेछ ।
संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै पठाइनेछ । प्रारम्भमा तत्काल राहत तथा पुनस्र्थापनाका काममा खर्च गरिनेछ । दीर्घकालमा परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने, विद्यालय, स्वास्थ्य संस्था र पूर्वाधार पुनर्निर्माण गर्ने उद्देश्य राखिएको छ ।
औद्योगिक तथा सम्पन्न राष्ट्रहरूले पनि विपद् व्यवस्थापनमा नेपालजस्ता देशहरूलाई सहयोग गर्नुपर्ने थापाको भनाई छ । उनले जर्मन लगायत विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई समेत यो विपद्मा सक्दो सहयोग जारी राख्न अनुरोध गरे ।
‘आज देशलाई ठूलो सहयोगको खाँचो छ । विदेशमा बस्ने हरेक नेपालीले आ आफ्नो क्षमता अनुसार सहयो गर्ने हो भने मातृभूमिले झेलिरहेको यो दुःखमा मलम लगाउन सकिन्छ । थापाले भने ।’
दिनभर आफ्नो रेष्टुरेष्टमा पाहुनाको स्वागत तथा सत्कारमा ब्यक्त थापा साँझ बिहानको समय निकालेर नेपालको बाढी पीडितहरूको सहयोगका लागि जर्मनमा रहेका नेपालीहरुसँग छलफल, भेटघाट गरिरहेका छन् । ‘नेपालमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राम्रो काम गरिरहेको छ । हामी यही सरकारको विश्वासका कारण सहयोगमा जुटेका हौँ । यस्तो संकटको बेला सरकारको खुट्टा तान्ने, अनावश्यक टिकाटिप्पणी र असहयोग गर्ने होइन, हामी नेपालीहरु जहाँ छौं, जतिसकिन्छ त्यत्ति सहयोग गरौँ ।’ थापाले भने ।
लामो समयदेखि जर्मनमा रेष्टुरेष्ट ब्यवसाय गर्दै आएका थापाले ब्यक्तिगत रुपमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ मा रहेको डेडीथुम्का मावि ढोँडिनीमा अध्ययन गर्ने कक्षा १० सम्मकै बालबालिकाका लागि दिवा खाजा, पोसाक, स्टेशनरी लगायतमा सहयोग गर्दै आइरहेका छन् । यो विद्यालयमा अधिकांश सिमान्तकृत दनुवार समुदायका बालबालिका पढ्दै आइरहेका छन् । थापाको सहयोग पछि अहिले दनुवार समुदायका बालबालिकाहरु नियमित विद्यालय आउने क्रम बढ्दो छ ।





