एमाले काभ्रेका ईन्चार्ज एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले आफ्नो निर्वाचन क्षेत्रमा प्रचण्डलाई चुनाव लड्न निमन्त्रणा गरे ।
नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेको कार्यक्रममा पूर्व मन्त्री बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई खुल्ला चुनौती दिदै भने ‘प्रचण्ड कमरेड सक्नुहुन्छ ? आउँनुस् सङ्घीय निर्वाचनमा क्षेत्र नम्बर २ मा संगै चुनावी प्रतिस्पर्धा गरौँ ।’
शनिबार बाँस्कोटाले चुनौती दिनु अघिल्लो दिन अखिल क्रान्तिकारीको सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले बाँस्कोटाले सधै प्रयोग गर्ने ‘हेप्नी’ शब्द उल्लेख गर्दै एमालेलाई प्रतिक्रियावादीको संज्ञा दिँदै माओवादीले त्यस्तो प्रतिक्रियावादीलाई हेप्दै जाने चेतावनी दिएका थिए ।
माओवादीका नेता कार्यकर्ता प्रचण्डलाई एउटा पार्टीको अध्यक्ष भन्दापनि विचारको रूपमा लिन्छन् । उनीहरू प्रचण्डलाई अरूले बिझाउने गरी प्रहार गरेका शब्द हतपत सहदैनन् । प्रतिवाद गरिहाल्छन् ।
हुन् त बाँस्कोटा ७० करोड काण्डमा मुछिएदेखि नै प्रचण्डसंग निकै आक्रोशित छन् । बाँस्कोटाले कयौँ टेलिभिजन अन्तर्वार्तामा ७० करोड प्रकरणसंग प्रचण्डको भुमिकामाथि शंका ब्यक्त गर्दै आईरहेका छन् ।
तर काठमण्डौंको राजनीति र जिल्लाको राजनितिमा फरक छ । बाँस्कोटाले प्रचण्डलाई चुनौती र गाली गरिरहँदा स्वयं बाँस्कोटा आफैले २०७४ सालको निर्वाचनमा माओवादीले दिएको मत भने बिर्सिएको स्पष्ट हुन्छ ।
बाँस्कोटाकै निर्वाचन क्षेत्रमा पर्ने पाँचखाल नगरपालिकामा वाईसिएलको नगर भेलालाई सम्बोधन गर्ने क्रममा पनि प्रचण्डले निकै आक्रामक अभिव्यक्ति दिएका थिए । उनले २०६४ सालको निर्वाचनमा झै माओवादी भनेपछि स्वतस्फूर्त रूपमा जनाताले मत दिने वातावरण बनाउन वाईसिएललाई निर्देशन समेत दिएका थिए ।
बाँस्कोटाले २०७४ सालको निर्वाचनमा देशभर दोस्रो अत्याधिक मत ल्याएर विजयी भएका हुन् । सबैभन्दा बढी एमाले अध्यक्ष केपी ओलीले मत पाएका थिए । बाँस्कोटाले ल्याएको ५४ हजार ४२७ मत एमाले र सूर्य चिन्हको मात्रै होईन ।
यसमा माओवादी समर्थक नेता, कार्यकर्ताको पनि मत छ । बाँस्कोटाका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मधु आचार्यले उक्त निर्वाचनमा ३६ हजार ५७९ मत ल्याएका थिए ।
हुन त तत्कालिन नेकपा हुँदाका केहि माओवादीका जिल्ला तहका नेताहरू अहिले एमालेमा छन् । त्यहि संख्यालाई देखाउँदै बाँस्कोटाले पटक पटक प्रचण्डको रिस काभ्रेका माओवादी नेता कार्यकर्तामाथि पोख्दै आएका छन् ।
बाँस्कोटाले राजधानीबाट प्रसारण हुने राष्ट्रिय टेलिभिजनहरूमा ७० करोड आरोपको बदलामा ७० लाख मत ल्याएर विजयी हुने पटक पटक दोहोर्याउँदैन आएका छन् । एमाले फुटको असर सबैभन्दा बढी काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मै परेको छ ।
एमालेका पुरानो सबै नेता, बढी जनप्रतिनिधि र कार्यकर्ता निर्वाचन क्षेत्र नम्बर २ मै विभाजित छन् । आफ्नै पार्टी विभाजित भैरहेको बेला माओवादी नेता, कार्यकर्तालाई अपमान हुने अभिव्यक्ति दिएर के बाँस्कोटा साँच्चै ७० हजार मत ल्याएर आगामी निर्वाचनमा विजयी होलान् त ?
Facebook Comments