धैरैले पार्टी फुटेपछि काभ्रेमा एमालेको अधिवेशन सहज हुने अनुमान गरेका थिए ।
वडा अधिवेशन केहि हदसम्म सहज भएको पनि हो । धेरै वडामा अधिवेशनको ब्यानर राखेर, टिका लगाएर एमालेको अधिवेशन सकिएको थियो । १३५ मध्ये ९ वटा वडामा त्यो पनि हुन सकेको छैन् ।
तर त्यसको ठीक विपरित पालिका अधिवेशनमा नेतृत्वका लागि चर्चोको रस्साकस्सी देखिन थालेको छ । धेरैले वडा अधिवेशन जस्तै टिका लगाउने र सकाउने अनुगमन गरेका थिए ।
नेतृत्वकै कारण बिहान १० देखि ११ बजेको बीचमा सुरू भएको अधिकांश पालिकाको अधिवेशन सकिएको छैन् । पनौतीमा नगर कमिटी अध्यक्षमा सुरेश हुमागाईं र उपाध्यक्षमा हरिशरण सुर्यवंशीको नाम सर्वसम्मत बनेको छ । अरू पदाधिकारीको टुंगो लागेको छैन् ।
धुलिखेल नगरपालिकामा पनि नेतृत्वका लागि निकै रस्साकस्सी चलेको छ । केहि समय अघि मात्रै पत्रकार दायराम महतको नाम अध्यक्षमा सहमति जुटेको छ । अन्य पदाधिकारीमा सहमति जुटेको छैन् ।
बनेपा नगरपालिकामा नगर कमिटी अध्यक्षको लागि तीन जनाले दाबी गरेपछि आजै नेतृत्व पाउने सम्भावना छैन् । अध्यक्षमा सागर नाथ कपाली, रत्न कुश रन्जित र
राम शरण दाहालले दाबी गर्नु भएको छ ।
नमोबुद्ध नगरपालिकामा आज अधिवेशन उदघाटनमा मात्रै सीमित भएको छ । नेतृत्वमा सहमति नजुटेपछि अधिवेशनलाई लम्ब्याएको हो । सम्भवतः भोली नेतृत्व टुङ्गो लगाउने गरी नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।
पाँचखाल नगरपालिकामा पनि नेतृत्व छनौटमा सोचे जति सहज भएन । तर पनि पाँचखाल एमालेले पदाधिकारी सहित नगर कमिटीलाई पूर्णता दिएको छ ।
मण्डनदेउपुर नगरपालिकामा पनि नेतृत्वमा निकै पेचिलो बनेको छ । सबै भन्दा बढी नेतृत्व विवाद मण्डनदेउपुर नगरपालिकामा देखिएको छ । जहाँ विदुर सापकोटा, कुमार भट्टराई, झलक पौडेल, जित बहादुर तामाङ, शेर बहादुर डाेटेल, सुमन नेपाल, हाेम प्रसाद चौलागाई, राधाकृष्ण बस्ताकाेटि र रूद्र तामाङले अध्यक्षको लागि दाबी प्रस्तुत गर्नुभएको छ ।
त्यस मध्ये रूद्र तामाङले आफ्नो दाबी फिर्ता लिएको स्रोतले जनाएको छ । भुम्लु गाउँपालिकामा पनि नेतृत्वमा विवाद छ । चौरीदेराली र महाभारत गाउँपालिकामा अध्यक्ष टुंगो लागे पनि कमिटीले पूर्णता पाएको छैन् ।
तेमाल गाउँपालिकामा नेतृत्वमा विवाद देखिएको छ । त्यहाँ पनि आजै कमिटीले पूर्णता नपाउने निश्चित छ ।
आज जिल्लाको रोशी, खोनीखोला र बेथानचोक गाउँपालिका बाहेक १० वटा पालिकामा अधिवेशन सुरू गरिएको थियो ।
Facebook Comments