बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बाल वातावरण केन्द्रले काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ११ मा रहेको चण्डेनी माध्यामिक विद्यालयमा शिक्षकहरूलाई बालअधिकार बारे प्रशिक्षण दिएको छ ।
अन्तराष्ट्रिय बाल दिवस तथा संस्थाको २० औँ बार्षिकउत्सवको पूर्व सन्ध्यामा संस्थाले शिक्षकहरू प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रममा १३ वटा मावि सहित १७ वटा विद्यालयका २४ जना प्रधानाध्यापक तथा शिक्षकहरू सहभागी थिए ।
कार्यक्रममा बोल्दै मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाइबाले शिक्षामा नगरपालिकाले धेरै लगानी गरेको भन्दै गुणस्तरीय शिक्षामा नगरपालिकाले कुनै कन्जुस्याइँ नगर्ने बताउनुभयो । राज्यको पुनःसंरचनासंगै शिक्षामा पनि पुनःसंरचना गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।
बालबालिकालाई विद्यालयमा आएपछि पढौँ पढौँ लाग्ने वातावरण निर्माण गर्न आवश्यक रहेको नगरप्रमुख वाईबाले बताउनुभयो । बालबालिकालाई सहि बाटोमा दोहोर्याउन सकेमात्रै भाबी पुस्ता अब्बल हुने नगरप्रमुख वाईबाको भनाई छ ।
‘मातृभाषालाई समेत नगरपालिकाले पठनपाठनमा जोड दिईरहेको छ । स्थानीय पाठ्यक्रम बनाएर पठनपाठन गर्नेमा नगरपालिका अघि बढेको छ । तर कोभिडले हामीलाई केहि असर गरेको छ । त्यस असरलाई पूर्ति गर्ने गरी पठनपाठनलाई मजबुद गराउन आवश्यक छ । नगरप्रमुख ब्याञ्जुले भन्नुभयो ।’
कार्यक्रममा बाल वातावरण केन्द्र नेपालका कार्यकारी निर्देशक अशोक शिवकोटी, बालबालिकालाई कस्तो बनाउने भन्ने हात शिक्षकको रहेको भन्दै जिम्मेवारी बोधले मात्रै त्यो प्राप्ति हुने बताउनुभयो । बालअधिकारलाई सधै, सबै पक्षले उत्तिकै दायित्व बोध गर्नु पर्ने बताउनुभयो ।
‘मण्डनदेउपुर नगरपालिकाको तीन वटा विद्यालयमा विभिन्न कार्यक्रम गर्दै आएको छ । घर परिवारमा आमा, बुबा र आफन्तबाट समेत बालअधिकार हनन् हुन सक्ने भएकाले राज्य, समाज र परिवारले जिम्मेवारी बोध गर्नु पर्छ । अनि मात्रै सबै बालबालिकाको उचित हिसाबले पढ्न, लेख्न, खाना, बस्न, लाउन निर्धक्कसंग पाउँछन् । कार्यकारी निर्देशक शिवकोटीले भन्नुभयो ।’
उहाँले बाल वातावरण केन्द्रले मण्डनदेउपुर नगरपालिकामा थप कार्यक्रम ल्याउने बताउनुभयो । संस्था निस्शुल्क मनोसामाजिक विमर्श सेवा पनि सुरू गरेको छ । संस्थाले विभिन्न शैक्षिक सामाग्री पनि वितरण गरेको छ । उहाँले मण्डनदेउपुर नगरपालिकालाई बालमैत्री नगर घोषणामा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
यो संस्थाले चण्डेनी माध्यामिक विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीका परिवार र पञ्चकन्या आधारभूत विद्यालयका २० जना विद्यार्थीको परिवार गरी ५० जनाको स्वास्थ्य बिमा गरिदिएको छ । यो संस्थाले डेडीथुम्का माध्यामिक विद्यालयमा पनि कार्यक्रम लागु गरेको छ ।
Facebook Comments