नेकपा एमालेले काभ्रे जिल्लाको १३ मध्ये ११ वटा स्थानीय तहमा पालिका अधिवेशन सकाएको छ । अब बेथानचोक र रोशी गाउँपालिकामा मात्रै अधिवेशन हुन बाँकी छ ।
तर नेकपाकालिन अवस्थाबाट सर्वोच्च अदालतले एमाले र माओवादीलाई बिभाजन गर्दा एमालेमै लागेका माओवादी नेता कार्यकर्ताहरूको राजनीतिक भविष्य डामाडोल हुने देखिएको छ । राजनीतिक रुपमा एक कार्यकाल अवसर नपाउनु र क्रियाशीलता घटाउनु भनेको स्वतः पछि पर्नु मानिन्छ ।
११ वटा पालिकामा सकिएको एमाले अधिवेशन हेर्दा एमालेमा माओवादीहरूको कुनै स्थान छैन् भन्ने बुझिन्छ । काभ्रेको पाँचखाल नगरपालिका र मण्डनदेउपुर नगरपालिकामा माओवादी पार्टीमा चिनिएको अनुहार एमालेमा छ । तर पाँचखाल नगरपालिकामा उपाध्यक्ष र सहसचिब र मण्डनदेउपुर नगर कमिटीमा सचिब बाहेक अन्य कुनै पनि पालिका कमिटीको पदाधिकारीमा माओवादी पृष्ठभूमिबाट आएका
ब्यक्ति चयन भएका छैनन् ।
पाँचखाल नगरपालिका र मण्डनदेउपुर नगरपालिका दुबै संघीय निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । जहाँबाट २०७४ सालको निर्वाचनमा एमालेका नेता गोकुल बाँस्कोटा विजयी हुनुभएको थियो । गोकुल बाँस्कोटालाई नेता मान्दै एमालेमै बसेका माओवादी पृष्ठभूमिका नेता कार्यकर्ताले अवसर पाउन निकै ठूलो पापड पेल्नु पर्ने देखिन्छ ।
मण्डनदेउपुर नगर कमिटीको अधिवेशनबाट तुलसी नेपाल सचिबमा चयन हुनुभएको छ । पाँचखाल नगर कमिटीको उपाध्यक्षमा भरत सापकोटा र उपसचिबमा नवीन लामा माओवादी पृष्ठभूमिबाट चयन हुनुभएको छ ।
सापकोटा माओवादीको पाँचखाल नगर कमिटीको सचिब हुनुहुन्थ्यो । त्यस्तै पाँचखाल नगर कमिटीको सदस्य रहनुभएको थियो । अधिवेशनमा माओवादी पृष्ठभूमिका नेताको नाममा सर्वसम्मत वा निर्विरोध गर्ने निकै कष्ट भएको निर्वाचन प्रतिनिधिले बताएका छन् ।
एमालेको जिल्ला कमिटी १० जना सदस्य माओवादी पृष्ठभूमिबाट आएका छन् । जिल्लाभर १२ देखि १५ सयसम्म माओवादी निकट नेता कार्यकर्ताले एमालेको संगठीत सदस्य लिएको अनुगमन गरिएको छ । वडा र पालिका अधिवेशन हेर्दा जिल्ला अधिवेशनमा यदि मतदान हुने अवस्था आयो भने माओवादी पृष्ठभूमिका एक जना पनि सदस्य निर्वाचित हुन नसक्ने एमालेका एक जिल्ला कमिटी सदस्यले बताए ।
अहिलेको अवस्था हेर्दा पूर्ण रुपमा एमालेले माओवादी पृष्ठभूमिका नेता कार्यकर्तालाई स्वीकार गर्न नसकेको प्रष्ट हुन्छ । अबको स्थानीय तह निर्वाचनमा पनि माओवादीबाट एमाले बनेकाले टिकट पाउन निकै मुस्किल रहेको देखिन्छ । टिकट नै पाएपनि एमालेले पूर्ण सहयोग नगर्ने देखिन्छ ।
त्यसमाथि गोकुल बाँस्कोटाले अधिकांश नेता र कार्यकर्तालाई कुनै न कुनै पदको ललिपप देखाएका छन् । बाँस्कोटाको ललिपपमा मुख मिठ्याएर बस्नेहरूको राजनीतिक भविष्य भने अन्धकार हुने देखिएको छ । बाँस्कोटाले एउटा संकेत त मण्डनदेउपुर नगरपालिकाबाट दिईसकेका छन् ।
जहाँ अधिवेशन अघि कुमार भट्टराई, विदुर सापकोटा, राधाकृष्ण बस्ताकोटी, झलक पौडेल लगायतका नेतालाई नगर कमिटीमा अध्यक्षको पद बाँडियो । विदुर सापकोटा, कुमार भट्टराई, झलक पौडेल, जित बहादुर तामाङ, शेर बहादुर डाेटेल, राधाकृष्ण बस्ताकाेटी, रूद्र तामाङ, होम चौलागाईं लगायतले अध्यक्षमा दाबी प्रस्तुत गरे ।
तर अधिवेशन प्रतिनिधिमा किचलो गरेर बाँस्कोटाले आफ्नो अत्यन्तै विश्वासिलो पात्रा शेर बहादुर डोटेललाई नगर कमिटीको अध्यक्ष बनाए । कुमार भट्टराई, विदुर सापकोटा, राधाकृष्ण बस्ताकोटी, झलक पौडेल जस्तो नेतालाई वडा कमिटीबाट प्रतिनिधि छनौट भएर नआएको भन्दै पछिहाईयो ।
Facebook Comments