उर्जा-प्रविधि

६० औं बाल दिवसः मण्डनदेउपुरमा नगरस्तरिय अन्तर मावि विज्ञान सामग्री प्रर्दशनी 

milijulikhabar

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले राष्ट्रिय बाल दिवस भब्य रूपमा मनाएको छ । 

 

नगरपालिकाले नगरप्रमुख टोक बहादुर वाईबाको प्रमुख आतिथ्यता र डेडीथुम्का माध्यामिक विद्यालयको बाल क्लबका अध्यक्ष एलिशा परियारको अध्यक्षतामा एक भब्य समारोहकाबीच ६० औं राष्ट्रिय बाल दिवस आज मनाएको हो । 

कुन्ताबेशिबाट र्याली निकालिएको थियो । हिगुवापाटीसम्मको उक्त विशाल र्यालीमा बालबालिकाहरूसंगै नगरप्रमुख वाईबा, उपप्रमुख विष्णुमणि नेपाल, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटा, वडाध्याक्षहरू, कार्यपालिका सदस्यहरू पनि मिसिए । उक्त र्याली नगरस्तरीय अन्तर माध्यमिक विद्यालय विज्ञान प्रदर्शनी प्रतियोगितामा परिणत भएको थियो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको प्रदर्शनी प्रतियोगिताको संयोजन विज्ञान शिक्षक समाज नेपाल मण्डनदेउपुर नगरपालिका कार्यसमितिले गरेको हो । 

प्रदर्शनीमा नगरपालिकाभित्रका १५ वटा माध्यमिक विद्यालयको सहभागिता थियो । प्रदर्शनमा १३ वटा सरकारी र २ वटा संस्थागत विद्यालयका १०३ जना विद्यार्थी सामेल भएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत लोकेन्द्र विष्टले जानकारी दिनुभयो । 


प्रयोगिताको मुल्याङ्कन केयूका रमाकान्त लामिछाने, बलराम पोखरेल र गणेश कुँवर क्षेत्रीले गर्नुभएको थियो । प्रतियोगितामा बागदेवी मावि ८३ अंक ल्याएर प्रथम भएको छ । उसले १५ हजार नगद पुरस्कार प्राप्त गरेको छ ।  

 

८० दशमलब ६६ अंकका साथ डेडीथुम्का मावि महादेवस्थान दोस्रो हुँदा ८० अंक प्राप्त गरेर बालुवा मावि तेस्रो भएको छ । डेडीथुम्का माविले नगद १२ हजार र बालुवा माविले १० हजार नगद पुरस्कार प्राप्त गरेको शाखा अधिकृत विष्टले बताउनुभयो ।  

 

प्रतियोगितामा इन्द्रावती मावि ज्याम्दी सान्त्वना भएको छ । ६६ अंक ल्याएर सान्त्वना भएको इन्द्रावती माविले नगद ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । विज्ञान सामग्रीको प्रदर्शनी नगरप्रमुख वाईबा सहितका जनप्रतिनिधिले निकै चाख पुर्वक अवलोकन गरेका थिए । १५ वटा विद्यालयले विज्ञानका आ–आफ्नो सामग्री छुट्टा छुट्टै प्रदर्शन गरेका थिए । 

विज्ञान प्रदर्शनीको अवलोकन पछि नगरप्रमुख वाईबाले शिक्षाको क्षेत्रमा नगरपालिकाले गरेको लगानीको प्रतिफल क्रमशः आउनेक्रम जारी रहेको बताउनुभयो । साथै उहाँले नगरपालिकाभित्रका कोही पनि बालबालिका शिक्षाको पहुँचबाट टाढा रहने अवस्थाको अन्त्य गर्न शिक्षासंग सम्बध नगरपालिकाका सबैलाई निर्देशन दिनुभयो । 

‘हामी हाम्रो नगरपालिकाभित्रका कुनै पनि बालबालिका पढ्नबाट बञ्चित नहुने भन्ने पक्षमा छौं । पढ्न पाउने सबै बालबालिकाको अधिकार हो । यो अधिकारलाई कुनै पनि बहानामा कतैबाट पनि रोक्ने काम नहोस् । बाल श्रम र बालबालिकामाथि हुने हिंसा सादाका लागि बन्द गर्न जरुरी छ ।’ नगरप्रमुख वाईबाले भन्नुभयो । 

कार्यक्रममा उपप्रमुख विष्णुमणी नेपालले विज्ञान जीवनसँग जोडिएकाले यसलाई थप ब्यवसारिक बनाउन आवश्यक रहेको बताउनुभयो । प्रवक्ता एवं वडा नम्बर ३ का वडाध्याक्ष पुरुषोत्तम बजगाई, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटा लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

 

कार्यक्रममा विभिन्न विद्यालयका बालबालिकाहरुले कविता वाचन तथा नृत्य प्रस्तुत गरेका थिए ।  

 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर