काभ्रेमा काँग्रेसको वडा अधिवेशनदेखिनै दुई गुटबीच पार्टीभित्रै दुई पार्टीको अभ्यास भइरहेको छ । त्यसको मारमा सबैभन्दा बढी जिल्ला सभापति मधु आचार्य र उहाँको समूह परेको देखिन्छ ।
पालिका अधिवेशनमा पनि मधु आचार्य समूहले निकै राम्रो झड्का बेहोर्यो । तर पालिका अधिवेशनको त्यो झड्काबाट यो समूहले कुनै नयाँ रणनीति बनाउन भने नसिकेको प्रष्टै हुन्छ ।
त्यसको ज्वलन्त उहादाहरण प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा लज्जाजनक हार हो । चार वटा प्रदेश निर्वाचन क्षेत्रमा मधु समूहले १ वटा मात्रै सभापति जितेको छ । त्यो पनि निकै कष्टपुर्ण अवस्थामा संघीय निर्वाचन क्षेत्र २ को प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) मा आचार्य प्यानलका सभापति रामहरि श्रेष्ठ विजयी हुनुभएको हो । शिव हुमागाईं प्यालनका सभापति उम्मेदवार भगवान अधिकारीलाई दुई मतले हराउँदै श्रेष्ठ विजयी हुनुभएको हो । श्रेष्ठले २९९ मत पाउँदा अधिकारी २९७ मत पाउनु भएको थियो ।
निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) मा यो समूहले उपसभापति, एक जना सचिब र एक जना उपसचिब आफुले लिएर अन्य पद शिव हुमागाई प्यानललाई छोडेर सर्वसम्मत अधिवेशन सकिएको छ । रामहरि श्रेष्ठले यति खेर काभ्रेको प्रदेश निर्वाचन क्षेत्रमा मधु आचार्य प्यानलको इज्जत धानिदिएका छन् । हुन त रामहरिले सभापतिमा जितेको प्रदेश निर्वाचन क्षेत्र मधु आचार्यको निकै राम्रो मानिन्थ्यो । तर पनि शिव–तीर्थ प्यानलले निकै कडा चुनौती दियो । श्रेष्ठ यो प्रदेश निर्वाचन क्षेत्रमा इमान्दार र कर्तब्य निष्ठा नेताका रुपमा पनि चिनिन्छन् ।
संघीय निर्वाचन क्षेत्र २ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) को उपसभापतिमा शिव प्यानलका कुमुदा बैद्यले २८९ मत र मधु प्यानलका गंगा प्रसाद घिमिरेले ३१५ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । त्यसैगरी सचिबमा मधु प्यानलका नेत्र प्रसाद ढकाल ३०७ र युगेश्वर कायस्थ ३०२ मत ल्याएर विजयी हुनुभएको छ । सहसचिबमा पनि शिव प्यानलका दिपक लामिछाने २९० मत र मधु प्यानलका मन हरि ढकाल ३१५ मत सहित विजयी भएका छन् ।
काभ्रे काँग्रेसको शुक्रबार ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन भएको थियो । जस मध्ये तीन वटा प्रदेश निर्वाचिन क्षेत्रमा मतदान भएको हो । तीन वटै प्रदेश निर्वाचन क्षेत्रको मत गनेर शनिबार सकिएको छ । मत परिणामले उम्मेदवार छनौटमा पनि ध्यान दिन मधु प्यानललाई सुझाव दिएको छ ।
कार्यकर्ताले गुटको ह्वीप मानेका छैनन् । उनीहरुले आफ्नो स्वविवेक प्रयोग गरेका छन् । ब्यक्तिको आचारण, राजनीतिक पृष्ठभूमि, भविष्यमा उ बाट पाउने सहयोग जस्ता कुरा हेरेर प्रतिनिधिले आफ्नो मत जाहेर गरेका छन् । जसका कारण धेरै जसो ठाउँमा मिश्रित परिमाण आएको छ । तर संघीय निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) मा भने लगभग शिव–तीर्थ प्यानलको एकलौटी जीत भएको छ ।
काँग्रेस काभ्रेको आगामी ६ गते संघीय निर्वाचन क्षेत्रको अधिवेशन हुनेछ । १० गते जिल्ला सभापतिका लागि अधिवेशन हुने छ । अहिलेसम्म जिल्ला सभापतिका लागि तीर्थ लामाको मात्रै उम्मेदवारी परेको छ ।
Facebook Comments