उर्जा-प्रविधि
केयू र बुद्धभूमि हाइड्रोपावरबीच ग्रीन हाइड्रोजन उत्पादनको अध्ययन गर्न सम्झौता
नेपालमा पहिलोपटक निजी क्षेत्रको जलविद्युत् आयोजनाले हाइड्रोजन उत्पादनका लागि अध्ययन प्रक्रिया अघि बढाएको छ ।
नुवाकोटमा रहेको बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले काठमाडौं विश्वविद्यालय (केयू) सँग ग्रीनन हाइड्रोजन उत्पादनका लागि अध्ययन गर्न शुक्रबार एक सम्झौतामा हस्ताक्षर गरेको हो ।
यसअघि काठमाडौं विश्वविद्यालयले धुलिखेलस्थित विश्वविद्यालयको कम्पाउन्डभित्रै हाइड्रोजन ल्याब स्थापना गरी २०७९ मा हाइड्रोजन उत्पादन सुरु गरेको थियो । पछिल्लो समय केयूले हाइड्रोजनबाट चल्ने कारमा रिफ्युलिङसमेत गरिसकेको छ । तर, निजी क्षेत्रबाट भने यसअघि ग्रीन हाइड्रोजन उत्पादनका लागि कुनै पनि कम्पनी अघि बढेका थिएनन् ।
बुद्धभूमि हाइड्रोपवार कम्पनीले नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिकामा सञ्चालनमा ल्याएको ५ मेगावाट क्षमताको तल्लो ताँदी जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई हाइड्रोजन उत्पादनमा प्रयोग गर्नेगरी केयूसँग मिलेर अध्ययन प्रक्रिया अघि बढाएको बुद्धभूमि हाइड्रोपावर कम्पनीका निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का महासचिव बलराम खतिवडाले बताउनुभयो ।
दुई पक्षबीच भएको तीनबुँदे सम्झौतामा ग्रीन हाइड्रोजन उत्पादन गर्न केयूका प्राविधिकले तीन महिना सम्भाव्यता अध्ययन गर्ने र अध्ययनअनुसार प्रतिवेदनका आधारमा जलविद्युत् परियोजनाको क्षमता अनुसार उत्पादन सुरु गर्ने बताइएको छ ।








