अन्तर्वार्ता

एमाले उपमहासचिव गुरुङ भन्छन्– विद्या भण्डारी राजनीतिमा नफर्किएकै राम्रो

milijulikhabar

 


नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीभित्र सबै निर्णय गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिनु गल्ती भएको जनाएका छन् । ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत लिँदै गर्दा संसदमा संसद विघटनको पक्षमा भाषण गरेर ‘बेमौसमी बाजा’ बजाएको उनको भनाइ छ । रातोपाटी अनलाइन टिभीको ‘वारापार’ कार्यक्रममा नेता गुरुङले राष्ट्रपतिको भूमिका निर्वाह गरिसकेकी विद्या भण्डारी अब सक्रिय राजनीतिमा आउन नहुनेसमेत बताए । पुस १० मा बनेको एमाले नेतृत्वको गठबन्धन भत्किनुमा एमालेको पनि कमजोरी रहेको उल्लेख गर्दै गुरुङले नेताहरुले कार्यशैली, आचरण र व्यवहार परिवर्तन गर्नुपर्ने तर्कसमेत गरे । प्रस्तुत छ, गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंश–

पुस १० मा एमाले र माओवादीसहितको समीकरण बनाउन तपाईले पनि धेरै प्रयत्न गर्नुभएको थियो तर त्यो समीकरण एकाएक टुट्यो । त्यसबारे पार्टीभित्र अहिलेसम्म कुनै समीक्षा पनि भएको देखिँदैन नि ?


मंसिरको चुनावसँग वैशाखको चुनाव पनि जोडिन्छ । वैशाखको चुनावमा उनीहरु (माओवादी) लाई कांग्रेसले विभिन्न ठाउँमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको मेयर, उपमेयरमा लता¥यो । माओवादीले टिकट पाएका ठाउँमा पनि भोट नहाल्ने ग¥यो । साना पार्टी माधव नेपाल, लोसपा लगायतका दलको पीडा पनि त्यस्तै छ । त्यसकारण चुनावमा कांग्रेससँग गठबन्धन गरेर माओवादीलाई फाइदा छैन भन्नेमा भुक्तभोगी भइसकेको थियो । त्यसैले यो गठबन्धन छोड्नुपर्छ भन्नेमा माओवादी पुगेको थियो ।


पछिल्लो प्रदेश र प्रतिनिधि सभाको चुनावमा पनि माओवादी ५२ बाट ३१ सिटमा झ¥यो । यस्तो परिस्थितिबाट वामपन्थी र देशभक्तबीच गठबन्धन गर्नुपर्छ भन्ने बहस चलेको थियो । दोस्रो कुरा, माओवादीभित्रको देशभक्त शक्तिहरु आफ्नो जे गुण, धर्म छ, त्यो गुमाएर के राजनीति गर्नु ? वर्गीय प्रतिस्पर्धीलाई नेता मानेर कसरी समाजवादमा पुग्न सकिन्छ ? त्यो गलत छ भन्ने शक्ति हावी भएर हामीसँग छलफल र संवाद गरेर कांग्रेससँगको गठबन्धन टुटेको हो । त्यसमा ‘ट्याक्टिकल्ली’ हामी लागेका थियौँ । यो काम गर्दा हामीले कसैलाई थाहा पनि दिएका थिएनौँ । हामीले हल्लाखल्ला गरेका थिएनौँ ।

 

वाम गठबन्धन बनाउनुपर्छ भनेर सुरुका दिनमा भनेबाहेक कोसँग वार्ता, छलफल भइरहेको छ र प्राविधिक रुपमा कुन टीमले के के गरिरहेको छ भन्ने नै कसैलाई थाहा थिएन । त्यही भएकाले अरुले बिचैमा जालझेल गर्ने मौका पनि पाएनन् र पुस १० को सहमति गर्न हामी सफल भयौँ ।

 

तर त्यो गठबन्धन टिक्न त सकेन नि ? टिक्न नसक्नुका कारण के के हुन् ?

