काभ्रे हुँदै अरनिको, बीपी राजमार्ग र पनौती सडकमा गुड्ने कयौँ टिपरका चालकसंग लाईसेन्स नै नभएको पाइएको छ ।
बिना लाईसेन्स ती टिपरहरू खुलेआम चलिरहेका हुन्छन् । जिल्लामा अहिले बागमति टिपर ब्यवसायी संघ, स्वरोजगार टिपर ब्यवसायी संघ र अन्य जिल्लामा दर्ता भएका टिपर चल्ने गरेका छन् ।
कोटेश्वर पूर्व दैनिक कम्तिमा १ हजारको हाराहारीमा टिपर गुड्छन् । तर त्यसमा ठूलो संख्याका चालकसंग लाईसेन्स नभएको बताईन्छ ।
अरनिको, बीपी राजमार्ग र पनौती सडकमा गुड्ने कम्तिमा २० प्रतिशत टिपरका चालकसंग लाईसेन्स नभएको संघका पदाधिकारी नै स्वीकार गर्छन् ।
‘राजमार्गमा गुड्ने कम्तिमा २० प्रतिशत टिपरका चालकसंग लाईसेन्स छैन् । संघमा दर्ता हुँदा यस्तो कुरा हेर्ने हाम्रो कामभित्र पर्दैन । जब कुनै ट्राफिक नियम उल्लंघन हुन्छ र प्र हरी केश पर्छ अनि मात्रै लाईसेन्स नभएको पुष्टि हुन्छ, नाम उल्लेख नगर्ने सर्तमा एक जना संघका पदाधिकारीले भने ।’
बिना लाईसेन्स गुडेपनि ट्राफिक नियम उल्लंघन नगर्दासम्म प्रहरीले खासै चासो दिने गरेको छैन । कतिपय लाईसेन्स बिहीन चालक र टिपर साहुहरूको सिधा ‘कनेक्सन’ समेत प्रहरीसंग हुने गरेको छ ।
पहिले दिउँसो गुड्दा लाईसेन्स चेक हुने गरेको थियो । तर अहिले टिपर राति गुड्ने गरेको छ । रातको समयमा चल्ने भएका कारण पनि लाईसेन्स चेक नहुने गरेको स्वयंम चालकहरू बताउने गर्छन् ।
बिना लाईसेन्सको गाडी चलाउन पाईंदैन । तर निर्वाध रुपमा राजमार्गमा ठूलो मात्रा सवारी साधन चलिरहेको छ । प्रशासनले कुनै चासो दिएको छैन ।
यस्तो नियम उल्लङ्घनमा प्रहरीको मुख छोप्न टिपर चालकले राजमार्गका अधिकांश चेक पोईन्टलाई मासिक रूपमा रकम बुझाउने गरेका छन् । जुन अनाधिकृत रकम हो ।
राजमार्ग हुने अधिकांश चेकिङमा राम्रै अनाधिकृत रकमको लेनदेन हुने गरेको छ । बिना रसिदको पैसा दिनु परेको चालकहरू बताउँछन् ।
Facebook Comments