विश्व
ईयूका सबै सिफारिस पूरा गरेको युक्रेनको दाबी
युक्रेनका प्रधानमन्त्री डेनिस शमिगलले युद्धग्रस्त आफ्नो राष्ट्रले युरोपेली सङ्घ (ईयू)मा सामेल हुन वार्ता सुरु गर्न दबाब दिइरहेका बेला किभले युरोपेली सङ्घका सबै सिफारिसहरू पूरा गरेको बताएका छन् ।
सन् २०१४ मा ईयू समर्थक क्रान्ति गरेको युक्रेनले एक वर्षभन्दा बढी समयदेखि रूसी आक्रमणको सामना गरिरहेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देश यसै वर्ष युरोपेली सङ्घमा सामेल हुन वार्ता सुरु गर्न योग्य रहेको बताएका छन् ।
युक्रेनले आफ्नो राष्ट्रिय भ्रष्टाचार विरोधी ब्युरोको नयाँ प्रमुख नियुक्त गरेको र यसले ईयूलाई आवश्यक सुधारको एक चरण पूरा गरेको शमिगलले बताए ।
“युक्रेनले ईयूका सातवटै सिफारिस पूरा गरेको छ,” उनले ट्विटरमा लेखेका छन् । “यसले यस वर्ष ईयू प्रवेश वार्ताको सुरुआतमा अगाडि बढ्ने हाम्रो दृढतालाई दर्शाउँछ,” उनले भने ।
उनले ४० वर्षीय सेमेन क्रिभोनोसलाई भ्रष्टाचार विरोधी एजेन्सीको नयाँ प्रमुखमा नियुक्त गरेको घोषणा गरे । क्राइभोनसले यसअघि युक्रेनको सहरी योजना मन्त्रालयको नेतृत्व गरेका थियो ।
रुसले चौतर्फी आक्रमण सुरु गरेको चार महिनापछि ब्रसेल्सले गत वर्ष जुनमा किभलाई ईयू सदस्यका लागि औपचारिक उमेदवारको दर्जा दिएको थियो । तर, ईयूले त्यतिबेला किभले भ्रष्टाचारविरुद्धको लडाइँलाई तीव्रता दिने र ‘कुलीनवर्गको अत्यधिक प्रभाव’लाई सीमित गर्नेलगायत सातवटा सुधारहरू लागु गर्नुपर्ने बताएको थियो । ईयूमा सामेल हुने प्रक्रियामा वर्षौं लाग्न सक्छ ।
युक्रेनको विलयको अन्तिम निर्णय ईयू सदस्य राज्य सरकारहरूमा निर्भर गर्दछ । ईयूका २७ राष्ट्रमध्ये केहीले किभ मस्कोको आक्रमणबाट मुक्त हुन वा आवश्यक लोकतान्त्रिक र भ्रष्टाचार विरोधी सुधार लागु गर्न सक्नेमा सशङ्कित छन् । रासस÷एएफपी








