समाज

उज्यालो नेपाल पार्टी काभ्रेमा संगठन सुदृढीकरणको नयाँ संकल्प: समन्वय तथा छलफल बैठक सम्पन्न

milijulikhabar

उज्यालो नेपाल पार्टी जिल्ला कमिटी काभ्रेको समन्वय तथा छलफल बैठक जिल्ला कार्यबाहक अध्यक्ष डि.के. मोक्तानको अध्यक्षतामा आज सम्पन्न भएको छ । बैठकले पार्टी संगठनलाई अझ सुदृढ, अनुशासित, व्यवस्थित, गतिशील र जनमुखी बनाउँदै काभ्रे जिल्लामा पार्टीको प्रभावकारी उपस्थितिलाई थप मजबुत बनाउने विषयमा गम्भीर र महत्वपूर्ण छलफल गरेको छ ।

बैठकले वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै संगठन विस्तार, आन्तरिक व्यवस्थापन, जिम्मेवारीको स्पष्ट बाँडफाँड, अनुशासन र कार्यकर्ताबीच प्रभावकारी समन्वयलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ । पार्टीलाई व्यक्ति केन्द्रित नभई नीति, विचार, संगठन र जनताको अपेक्षामा आधारित बलियो राजनीतिक शक्तिका रूपमा विकास गर्ने प्रतिबद्धता बैठकले व्यक्त गरेको छ ।

विभिन्न जिम्मेवारीमा नयाँ नियुक्ति
संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बैठकबाट विभिन्न जिम्मेवारीसमेत तोकिएको छ । 
अधिवक्ता दुर्गामान तामाङ — कानुनी सल्लाहकार
विशाल वाइबा तामाङ — कानुनी सल्लाहकार सदस्य
हिरा लामा — सह–कोषाध्यक्ष
मानबहादुर घिसिङ — महाभारत गाउँपालिका इन्चार्ज तथा जिल्ला कमिटी सदस्य
सूर्यबहादुर घिसिङ — मण्डनदेउपुर नगरपालिका, जिल्ला कमिटी सदस्य
वसन्त घिसिङ — पाँचखाल नगरपालिका, जिल्ला कमिटी सदस्य

त्यसैगरी पार्टीको आन्तरिक अनुशासनलाई थप प्रभावकारी, निष्पक्ष र संस्थागत बनाउन जिल्ला काभ्रे उज्यालो नेपाल पार्टीको अनुशासन विभागको संयोजकमा कार्यबाहक अध्यक्ष डि.के. मोक्तानलाई सर्वसम्मत चयन गरिएको छ । अनुशासन विभाग सदस्यमा छोइसाङ लामालाई चयन गरिएको छ ।

बैठकमा पार्टी संगठनलाई गाउँ–गाउँ, टोल–टोल र जनताको घरदैलोसम्म पु¥याउने, जनताका वास्तविक समस्या र आवाजलाई राजनीतिक एजेन्डाका रूपमा स्थापित गर्ने तथा नेता–कार्यकर्ताबीच आपसी विश्वास, सहकार्य र समन्वयलाई थप मजबुत बनाउने विषयमा विशेष जोड दिइएको थियो ।

बैठकले व्यक्तिगत स्वार्थ, गुटगत सोच र विभाजनकारी प्रवृत्तिभन्दा माथि उठेर पार्टीको नीति, विचार, उद्देश्य र संगठनको हितलाई सर्वोच्च प्राथमिकतामा राख्नुपर्ने स्पष्ट धारणा अघि सारेको छ ।

बैठकलाई सम्बोधन गर्दै कार्यबाहक अध्यक्ष मोक्तानले संगठन निर्माण कुनै व्यक्ति विशेषको प्रयासबाट सम्भव नहुने बताउँदै “बलियो संगठनका लागि एकता, अनुशासन, जिम्मेवारीबोध र निरन्तर सक्रियता अनिवार्य छ” भन्नुभयो । उहाँले काभ्रेमा पार्टी संगठनलाई केवल नाममा सीमित नराखी जनताको सुख–दुःखमा साथ दिने, जनताको आवाज उठाउने र जनताको भरोसा जित्ने संगठनका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

काभ्रेमा नयाँ राजनीतिक यात्राको संकल्प
बैठकले संगठनलाई कागजमा मात्र सीमित नराखी जनताको बीचमा लैजाने, संगठनलाई वडा तहसम्म विस्तार गर्ने, नयाँ पुस्तालाई राजनीतिमा जोड्ने, सक्षम र जिम्मेवार नेतृत्व विकास गर्ने तथा जनताका मुद्दालाई प्राथमिकताका साथ उठाउने निष्कर्ष निकालेको छ ।

उज्यालो नेपाल पार्टी काभ्रेले आगामी दिनमा थप सक्रिय र योजनाबद्ध रूपमा अघि बढ्ने निर्णय गरेको छ। बैठकले काभ्रेमा संगठन बलियो बनाउने, जनताको विश्वास जित्ने र उज्यालो राजनीतिक विकल्प स्थापित गर्ने संकल्प गरेको छ । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर