धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ र नेपाल राष्ट्रिय शिक्षक संगठन धुलिखेल नगर समितिबीच छलफल भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन धुलिखेल नगर समितिले नगरप्रमुख ब्याञ्जुलाई आज भेटेर आफ्नो विविध समस्याका बारे अवगत गराउनुको साथै छलफल गरेको हो ।
शिक्षा र शिक्षकका विषयमा भएका पछिल्ला गतिबिधि, करार सम्झौताले शिक्षकहरुमा फैलिएको भ्रम र आशंका, कोभिडको कारणले रोकिएको भौतिक सिकाइ सहजिकरण, शिक्षक कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने बिषयमा गहन छलफल भएको नेपाल राष्ट्रिय शिक्षक संगठन धुलिखेल नगर समितिका अध्यक्ष रूपेश नेपालले जानकारी दिनुभयो ।
धुलिखेल नगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन संगठनले गराएको ध्यानाकर्षण पत्रलाई नगरप्रमुख ब्याञ्जुले गम्भीर रुपमा लिई छलफल गरी अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको नेपाल राष्ट्रिय शिक्षक संगठन धुलिखेल नगर समितिका अध्यक्ष नेपालले बताउनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन धुलिखेल नगर समितिको टोलीले शिक्षा मन्त्रालयका सचिव राम प्रसाद थपलियालाई पनि भेटेर शिक्षकका समस्या र गुनासाहरु राखेको छ ।
Facebook Comments