झण्डै २० बर्षसम्म जनप्रतिनिधि बिहीन मुलुकमा निर्वाचन मार्फत जनप्रतिनिधि आए ।
५ वर्षका लागि निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल यो बर्ष अन्तिम हो । चुनिएको अन्तिम बर्षसम्म आईपुग्दा देशका विभिन्न स्थानीय तहले आफुलाई नमुना बनाउन प्रयास गरि नै रहेका छन् ।
कतिपय स्थानीय तहले अब निर्वाचित भएर आउने जनप्रतिनिधिलाई सजिलो हुने कानुन मात्रै होइन पद्धति समेत स्थापित गरेका छन् । यसै मध्येको नगरपालिका हो, काभ्रेको धुलिखेल ।
जिल्लामा १३ वटा स्थानीय तह छन् । जसमा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका पर्छन् । १३५ वटा वडामा सिँगो जिल्ला समेटिएको छ ।
धुलिखेल नगरपालिका देशभरका धेरै र काभ्रे जिल्लाको सबै स्थानीय तह भन्दा अब्बल मानिन्छ । धेरै स्थानीय तहको उदाहरणीय बनेको छ धुलिखेल नगरपालिका । नगरपालिकाले देशमै पहिलो पटक नगर स्तरीय ५ वटा परिषद् निर्वाचित जनप्रतिनिधि आएको दोस्रो बर्षमै गठन गर्यो । जसले अहिले आफ्नो लागि आफै काम गरिरहेको छ ।
महिला परिषद्, दलित परिषद्, अपाङ्ग परिषद्, जनजाति परिषद् र युवा परिषद् गरी ५ वटा परिषद् गठन गरेर योजना बनाउने र कार्यन्वयन गर्ने काम भैरहेको नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो । ‘यो अभ्यास नेपालमै पहिलो हो । संविधानले स्थानीय तहलाई दिएको अधिकार कार्यान्वयन गरेका हौँ । हामी यसमा सफल भएका छौँ । सबै परिषद्ले आ आफ्नो क्षेत्रको योजना बनाउँछन् । कार्यान्वयन पनि परिषद्ले नै गर्छ । परिषद् बाहेकका अन्य बजेट माग गर्न नपाईने, विकास निर्माणमा सहभागी जनाउन नपाईने भन्ने होईन । यो पछाडी पारिएका वर्ग र समुदायका लागि नगरपालिकाले गरेको विशेष व्यवस्था हो, नगरप्रमुख ब्याञ्जुले भन्नुभयो ।’
नगरपालिकाले पाँच वटा परिषद्का लागि बार्षिक १ करोड विनियोजन गर्ने गरेको छ । पाँच वटा परिषद् मध्ये महिला, दलित र अपाङ्ग परिषद्को प्रभावकारीता बढी देखिएको छ । सक्रिय भने पाँच वटै परिषद् छन् । धुलिखेल नगरपालिका जनजातिको बाहुल्यता भएको नगरपालिका हो र विकास निर्माणमा युवाहरूको सक्रिय सहभागिता छ ।
नगरप्रमुख ब्याञ्जुले सबै परिषद् दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत गरिरहेको बताउनुभयो । ‘नगरपालिकाको विकास निर्माणमा सबै पक्षको सम्मान सहभागीता गराउने उद्देश्यले हामीले परिषद् गठन गरेका हौँ । एउटा पक्ष मात्रै बलियो भएर समृद्ध नगर बनाउन सकिँदैन । दिगो विकासको लक्ष्य हासिल गर्न र लैङ्गिक समानताका लागि पनि यी परिषद्ले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्, नगरप्रमुख ब्याञ्जुले भन्नुभयो ।’
सबै परिषद् सञ्चालनका लागि कार्यविधि बनाईएको छ । पाँच वटै परिषद्को कार्यविधि २०७५ साल माघ १४ गते बसेको नगर कार्यपालिका बैठकले स्वीकृत गरेको नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख विदुर गौतमले जानकारी दिनुभयो।
