सामुदायिक सारथीले काभ्रेको पनौती नगरपालिकामा
मानव अधिकार कार्ययोजना कार्यन्वयनका बिषयमा परामर्श कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाको सभा हलमा ‘स्थानीय तहमा मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यन्वयन परामर्श कार्यक्रम’ गरिएको सामुदायिक सारथीका जिल्ला संयोजक भेष बहादुर दनुवारले जानकारी दिनुभयो ।
नगरप्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दिगो विकासका जानकार दयासागर श्रेष्ठले मानव अधिकारको क्षेत्रमा नेपाल सहित विश्वका विभिन्न देशहरूले गरिरहेको अभ्यासका बारे जानकारी गराउनु भएको थियो । सबै नागरिकलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, शान्ति सुरक्षा, खानेपानी जस्ता मानव अधिकारको आधारभूत मान्यतालाई स्थानीय सरकारले कार्यन्वयनमा ल्याउनुपर्नेमा विशेष जोड दिनुभयो ।
नगरपालिकाले बनाउने हरेक योजना मानव अधिकार मैत्री रहेको नगरप्रमुख भिम न्यौपानेले बताउनुभयो । आगामी कार्यपालिका बैठकले कार्यदल बनाउने बताउनुभयो । कार्य दललाई कार्य योजना बनाउन सामुदायिक सारथीले सहयोग गर्न नगरप्रमुख न्यौपानेले आग्रह गर्नुभयो । कार्य दलले बनाउने खाकालाई नगरपालिकाको हिउँदे नगरसभाले अनुमोदन गर्ने नगरप्रमुख न्यौपानेले प्रतिबद्धता जनाउनुभयो ।
‘हामी नगरपालिकालाई सबै हिसाबले अब्बल बनाउन चाहान्छौ । घोषणा भैसकेको मानव अधिकार तथा न्याय मैत्री नगर घोषणालाई कानुनी रूपमै अघि बढाउन आवश्यक छ । यो कार्य योजना निर्माणमा सामुदायिक सारथीले सहयोग गरिदिनु होला, नगरप्रमुख न्यौपानेले भन्नुभयो ।’
कार्य दलले मानव अधिकार कार्यन्वयन कार्ययोजनाका लागि नीति, कार्यक्रम तथा बजेट, स्थानीय तह सञ्चालन कार्यविधि, नियमावली, कार्यविधि, ऐन, कानुन र नेपालको संविधानलाई समेत आधार बनाएर काम गर्ने नगरपालिका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।
पनौती नगरपालिका नेपालमै पहिलो मानव अधिकार तथा न्याय मैत्री शासन घोषणा भएको नगरपालिका हो । नगरपालिकालाई मानव अधिकार कार्य योजना बनाउन सहयोग गरिने सामुदायिक सारथीका अध्यक्ष कृष्ण प्यारी नकर्मीले प्रतिबद्धता जनाउनुभयो । ‘पनौती नगरपालिका नेपालमै पहिलो मानव अधिकार र न्याय मैत्री शासन घोषणा भएको नगरपालिका हो । यो घोषणालाई ब्यवहारिक बनाउन जरुरी छ । त्यसमा सहयोग गर्न हामी तयार छौ, अध्यक्ष नकर्मीले भन्नुभयो ।’
कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, नागरिकका प्रतिनिधिहरू सहभागी भएका थिए ।
Facebook Comments