त्यो गठबन्धन टिक्न नसक्नुका दुईतीन वटा कारण छन् । पहिलो कुरा, हाम्रो त्यो गठबन्धन स्वाधीनताको पक्षमा थियो । त्यसकारण स्वाधीनताविरोधीहरु वा देशलाई माया नगर्ने देशभित्रकै शक्तिहरुका कारणले र नेपालको भूराजनीतिमा आफ्नो शक्ति विस्तार गर्न चाहने शक्तिहरुले नेकपा एमाले नेतृत्वको गठबन्धनलाई अवरोध ठान्यो । उनीहरु सुरुका दिनदेखि तोड्न, अविश्वास पैदा गर्न लागि परे ।

 

त्यसकारण हाम्रो गठबन्धन भत्काउन पहिलो त विदेशी शक्ति लागे, दोस्रोमा नेपालका स्वाधीनताविरोधी शक्ति लागे । तेस्रो, हामी जोसँग गठबन्धन गर्दै थियौँ, त्यहाँ अवसरवादी पनि थिए । अवसरवादको भद्दा नमुना छ भन्ने कुरामा हामीले हेक्का राख्नुपर्थ्यो । यो शक्ति अस्थिर छ भन्ने हामीले पनि बुझ्नुपर्थ्यो त्यसमा हाम्रो पनि कमजोरी रह्यो । जसले गर्दा माओवादीभित्रको ‘एमालेसँग होइन, कांग्रेससँग मिल्नुपर्छ’ भन्ने शक्तिले बल पायो ।

 

तपाईको विश्लेषणमा एमाले नेतृत्वको गठबन्धन नटिक्नुको मुल कारण एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्ड नै दोषी हो भन्दा हुन्छ ?

पहिलो कारण हाम्रो अध्यक्ष भन्न मिल्दैन । मैले अघि नै कोट गरेको छु कि यहाँको सारा भूराजनीतिक परिस्थितिमा आफ्नो शक्ति विस्तार गर्ने शक्तिहरुले सारै ठुलो दबाब सिर्जना गरे ।

 

के उनीहरुले प्रचण्डलाई प्रयोग गरे ?

सारै ठुलो दबाब सिर्जना गरे । त्यो अवसरवादी आफैमा विष्फोटक वा ज्वालामुखीको लाभामाथि बसिरहेको शक्तिलाई बेलाबेलामा कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्ने हामीले सोच नै बनाएनाैँ ।

 

त्यो शक्ति जसलाई तपाई संकेत गर्दै हुनुहुन्छ, त्यसलाई निभाउने भन्दा पनि एमाले अध्यक्ष ओलीले घ्यु थप्ने काम गर्नुभयो ?

ज्वालामुखीमाथि बसिरहेको जो थियो, उसलाई त्यहाँबाट निकाल्नुपर्थ्यो । त्यसो गर्न हामीलाई समय पनि अभाव भयो । यसबाट प्रचण्डजी प्रधानमन्त्री त बन्नुहोला तर ठुलो अवसर गुमाउनुभयो । भविष्यको हिसावले त्यो पार्टीप्रति नेपाली जनताले विश्वास गर्नुपर्ने अवस्था रहेन । जसले दबाब दिएर यो अवस्थामा ल्याएको छ वा प्रयोग गरिरहेको छ, उसले पनि अब यो धेरै काम लाग्ने रहेनछ भनेर बुझिसके ।

 

तपाईहरुसँग समीकरण गर्दा देशभक्ति हुने, अन्त जाँदाचाहिँ विदेशी शक्ति भन्न मिल्छ ?

किन मिल्दैन त ? हाम्रो स्वाधीनताको मुद्दा भनेको त नाकाबन्दीका बेला सामनाको कुरा होला, त्यो कसले ग¥यो ? नाकाबन्दी नै भन्न नसक्नेहरु राष्ट्रवादी शक्ति हुन्छ ? कांग्रेसले नाकाबन्दी भन्न सक्यो त ? सकेन । नाकाबन्दीका बेला त प्रधानमन्त्री कांग्रेसकै सुशील कोइराला हुनुहुन्थ्यो । अनि कांग्रेस र एमालेबीच देशभक्तिपूर्ण आन्दोलनको तुलना हुन्छ ? नेपालको पूर्ण नक्सा बनाउने कामको नेतृत्व गरेको पनि हामीले, आफ्नो संविधान आफ्नै किसिमले बनाउनुपर्छ भनेर अडान राखेको पनि हामीले । यस्तो अडान राख्ने एमालेसँग कांग्रेस, माओवादीको तुलना हुन्छ र ? हुँदैन ।

 

त्यसो भए समीकरण टुट्नुमा एमालेको कुनै कमजोरी रहेन त ?