‘सबै परिषद् गठन र सञ्चालन गर्न कार्यविधि बनाईएको छ । सबै परिषद्को अध्यक्षता नगरप्रमुखले गर्ने ब्यवस्था छ । नगरप्रमुखले जनप्रतिनिधि र कर्मचारी बाहेक तोकेका ब्यक्ति परिषद्को उपाध्यक्ष रहने कार्यविधिमा उल्लेख छ । सुरूवात नै बलियो भयो भने पछि आउने जनप्रतिनिधिलाई पनि सजिलो हुन्छ, सामाजिक विकास शाखा प्रमुख गौतमले भन्नुभयो ।’
नगरपालिकाको तथ्याङ्क अनुसार नगरभित्र ५१ प्रतिशत महिला र ४९ प्रतिशत पुरूषको जनसंख्या रहेको महिला परिषद्का उपाध्यक्ष लाल तारा अधिकारीले बताउनुभयो ।
‘हामीले कुन वडामा कस्ता खालका महिलाको बसोबास छ भनेर वडा प्रोफाइल तयार पारेका छौं । जुन प्रोफाइलमा उमेर, सीप, शिक्षा, रोजगारी, जनजाति, दलित, एकल, अपाङ्ग, फरक लिङ्ग भएका महिलाहरूको पहिचान समेटिएको छ । त्यहि प्रोफाईलको आधारमा हामीले योजना बनाउँछौं र कार्यन्वयन वडासंगको समन्वयमा गर्दै आएका छौं, महिला परिषद् उपाध्यक्ष अधिकारीले भन्नुभयो ।’
नगरपालिकाले सबैभन्दा बढी खर्च पनि महिलाकै क्षेत्रमा गर्दै आएको छ । महिला परिषद् मार्फत कम्तिमा बार्षिक ३० लाख, उपप्रमुखसंग महिला कार्यक्रम अन्तर्गत ३० लाख, महिला, बालबालिका तथा समाज कल्याण शाखा मार्फत महिलाको क्षेत्रमा तोकिएरै खर्च हुन्छ ।
‘महिलालाई आत्मनिर्भर बनाउन परिषद्ले ड्राईभर तालिम, ढाका बुनाई, टपरी बुनाई, सिलाई मेसिन, कृषिमा एकल महिलालाई अनुदान, आयआर्जनका लागि बाख्रा, कुखुरा र बंगुर वितरण गर्दै आएका छौं । विकास निर्माणमा पछि पारिएका समुदायको महिलाको लागि नेतृत्व विकास गर्न तालिम, गोष्ठी, छलफल गरेर आफ्नो कुरा आफ्नै भन्न सक्ने बनाएका छौं, उपाध्यक्ष अधिकारीले भन्नुभयो ।’
धुलिखेल नगरपालिका वडा नम्बर ११ की पर्वती पराजुली न्यौपानेको दैनिकीमा निकै परिवर्तन आएको छ । नगरपालिकाले महिला परिषद् मार्फत नगरभित्रका महिलाहरूलाई ड्राइभिङ तालिम दिने निर्णय गर्यो ।
तालिममा नगरभित्रका १२ वटै वडाका १५ जना महिला सहभागी थिए । त्यस मध्ये पार्वतीले तालिमलाई आयआर्जनको गतिलो स्रोत बनाउन थाल्नुभयो । ३० बर्षीय पार्वती आफु मात्रै होइन, यात्रु बोकेरै गाउँ सहर गर्नु हुन्छ ।
‘सुरू सुरूमा महिलाले पनि गाडी चलाउँछन् र भनेर भन्थे । मैले दुई बर्षअघि बनेपा गएर २० दिनको कार ड्राइभिङ तालिम लिएको हुँ । तालिम राम्रोसंग पुरा गरे । लाईसेन्स बनाए । पहिलो पटक ऋण काडेरै ३ लाख तिरेर गाडी किने । अहिलेसम्म ३ वटा गाडी फेरीसके । अहिले चलाईरहेको चाहिँ १० लाखमा किनेको हुँ । गाउँघरदेखि तराईसम्म आफैले गाडी चलाएर पुगिसके ।
अब स्कोरपिओ गाडी किनेर हिमाल, पहाड, तराईका यात्रु बोक्ने योजना बनाएको छु । अहिले जति पैसा कमाउन पहिला मलाई तीन चार थरिका काम गर्नु पर्थ्यो । तर सिकेको सिपलाई ब्यवहारमा उतारेदेखि यहि एउटै पेसाले घर परिवार धानेको छ, पार्वतीले भन्नुभयो ।’
