धुलिखेल जवाफदेही निगरानी समूहले काभ्रे भञ्ज्याङमा निर्माणधिन अस्पतालको अनुगमन गरेको छ । आज बिहीन धुलिखेल नगरपालिकाका उपप्रमुख बिमला शर्माको उपस्थितिमा निर्माणधिन अस्पतालको अनुगमन गरिएको सामुदायिक सारथीका सामाजिक परिचालक सरस्वती श्रेष्ठले जानकारी दिनुभयो ।
यो अस्पताल २२ करोडको परियोजना हो । पहिलो चरणमा ११ करोड लागतमा अस्पताल निर्माण भैरहेको छ । १५ बेडको अस्पताल २०८० साल असार १४ गते सकिने गरी काम भैरहेको नगरपालिकाका ईन्जिनियर रोजन ताम्राकारले बताउनुभयो । २०७८ साल असार १४ गतेबाट अस्पताल निर्माणको काम सुरु भएको हो । अहिलेसम्म दुई प्रतिशत मात्रै काम सकिएको ईन्जिनियर ताम्राकारले बताउनुभयो ।
अहिले कामको गति हेर्दा समयमै सकिनेमा आशावादी रहेको उहाँले बताउनुभयो । ठेकेदार मार्फत काम गरिरहेको छ । स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा अस्पताल निर्माण भैरहेको हो ।
उपप्रमुख शर्माले दोस्रो पक्षको अनुगमनले राज्यलाई सुशासन कायम गर्न सजिलो बनाउने बताउनुभयो । बीपी राजमार्गमा हुने दुर्घटनाका घाईतेलाई सबै भन्दा छिटो उपचार गर्न सहयोग पुग्ने उद्देश्यले यो अस्पताल निर्माण थालिएको उपप्रमुख शर्माले बताउनुभयो । उहाँका अनुसार यो अस्पतालको काम वडाले पनि अनुगमन गर्छ । उपप्रमुख शर्माले अस्पताल अपाङ्ग मैत्री र महिला मैत्री संरचना बन्ने बताउनुभयो ।
यो अस्पतालको योजना हेर्न नगरपालिकाले छुट्टै ईन्जिनियर र ठेकेदारको तर्फबाट एक जना सब ईन्जिनियर राखेको छ । उपप्रमुख शर्माले निर्माणमा खटिएका मजदुर र प्राविधिकलाई सामग्रीमा कुनै कन्जुस्याइँ नगर्न निर्देशन दिनुभयो ।
करिब १० रोपनी क्षेत्रफलमा अस्पताल निर्माण हुनेछ ।वातावरण प्रभाव मुल्याङ्कन गरे मात्रै अस्पताल निर्माण थालिएको ईन्जिनियर ताम्राकारले बताउनुभयो । इन्जिनियर ताम्राकारका अनुसार जङ्गल क्षेत्रमा संरचना निर्माण भएकाले वृक्षारोपणको काम गरिनेछ ।
अनुगमनमा धुलिखेल जवाफदेही निगरानी समूहका संयोजक सुबिना मानन्धरको टोली पुगेको थियो । निगरानी समूहका सदस्यहरूले आयोजनाले वातावरणमा पार्ने असर, सुशासन, स्थानीयको सरोकार, निर्धारित समयमै सकाउन भैरहेको पहलकाबारे चासो राखेका थिए ।
Facebook Comments