रह्यो होला ।

 

तपाईको पार्टी अध्यक्षले संसदमा सम्बोधन गर्दा संसद विघटन ठिक हो भनेर सम्बोधन गर्ने, सरकारका निर्णयमा हस्तक्षेप गर्ने, त्यसको विश्लेषण गर्नुपर्दैन ?

कहिलेकाहीँ सत्य कुरा पनि बेठिक समयमा बोलियो भने असर राम्रो हुँदैन । त्यसकारण विश्वासको मत दिने बेलामा प्रतिनिधिसभा भङ्ग गर्नु ठिक बेठिक थियो भनेर भन्नुपर्ने प्रशंग नै थिएन । कसैले भने पनि त्यो नभन्नुपर्थ्यो । उनीहरुले त्यो हतियार प्रयोग गरे । हेर त, यो गठबन्धनको नाइके पार्टीको अध्यक्षले फेरि संसद भङ्ग हुनसक्छ, त्यो उपयुक्त हो भन्यो भन्ने मौका पाए । प्रतिनिधि सभा भङ्ग गर्नु प्रतिगमनकारी घटना हो भनेर हिजोका दक्षिणपन्थीसँग एकजुट हुन गएका वामपन्थीहरुमा पनि उनीहरुको त्यो कुरा फेरि पुष्टि नहुने भो नि ! त्यसकारण बेमौसमको बाजा बजाउने कुराले पनि काम ग¥यो ।

 

राष्ट्रपतिको चुनावपछि त माओवादीका नेताहरुसँग खासै कुरा भएको छैन तर त्योभन्दा अघि कुरा हुँदा तपाईको अध्यक्षले यसो भन्नुभयो, के फेरि पनि संसद विघटन गर्ने कुरा हो कि के हो भनेर आशंका गर्नुहुन्थ्यो, त्यो आशंकामा बल मिल्यो ।

 

अर्कोतिर विष्णु पौडेल र पीएस गुरुङहरुले त्यो समीकरण बनाउन लागेका हुन् । उनीहरुको त्यो मेहनतले समीकरण बनेको र केपी ओली त्यो बाध्यतामा परेका हुन् । तपाईहरुको समूहलाई एमालेमा संस्थापन इतर समूह पनि मानिन्छ । अनि यिनीहरुले बनाएको समूह किन बाँकी राख्ने ? कतिपय मानिसहरुले भन्ने गरेका छन् नि ?

यो अनुमानको कुरामात्रै हो । विष्णु पौडेल, पृथ्वी सुब्बा, सुवास नेम्वाङहरु प्रतिनिधि सभामा प्रतिपक्ष र अध्यक्ष लगायत अरु सत्तापक्ष भन्ने कुरा होइन । सौराहामा भएको महाधिवेशनमा अध्यक्षले पेस गरेको प्रस्ताव पास भएर नेतृत्व चयन गरेको हो । त्यसमा भीम रावल र घनश्याम भुसालजीहरुले मान्नुभएन, त्यो बेग्लै पाटो हो । बरु के हो भने पृथ्वी सुब्बा गुरुङ तपाईहरु सबैलाई थाहा छ– देखेको कुरा बोल्छ ।

 

