दोलालघाट नजिकै रहेको सिलामे भिर । यहिभिरको बाटो भएर ओहोरदोहोर गर्छन सापिङदेखि सिम्थली बेखसिम्लेसम्मका सर्वसाधरण ।
तल सुनकोशी अनवरत बगिरहेको छ । माथि अंजगरको सिलामेभिर । भिरको डिलबाट हेर्दा पनि आङ जिरिङ हुन्छ । हिड्दा कथमकताचीत पाइलाले साथ दिएन भने पुग्ने सुनकोशीमै हो । अडाउने न बुट्यान छ । न त समाउने कोशिस नै कसैले गर्न सक्छन् ।
यहि दुःख हो भुम्लु गाउँपालिकाभित्रका १० वटा वडा मध्य सबैभन्दा बढी जनसंख्या रहेको वडा नम्बर १ सापिङका जनताले खेपेका । यहि भिरलाई देखाएर धेरै पार्टीले धेरै पटक राजनीति गरे । तर लक्ष्मण लम्साल बागमती प्रदेश सांसदमा विजयी भएपछि यो भिरबाट गाडी गुडाउन बजेटको उचित ब्यवस्थापन भएको छ । गाडी गुड्न सहज भएको छ । अब पिच पनि हुनेछ ।
सिलामेभिरले एक दर्जन स्थानीयको ज्यान समेत लिइसकेको छ । ‘ओहो । पहिलेको कुरा गरेर के साध्य । हाम्रा धेरै दाजुभाइले यहि भिरबाट लडेर अकालमै ज्यान गुमाए । अहिले त यस्तो छ भने पहिले कति डरलाग्दो थियो होला । सहजै अनुमान लगाउन सकिन्छ । राम्चेका रेशम माझीले भन्नुभयो ।’
काभ्रे कोशीपारीको तत्कालिन १० गाविस पुग्ने दोलालघाट स्थित सुनकोशीमा बनेको पुलको मुखैबाट देब्रे मोडिएपछि सिलामेभिर आइहाल्छ । हल्का उकालो बाटो । अहिले उकालोको आधाभन्दा बढी भाग ढलान भैसकेको छ । सिलामेभिरलाई अझ फराकिलो पार्न प्रदेश सांसद लम्सालकै पहलमा बजेट परिसकेको छ ।
टेण्डर भएर अहिले धमाधम ब्रेकरले भिर कटान गरिरहेको छ । सडक फराकिलो र सम्याउने काम भैरहेको छ । ‘बजेट विनियोजनको हिसाबले सिलामे देखि बेखसिम्लेसम्मको सडकलाई दुई खण्डमा विभाजन गरिएको छ । दोलालघाट, सिलामे, सापिङसम्मको पहिलो खण्ड पिच गर्ने गरी रकम विनियोजन भइसकेको छ । सापिङदेखि सिम्थली, बेखसिम्लेसम्मको सडकका लागि पनि बहुबर्षीय बजेट पर्ने गरी योजना स्वीकृत भएको छ, सांसद लम्सालले मिलिजुली खबरसँग भन्नुभयो ।’
सिन्थली र बेखसिम्लेका सर्वसाधरणलाई यो रुट सबैभन्दा छोटो पर्छ । सिलामेभिर नछिचोलिदाँ सिन्थली र बेखसिम्लेका सर्वसाधरण टारबाट अलिक लामो बाटोको यात्रा गर्न बाध्य थिए । अब त्यो बाध्यता टरेको छ । पहिलो खण्डका लागि २६ करोडको बजेट अन्तर्गत काम भइरहेको छ । दोलालघाट, सिलामे, सापिङ्ग, रिठ्ठे, सिम्थली, बेखसिम्ले सडकको पहिलो खण्ड अन्तर्गत सिलामे देखि राम्चेसम्म करिब ५ दशमलब ५ किलोमिटर सडक पिच हुनेछ ।
दोस्रो खण्डको सापिङ-रिठ्ठे-सिम्थली-बेखसिम्लेसम्मै पिच गर्ने गरी काम अघि बढ्नेछ । यो सडक भुम्लु गाउँपालिकाको वडा नम्बर १ सापिङ, वडा नम्बर २ सिम्थली र वडा नम्बर ३ बेखसिम्लेका सर्वसाधरणको ‘लाइफ लाइन’ हो । स्थानीयहरु यो सडकको ट्याक खोलेको श्रेय भने तत्कालिन जिल्ला विकास समिति काभ्रेका उपसभापति कान्छाराम तामाङलाई दिन्छन् ।
नजिक भएर पनि एउटै भिरका कारण अनकन्टर जस्तै भएर बस्न बाध्य सापिङ, राम्चेका स्थानीय थप हौसिएका छन् । यातायातको सहजता भएपछि गाउँमै ब्यापार ब्यवसाय गर्ने उनीहरुको योजना छ ।
‘दूरीका हिसाबले अरनिको राजमार्गबाट हामी धेरै नजिक छौँ । हाम्रो गाउँबाट दोलालघाट, दोलालघाटबाट हाम्रो गाउँ राम्रैसँग देखिन्छ । बाह्रै महिना यातायातका साधन चल्यो भने आम नागरिकलाई सहज हुन्छ । गाउँमै खेती किसानी गरे पनि आम्दानी लिन सकिन्छ । बिरामी पर्दा तत्काल अस्पतालसम्म पुग्न सजिलो हुन्छ । अहिले केहि सामान आवश्यक परिहाल्यो भने फुत्त दोलालघाट बजार पुगेर सामान ल्याउन पाएका छौँ । रेशम माझीले भन्नुभयो ।’
कतिलाई लाग्दो हो के सांसद लम्सालले आफ्नै खेतबारी बेचेर वा खोजीको पैसा सिलामे, सिम्थली, बेखसिम्ले सडकका लागि दिएका हुन् ? पक्कै पनि होइन् । तर पहल गर्ने मान्छे आवश्यक पर्छ । सांसद लम्सालले त्यहि पहल गर्नु भएको हो । खबरदारी गर्नुभएको हो ।
‘सांसदले खोजीबाटै झिकेर दिने होइन् । आफ्नो निर्वाचन क्षेत्रमा के आवश्यकता छ । त्यो मन्त्रालय र सदनलाई अवगत गराउने हो । जनताको मागलाई सम्बोधन गर्ने हो । मैले त्यहि भुमिका निर्बाह गरेको हुँ । ग्रामीण विकासको पहिलो आधार भनेकै सडक हो । त्यसपछि अन्य पूर्वाधार निर्माणमा सहज हुनेछ । सांसद लम्सालले भन्नुभयो ।’
Facebook Comments