धुलिखेल नगरपालिकाको वडा नम्बर १० र १२ जोड्ने सुंडी खोलाको पुल जीर्ण बन्दै गएको छ ।
पुल निर्माणका लागि बजेट विनियोजन भएपनि विविध कारणले फिर्ता हुँदै आएको स्थानीयले बताएका छन् । यो पुल राणाकालीन समयमा निर्माण भएको हो ।
‘यो पुल निकै पुरानो हो । जीर्ण बनिसक्यो । बितेको बर्षमा तीन पटक रकम फिर्ता भैसक्यो । जीर्ण पुलका कारण ठूलै घटना होला भन्ने चिन्ता लाग्छ, वडा नम्बर १० का स्थानीय गोविन्द भण्डारीले भन्नुभयो ।’
यो पुल हुँदै दैनिक कम्तिमा ५० वटा टिपर आउजाउ गर्ने गरेको स्थानीयले बताएका छन् । ‘लोड बोकेका टिपर यहि पुलबाट ओहोरदोहोर गर्छन्, प्रदेश सांसद चन्द्र लामा मार्फत आएको रकम फिर्ता भैरहेका छन् । तर चासो गर्नु पर्ने निकायले कुनै वास्ता गरेका छैनन्, स्थानीय गोविन्द भण्डारीले भन्नुभयो ।’
आफुहरूले पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भण्डारीको भनाई छ । ‘राणा कालमा बनेको पुल हो । मर्मतको भरमा कति दिन धान्छ ? पुलको क्षमता भन्दा बढी भार बोकेर टिपर कुदिरहेका हुन्छन् । यही अवस्था रहिरह्यो भने कुनै दिन ठूलो घटनाको सामान गर्नु पर्ने हुन्छ, भण्डारीले भन्नुभयो ।’
पुल निर्माणका बारे बुझ्न वडा नम्बर १० का वडाध्यक्ष पुष्पराज राउतलाई फोन गर्दा फोन उठाउनु भएन् । पटक पकट फोन गर्दा पनि वडाध्यक्ष राउतले फोन नउठाउनु भएको हो ।
Facebook Comments