यही कारण तपाईहरुले अध्यक्षको विरोधीजस्तो देखाउने कुरा गरे पनि त्यो होइन । विष्णु पौडेल र पृथ्वी सुब्बाको पहलले बनाएको गठबन्धन किन टिकाउने ? भनेर कसैले भन्यो भन्ने मलाई लाग्दैन । यही कुराबाट प्रेरित भएर अध्यक्षले संसदमा संसद विघटनको कुरा गरेको होइन । अध्यक्षको सहमति र रायबाटै हामीले गठबन्धन वा समीकरण बनाउने काम गरेका हौँ । र, अध्यक्षले पनि के महसुस गर्नुभएको थियो भने हाम्रो पार्टी लोकप्रिय रुपमा जनताले मन पराएको पार्टी भए पनि दक्षिणपन्थी गठबन्धनका कारणले गर्दा हामी प्रत्यक्षमा अंकगणितका हिसाबले त हा¥यौँ, उनीहरुलाई पनि बहुमत त दिएनन् । त्यसकारण दक्षिणपन्थी गठबन्धनलाई पनि जनताले स्वीकारेन, अनुमोदन गरेन । हामीलाई पहिलो पार्टी बनाउने वा बहुमत दिने परिस्थिति बनेन । त्यसकारण शक्ति सन्तुलनको हिसाबले सुशासन, विकास र मुलुकको स्वाधीनताको रक्षाको विरुद्धमा दक्षिणपन्थी गठबन्धन उभिएकाले यसलाई तोड्नुपर्छ भन्ने कुरामा उहाँ (अध्यक्ष)को सैद्धान्तिक सहमति थियो । यो तोडौँ र अस्थिर राजनीतिलाई स्थिरतातिर ल्याउँ भनेर नै हामीले काम गरेको हो ।

 

एमाले बैठकहरुमा तपाईहरु जस्ता केही नेता अध्यक्षसँग मन बझाउनु हुन्छ भन्ने सुनिन्छ । यद्यपि बैठकमा अध्यक्षले जे भन्नुहुन्छ, त्यही पास हुन्छ । यो पार्टीमा कमिटीगत प्रणाली कहिले बस्ला ?

कुनै पनि निर्णय पार्टीले गरेको होइन भन्ने कुरा सही होइन । किनभने महाधिवेशनबाट फर्किएपछि केन्द्रीय कमिटी बैठक बसेको छ । केन्द्रीय कमिटी बैठकबाटै स्थायी कमिटी, पोलिटब्युरो, प्रदेश कमिटी बनाउने र पदाधिकारीको बरीयता पनि कायम गरेका हौं ।

 

प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय तपाईको कुन कमिटीबाट भएको थियो ?

हाम्रो सचिवालय बैठकबाट माओवादीसँग सहकार्य गरेर जाने निर्णय भएको छ । प्राविधिक कुराहरु व्यक्तिले गरे पनि निर्णयहरु कमिटीबाटै भएको छ । हाम्रो पार्टीमा गुटसुट पनि छैन । न माथि डाँक्रो, न तल लहरो पनि छैन । त्यसैले प्रतिवेदन तयार पार्ने जिम्मा अध्यक्षलाई दिने र अध्यक्षले तयार पारेको प्रतिवेदन महासचिवले बैठकमा पेस गर्नुहुन्छ । त्यसमाथि छलफल हुन्छ । हामी सिस्टममै गएका छौं । तर अध्यक्षलाई अधिकार दिँदा ठिक भएन कि भन्ने लागेको छ । कमिटीमा छलफल गरेर निर्णय गर्दा राम्रो हुन्छ भन्ने लागेको छ ।

 

अनि माधव नेपाललाई राष्ट्रपति बनाउने निर्णय कसरी भयो ?

माधव नेपालाई राष्ट्रपति बनाउने विषय सचिवालय बैठकमा छलफल भएको होइन । आन्तरिक छलफल भएको थियो । एमाले विभाजन गरेर बनेको एकीकृत समाजवादीलाई जनताले अस्वीकार गरेपछि त्यहाँ व्यापक निराशा छ । १० वटा सांसद जितेको उसलाई यही कोर्समा हाम्रो पार्टीसँग मिलाउनुपर्छ भन्ने छलफल भएको हो । यो अहिले पनि चलिरहेको छ । पार्टीलाई एकताबद्ध राख्न नसक्ने कुरामा हाम्रो पनि कमजोरी भएको थियो । त्यो पाटीलाई मिलाइयो भने हाम्रो पार्टी कांग्रेसभन्दा ठूलो हुन्छ । संसदको सबैभन्दा ठूलो पार्टीका रुपमा प्रतिपक्षीमा बस्दा पनि त्यसको एउटा महत्त्व हुन्छ । यो समीकरण तलमाथि हुँदा पनि लार्जेस्ट पार्टीका रुपमा हाम्रो सरकार बन्छ । यो गठबन्धन तलमाथि हुने अवस्थामा पार्टी एकता गरेर माधवजीलाई प्रधानमन्त्री बनाएपनि हुन्छ । कांग्रेस र माओवादी बाहेकलाई जुटाउन सकियो भने त्यो सम्भव पनि छ । हामीजस्ता मान्छेले यसो गर्दा पनि हुन्छ भनेका छौं ।