विकास निर्माणमा पनि महिलाको अर्थपूर्ण सहभागिता गराउन पनि महिला परिषद्ले भुमिका खेलेको छ । ‘उपभोक्ता समितिको सिंगो टिम नै महिलाले नेतृत्व गरेर उत्कृष्ट विकास निर्माण गरेका उदाहरण पनि नगरपालिकाभित्र छ । वडाको योजना तर्जुमा देखि नगरपालिकाको नीति निर्माण तहसम्ममा महिलाको अर्थपूर्ण सहभागिता छ । पहिले यस्तो थिएन परिषद् गठनपछि हामीलाई काम गर्न निकै सजिलो भएको छ ।
अब केहि महिनापछि स्थानीय तहको निर्वाचन हुँदैछ । नयाँ आउने नेतृत्वले पनि यो परिषद्लाई निरन्तर दिने हो भने साँच्चै अबको केहि बर्षभित्र धुलिखेल नगरपालिकाका महिलाहरूको जीवन शैलीमा ठूलो परिवर्तन देखिनेछ, उपाध्यक्ष अधिकारीले भन्नुभयो ।’
नगरपालिकाले नगरभित्रका सबै वर्ग, जाति, धर्मका महिलालाई स्नातक तहको अध्ययनका नि:शुल्क ब्यवस्था गरेको छ । अन्य ठाउँबाट आएर धुलिखेल नगरपालिकाभित्र बसोबास गर्ने महिलाले स्नातक तह पढ्न चाहेमा सम्पूर्ण खर्चको ५० प्रतिशत नगरपालिकाले बेहोर्ने नीतिगत ब्यवस्था गरेको नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले बताउनुभयो ।
‘यी परिषद्हरूको मुख्य उद्देश्य गरिबी निवारण हो । राज्यको मुल प्रवाहमा आउन नसक्ने समुदाय र वर्गलाई सिप सिकाउने, क्षमता अभिवृद्धि गर्ने, रोजगारीका लागि नगरपालिकाले ब्याज नलिने गरी पछि साँवा मात्रै फिर्ता गर्ने गरी आर्थिक सहयोग गर्ने ब्यवस्था मिलाएको छ । जसले अपाङ्ग, दलित समुदाय र महिलाहरूको आयआर्जनमा समेत बृद्धि गराएको छ, नगरप्रमुख ब्याञ्जुले भन्नुभयो ।’
अहिले परिषद् गठनपछि आफ्नो समुदायको आवश्यकता पहिचान गरेर काम गर्न निकै सजिलो भएको दलित परिषद्का उपाध्यक्ष चमार विकले बताउनुभयो । ‘पहिलो गाविस हुँदा लक्षित वर्ग भनेर बजेट विनियोजन हुन्थ्यो । निकै कम आउँथ्यो दलित समुदायलाई बजेट । कतिपय बर्षमा त त्यो लक्षित वर्गको बजेट पनि कटौती गरेर अरू नै योजनामा खर्च गर्थे । ठूल ठूला काम गर्न सकिदैन्थो । तर अहिले सिधैं मेयरसंग छलफल गरेर हाम्रा लागि योजना माग गर्न सक्ने अधिकार परिषद्ले दिएको छ, उपाध्यक्ष विकले भन्नुभयो ।’
धुलिखेल नगरपालिका वडा नम्बर ९ का ज्ञानेन्द्र विक आफ्नो पुख्यौली पेसा छाडेर अर्कै पेसा अंगाल्ने मनस्थितिमा पुगिसक्नु भएको थियो । तर गर्दै आएको काम चटक्क छोडेर नयाँ पेसा सुरू गर्न भनेजति सजिलो पनि थिएन् । साथी भाईहरूसंग नयाँ पेसाका बारे छलफल पनि गर्नुभयो ।
साथीहरूले नगरपालिकाले आरण सुधार योजना गर्ने योजना ल्याउँदै छ भन्ने कुरा सुनाए । आरण सुधारिएपछि नयाँ काम खोज्ने झण्झटबाट मुक्ति मिलेको छ ज्ञानेन्द्रलाई ।
‘म नयाँ पेसाको खोजीमा थिएँ । अहिले आरण सुधार भएको छ । जसले काम गर्न निकै सजिलो बनाएको छ । वाईरिङको काम पनि सिकेको छु । आधुनिक मेसिन जडान गरिएको छ । अहिले आम्दानी पनि बढेको छ । नगदमा कोरोबार हुन्छ । ज्यादा धुलो मैलोमा बस्नु पर्दैन, ज्ञानेन्द्रले भन्नुभयो ।’
