काभ्रेमा यहि मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेका अनुसार पुस ८ गतेसम्म मतदाता नामावली संकलनको काम हुनेछ ।
निर्वाचन कार्यालयले आज धुलिखेलमा राजनीतिक दल र पत्रकारलाई संगै राखेर अन्तक्रिया समेत गरेको छ । अन्तक्रिया कार्यक्रममा नेकपा एमाले बाहेक नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमोर्चा, मजदुर निकास पार्टी लगायत दलका प्रतिनिधि सहभागि भएका थिए ।
पहिलो चरणमा मंंसिर १७ गतेदेखि २६ गतेसम्म ६ वटा स्थानीय तहमा मतदाता नामावली संकलनको काम हुने जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख उमेश कुमार राईले जानकारी दिनुभयो । बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, बेथानचोक गाउँपालिका, खानीखोला गाउँपालिका र रोशी गाउँपालिकामा मतदाता नामावली संकलनको काम हुनेछ ।
दोस्रो चरणमा मंसिर २८ गतेदेखि पुस १० गतेसम्म चल्ने छ । भुम्लु गाउपालिका, चौरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, महाभारत गाउँपालिका, मण्डनदेउपुर नगरपालिका र नमोबुद्ध नगरपालिकामा मतदाता नामावली संकलनको काम हुने निर्वाचन अधिकृत राईले बताउनुभयो ।
धुलिखेल नगरपालिकामा भने छुट्टै केन्द्र बनाएर मतदाता नामावली संकलन हुने छैन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय पनि धुलिखेल नगरपालिकाभित्रै रहेका छुट्टै केन्द्र नराखिएको हो । २०७७ साल पुसदेखि यताका मात्रै अद्यवधिक हुनेछ ।
मतदाता नामावली संकलन पालिकाको कार्यालयमै हुनेछ ।
राजनीतिक दलका प्रतिनिधिहरुले वडा स्तरमै पुगेर नामावली संकलन गर्न आग्रह गरेका थिए । तर केन्द्रबाटै पालिकामा केन्द्र बनाएर नामावली संकलन गर्ने निर्णय भएकाले वडा वडामा पुगेर संकलन गर्ने सुझाव राम्रो हुँदा हुँदै पनि गर्न सकिएको निर्वाचन अधिकृत राईको भनाई छ ।
सबै पालिकामा १०÷१० दिन मतदाता नामावली संकलन हुनेछ । जिल्लाबाट एक जना फोटो खिच्न कर्मचारी सम्बन्धित पालिकामा पुग्नेछन् । जिल्लाबाट खटिने कर्मचारीलाई पालिकाले सहयोग गर्नेछ ।
जिल्लामा हालसम्म मतदाता संख्या २ लाख ९५ हजार ५ सय ७२ जना रहेका छन् । जसमा महिलाको संख्याको १ लाख ४५ हजार २६२ र पुरुषको संख्या १ लाख ५० हजार ३०९ जना रहेको छ ।
काभ्रेमा २०७४ सालको निर्वाचनमा २ लाख ७२ हजार २९२ जना मतदाता थिए । त्यसयता २३ हजार २८० जना अर्थात् ८.५ प्रतिशत मतदाता थपिएको निर्वाचन अधिकृत उमेश कुमार राईले बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिव पोखरेल सहित जिल्लाका स्थित ४ वाटै सुरक्षा निकाय प्रमुख सहभागि भएका थिए ।
मतदातामा नयाँ नाम थप गर्न के चाँहिन्छ ?
१. नागरिकताको सक्कल ।
२. ब्यक्ति स्वयं उपस्थित हुनुपर्ने ।
३. नागरिकताको स्थायी ठेगाना र हाल बसोबास गरेको ठेगाना (मतदान गर्ने ठेगाना) फरक रहेको अवस्थमा बसाई सरेको कागज वा बिबाह दर्ताको सक्कल प्रमाणपत्र र एक प्रति फोटोकपी पनि पेश गर्ने ।
नामावली एक ठाउँबाट अर्को ठाउँमा सार्न के चाहिन्छ ?
१.मतदाता परिचयपत्र
२.नागरिकता सक्कल र एक प्रति फोटोकपी
३.सानुपर्ने कारणको कागजपत्र, सक्कल र नक्कल दुबै (बसाई सराइको कागज वा बिबाह दर्ताको कागज)
४.मतदाता स्वयं वा निजको परिवारको सदस्यले सार्न निबेदन दिन सक्ने ।
५.एक वडाबाट अर्को वडामा नामावली सार्दा पनि बसाई सराइको कागज चाहिने छ । पहिलेको जस्तो धारा, बत्तिको बिलले सार्न वा नयाँ थप गर्न सकिने छैन् ।
६.नामावली एक ठाउँबाट अर्को ठाउँ जिल्ला निर्वाचन कार्यालयले मात्रै गर्नेछ ।
Facebook Comments