 

सरकारको विभिन्न विकल्पमा जान पनि सकिन्छ । अस्थिर राजनीतिलाई स्थिर रुपमा लैजान कांग्रेस र एमाले पनि मिल्न सकिन्छ । तर यो ठाउँमा अहिले नै मुलुक जाँदैन । तर मैले भनेको छु– यो पनि एउटा विकल्प हो ।


यसबारे कांग्रेससँग कुरा भएको छ ?

कुरा भएको छैन । हैरान भयो, कांग्रेस र एमाले मिलौं भनेर मैले पार्टीभित्र कुरा उठाएको छु । 

 

एमालेका निर्णय दुरदर्शी नभएको जस्तो देखिन्छ । माओवादीसँगको समीकरण दुई महिनामै टुङ्गियो । अहिले संसदमा भएको एउटा पनि दल एमालेको साथमा छैन । यो असफलता हो कि होइन ?

दुरदर्शी निर्णय नगरेर माओवादीसँगको गठबन्धन टुट्यो भन्ने होइन । के अहिले कांग्रेस र माओवादीले गरेको निर्णय दुरदर्शी हो त ? हाम्रो निर्णय दुरदर्शी होइन भन्दा पनि कार्यशैलीमा केही कमजोरी छ । हामीले गठबन्धनका सबै दलसँग न्यायोचित सम्बन्ध गर्न सकेनौं कि भन्ने प्रश्न छ । जुन दललाई हामीले गाली गरेका छैनौँ, उनीहरुले पनि किन धोका दिइरहेका छन् भनेर सोच्नुपर्ने बेला आएको छ । हाम्रो व्यवहार र शैलीमा अलिअलि सच्याउनुपर्छ ।

 

तपाईले अरुलाई दक्षिणपन्थी भनिराख्नु भएको छ । तपाईहरुले सबैभन्दा बढी माया राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गरिराख्नु भएको छ । के त्यो प्रगतिशील पार्टी हो ?

राप्रपालाई कुनै पनि हिसाबले प्रगतिशील पार्टी बन्न मिल्दैन । राष्ट्रियताको सवालमा कांग्रेसभन्दा राप्रपा राष्ट्रवादी हो । जसपा र लोसपा प्रगतिशील शक्ति हुन् । एमालेको नेतृत्वमा प्रगतिशील र राष्ट्रवादी शक्तिको गठबन्धन बनेको थियो । यो दुरदर्शी निर्णय थियो । यसलाई भूराजनीतिक तत्वहरुले भत्काउने काम गरे ।

 

तपाईको पार्टीका केन्द्रीय सदस्य राजा बोकेर हिँड्नुभयो । तपाईहरुले अराए–खटाएको हो ?

दुर्गा प्रसाईलाई केन्द्रीय समितिमा मनोनित गर्ने कुरा गलत थियो । अहिले हामीलाई त्यो महसुस भएको छ । उहाँलाई हामीले अराएको होइन । केपी ओलीले नै दुर्गा प्रसाईलाई खटाएको भन्ने कुरामा एक प्रतिशत पनि सत्यता छैन ।

 

राष्ट्रपति निर्वाचनमा त्यो हालत भइहाल्यो, उपराष्ट्रपतिको निर्वाचनमा के अपेक्षा छ ?

उपराष्ट्रपतिमा धेरै आशा गर्नुपर्ने ठाउँ कहाँ छ र ? तै पनि उम्मेदवारी त दिनुप¥यो ।

किन दिएको त उम्मेदवारी ?

