समाचार
केयूमा वातावरणीय दिगोपन, भूकम्प प्रतिरोधी र युवा सशक्तिकरणका लागि सेमिनार
वातावरणीय दिगोपन, भूकम्प प्रतिरोधी र युवा सशक्तिकरण सम्बन्धि सेमिनार सम्पन्न भएको छ ।
काठमाडौं विश्वविद्यालय (केयु) को एकेडेमिया इन्डस्ट्री कोअपरेसनले वातावरणीय दिगोपन, भूकम्प प्रतिरोधी र युवा सशक्तिकरणका लागि नेपाल–जापान सहकार्यमा सेमिनार आयोजना गरेको हो ।
एकेडेमिया इन्डस्ट्री कोअपरेसनले जापानको टाइगर मोभ इंकसँग साझेदारी गरेर सेमिनार गरेको कोअपरेसनका संयोजक डा.राम लामाले जानकारी दिनुभयो । डा. लामाका अनुसार नेपाल र जापानका विज्ञहरू, शिक्षाविद्हरू र विद्यार्थीहरूलाई सहभागि सेमिनारले फोहोर व्यवस्थापन, भूकम्पको पूर्वतयारी, नवीकरणीय ऊर्जा र युवा सशक्तिकरण जस्ता महत्वपूर्ण विषयहरूमा छलफल र ज्ञान बाँड्न मद्दत पुगेको छ ।

सेमिनारमा र केयुको रिसर्च डेभलपमेन्ट एण्ड इनोभेसन (आरडीआई) का निर्देशक ब्रिजेश अधिकारी, टाइगर मोभ इंक, जापानका प्रतिनिधिहरु शुतो फुरुकावा, मिस नेपाल वर्ल्ड (२०१५) इभाना मानन्धर सहित जापानका १० भन्दा बढी विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरुको सहभागिता रहेको छ । सेमिनारमा केयुका विद्यार्थी समेत सहभागि थिए ।
सेमिनारले वातावरण, भूकम्प प्रतिरोधी क्षमता, पूर्व तयारी र युवा सशक्तिकरणलाई सम्बोधन गर्न नेपाल–जापान सहकार्यलाई सुदृढ पार्ने दिशामा महत्वपूर्ण कदमको रूपमा भुमिका खेलेको केयुका पिएचडी स्कलर लक्ष्मण लामाले बताउनुभयो ।

सेमिनारले नेपालको सन्दर्भमा जापानका उन्नत अभ्यासहरूलाई एकीकृत गर्ने महत्वलाई जोड दिनुका साथै नवप्रवर्तन र दिगो विकासमा युवाहरूको भूमिकालाई उजागर गरेको (आरडीआई) का निर्देशक अधिकारीले बताउनुभयो ।
सेमिनारले युवा सशक्तिकरणका साथै नवीकरणीय ऊर्जामा विशेष ध्यान केन्द्रित गरेको मिस नेपाल वर्ल्ड (२०१५) मानन्धरले बताउनुभयो । सेमिनारले नेपाल–जापान सहकार्यको अपार सम्भावनालाई उजागर गरेको छ । नेपालले जापानको फोहोर व्यवस्थापन र भूकम्पीय पूर्वतयारीको उन्नत दृष्टिकोणबाट धेरै कुरा सिक्न सक्छ । यी उपायहरूलाई अनुकूलन र एकीकृत गरेर समुदायहरूलाई सुरक्षित राख्न समेत प्रेरित गरेको छ ।