दलित परिषद्मा नगरको १२ वटै वडाबाट १/१ जना सदस्य प्रतिनिधित्व हुने गरी ब्यवस्था गरिएको छ । हरेक वडामा कति दलित छन् भनेर परिचान गरिएको छ । पहुँचको आधारमा होईन, नगरपालिकामा दलित समुदायको छुट्टै योजना, दलित समुदायबाटै आउँछ । यसले गर्दा योजनामा दोहोपनको अन्त्य भएको छ । आवश्यकताका आधारमा ती योजनालाई प्राथमिकीकरण गरेर कार्यान्वयन गर्ने गरेको नगरप्रमुख ब्याञ्जुको भनाई छ ।
‘सबै जाति, धर्म, वर्ग, लिङ्ग र समुदायको हक अधिकार सुनिश्चित भयो भने मात्रै नगरपालिकाको चौतर्फी विकास हुने हो । सम्मान सहभागीताले नगरको सबै विकासमा दिगोपन थपिन्छ, नगरप्रमुख ब्याञ्जुको भनाई छ ।’
नगरपालिकाभित्र ६ सय घरधुरीको हाराहारीमा दलित समुदाय बसोबास गर्छन् । परिषद् मार्फत लोप हुँदै गएको आरण आधुनिक प्रविधिद्वारा सुधार र संरक्षण गरिएको छ । रोकिएको रोजगारी फेरी सुरू गर्न सहयोग पुगेको छ । संस्कृति संरक्षण अन्तर्गत दलित समुदायका लागि बाजा निःशुल्क उपलब्ध गराईएको छ । जसले आयआर्जनमा पनि टेवा पुगेको छ ।
‘हाम्रो समुदायको आवश्यकता नगरपालिकाको बोर्ड सक्षम राख्न पनि परिषद्ले निकै ठूलो सहयोग पुगेको छ । यसले हाम्रो समुदायलाई संगठित पनि बनाएको छ । दलित समुदायका महिलाभित्र अझै पनि चेतनाको अभाव छ । नगरपालिकाले यसलाई थप ध्यान दिन आवश्यक छ, उपाध्यक्ष विकले भन्नुभयो ।’
अपाङ्ग परिषद्मा पनि नगरपालिकाभित्र १२ वटै वडाको प्रतिनिधित्व छ । नगरपालिकाको वडा नम्बर ६ मा अपाङ्ग भएका ब्यक्तिले परिषद्कै सहयोगमा मसला उद्योग सञ्चालन गरेर राम्रो आम्दानी गरिरहनुभएको परिषद्का उपाध्यक्ष दिलकृष्ण देवजुले जानकारी दिनुभयो ।
‘अपाङ्गता भएका ब्यक्तिहरू नगरपालिकाभर छरीएर रहनुभएको छ । हिड्न सक्ने अपाङ्गता भएका ब्यक्तिहरू हामी प्रत्येक ६/६ महिनामा नगरपालिकामा भेला हुन्छौँ । सबै वडाका साथीहरूको समस्या सुन्छौ । योजना बनाउँछौं । नगरप्रमुख, उपप्रमुख आफै आएर बैठकमा बस्नुहुन्छ । हाम्रो कुराहरू ध्यान दिएर हुनुहुन्छ । त्यसैको आधारमा नयाँ नयाँ योजना बनाउँछौं, काम गर्छौं, अपाङ्ग परिषद्का उपाध्यक्ष देवजुले भन्नुभयो ।’
परिषद्ले अपाङ्गता भएका ब्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराईसकेको छ । त्यस्तै उनीहरूको अवस्थालाई हेरेर बिभिन्न सीप मुलक तालिम दिने गरेको उपाध्यक्ष देवजुले बताउनुभयो ।
‘अपाङ्गता भएका ब्यक्तिहरू फरक फरक प्रकृतिको हुनुहुन्छ । एकै खालको योजना बनाउँदा सबैलाई समेट्न सक्दैनौं । छडी, ह्विल चियर जस्ता सामग्री वितरण गरिसकेका छौं । हाम्रो योजनामा बजेट विनियोजन गर्न र कार्यान्वयन गर्न नगरपालिकाका सबै पक्षले सहयोग गर्नुभएको छ, उपाध्यक्ष देवजुले भन्नुभयो ।’
Facebook Comments