चुनाव जित्नलाई मात्रै लड्ने हो र ?

 

हिजो जनजातिको नाममा सुवास नेम्वाङलाई बलिको बोको बनाउनुभयो, अहिले महिलाका नाममा अष्टलक्ष्मीलाई ? फेरि जनजाति र महिलाको मुद्दा उठाउनुहुन्छ, उता सचेतक, प्रमुख सचेतकमा कस्ता मान्छे छिरे ?

मैले अघि नै भनेँ नि, हाम्रो (एमाले नेताहरुको) आचरण, व्यवहार र शैलीमा सुधार्नुपर्छ भनेर । त्यही सुवास नेम्वाङलाई सुरुमा प्रचण्डसँग राष्ट्रपतिमा प्रस्ताव गरेको भए हुन्थ्यो भन्ने मेरो आफ्नो छुट्टै मूल्याङ्कन हो । सुवासचन्द्र नेम्वाङ भएको भए के हुन्थ्यो त ? खस आर्यबाट भइसकेको थियो । मधेसी र महिला पनि भइसकेको थियो । आदिवासी समूहबाट नेम्वाङ राष्ट्रपतिमा आउँदा सबैभन्दा राम्रो हुन्थ्यो । राष्ट्रपति भनेको राष्ट्रिय एकताको प्रतिक हो ।

 

प्रचण्डको भनाइ अनुसार त्यसमा त तपाईकै अध्यक्ष बाधक हुनुभयो नि त ?

बाधक बन्या हो कि अध्यक्षसँग सहमति गर्दा अर्को अध्यक्षले नमानेको हो, यो कुरा मलाई थाहा छैन । तर नेताहरु यसमा कहीँ न कहीँ चुकेका छन् । कमजोरी भएको छ । सुरुमा सुवास नेम्वाङ उम्मेदवार बनाउन कसले छेक्या थियो र ? हामीले त्यहाँ पनि आनकानी ग¥यौँ । उपराष्ट्रपतिमा पनि अष्टलक्ष्मी शाक्यजस्तो मान्छेसँग अरुको तुलना हुन्छ ? उहाँहरुको पनि उमेर र योग्यता त पुगेको होला ! त्यसैले एमाले पार्टीले पार्टी सुध्रिनुपर्छ ।

 

सुवास नेम्वाङलाई राष्ट्रपति बनाउन सबैभन्दा ठूलो बाधक तपाईको पार्टी अध्यक्ष हुनुभयो हैन ?

प्रधानमन्त्री, राष्ट्रपति र मुख्यमन्त्री समावेशी पद होइन । तर मुख्यमन्त्री त एउटामात्र छैन । सात वटा छ । त्यसमा समावेशी हुनुपर्छ कि पर्दैन ? एक जना महिला छ ? एक जना जनजाति छ ? एक जना दलित छ ? छैन । सबै एउटै समुदायको मान्छेमात्र मुख्यमन्त्री बनेको छ । एमालेले यो शैली सुधार गर्नुपर्छ । नसुधारेर सुखै छैन । हामीले प्रमुख सचेतक र सचेतक बनायौं । हाम्रो विधानले दलको नेतालाई प्रमुख बनेको छ । दलको नेताले विवेक पु¥याउनुपर्छ कि पर्दैन ? महिला र पुरुष हुनुपर्ने होला । समुदाय पनि मिलाउन सकिन्थ्यो । एमालेमा जनजाति, मधेसी, मुस्लिम र दलितको कुनै माननीय छैन त ? हाम्रो नेताले संघीयताको मोडल अनुसार काम गरेको छैन । यसमा एमालेले गल्ती गरेको छ । नसुध्रि हुँदैन ।

 

यो सुध्रिने कसरी ? तपाईको मुल नेतृत्व समावेशी विरोधी छ । अहिलेकै नेतृत्वबाट सुध्रिदैन भन्छन् नि ?

नेतृत्वलाई सुध्रिनका लागि सचिवालय, स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटी पनि सुध्रिनुपर्छ । नेतालाई आफ्नो कुरा भन्न नसक्ने सबै अवसरवादी भए । पद जान्छ, अवसर पाइँदैन भनेर नबोल्ने ? यस्ता अवसरवादीबाट पार्टी चल्न सक्छ ? कांग्रेस, माओवादी र एकीकृत समाजवादीलाई किन गाली गर्ने ? उसको जे आचरण र व्यवहार हुन्छ, हाम्रो पनि त्यही हुन्छ भने नेकपा एमाले कसरी श्रेष्ठ पार्टी हुन्छ ? हामी अरुभन्दा श्रेष्ठ पार्टी हो भनेर दाबा गर्छौं, त्यही अनुसारको व्यवहार हुुनुप¥यो ।

 

भर्खरै राष्ट्रपति पदबाट विद्यादेवी भण्डारी बिदा हुनु भएको छ । उहाँ राजनीतिमा सक्रिय हुने भन्ने कुरा सुनिन्छ । सक्रिय हुँदा एमालेमै हुने होला उहाँ । एमालेको आगामी अध्यक्ष उहाँ नै हो ?

एमालेको आगामी अध्यक्षमा उमेरको हद कट्यो भने केपी ओली नै हुन्छन् नि । अरु के के हुन्छ, भविष्यको कुरा हो । मलाई तपाई अध्यक्षको दाबेदार हो भनेर किन प्रश्न नगर्नु भएको ? म पनि त हुन सक्छु ।

 

तपाईलाई दिँदैनन् होला नि ?

मलाई उम्मेदवार हुन केले रोक्न सक्छ ? कार्यकर्ताले भोट हाल्ने हो ।

 

तपाईलाई भीम रावल, घनश्याम भुसाल बनाइदिन सक्छन् नि ?

सधैँ त्यसरी चल्दैन पार्टी । त्यसले कति नोक्सान पु¥यायो भन्ने कुरा बुझ्नुपर्दैन ? ती साथीहरु पनि त्यस्तै । उपाध्यक्ष खाएर बस् न त भन्दा नमान्ने ।

 

घनश्याम भुसालजस्तो एमालेको नेतालाई एमालेकै प्रतिनिधिले सात–सात जना उपाध्यक्षमा भोट हाल्दा पनि रोज्दैनन्, त्यो त देखियो नि ?

कसलाई भोट हालेनन् भन्दा पनि प्रतिनिधिहरुले विवेक प्रयोग गरे ।

 

त्यसो भए ११ औं महाधिवेशनमा पृथ्वी सुब्बा गुरुङ एमालेको अध्यक्षको प्रतिस्पर्धी ?

अहिले हतारो किन गर्नु ? विद्यादेवी भण्डारी पार्टीमा फर्किने कुरा उठाउनु भयो । पार्टीमा फर्किने चाहना भएरमात्र हुँदैन । पार्टीमा फर्किएर सदस्यमा बस्ने कुरा भएन । पार्टीले पनि यथोचित निर्णय गर्नुपर्छ होला । उहाँलाई राजनीतिमा ल्याउन नसकिने कुरा होइन । उहाँ पार्टीमा किन फर्किनु भनेर बस्न सक्नु हुने भयो । उहाँले व्यक्तिगत निर्णय गर्ने हो । त्यो सबैभन्दा राम्रो निर्णय हो ।

 

उहाँ राजनीतिमा नफर्किँदा राम्रो हुन्छ भन्न खोज्नुभएको हो ?

राष्ट्रपति भइसकेको मान्छे नफर्किँदा राम्रो हुन्छ । एक पटक राष्ट्रपति र उपराष्ट्रपति भइसकेको मान्छे किन फर्किनु ? तर फर्किनु हुँदै हुँदैन भन्ने होइन ।

 

एमाले अहिले जसरी चलिराखेको छ । भोलिका दिनमा पनि यसरी नै चल्छ ?

अहिलेसम्म हामी ठिकै चलेका छौं । अब यो गतिले मात्र हुँदैन । हामीले आचरण, शैली र व्यवहारमा व्यापक सुधार गर्न आवश्यक छ ।

 

 

साभारः राताेपाटीबाट

 

 

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर