एमाले पार्टी फुटेपछि दल रोज्न पाउने समय सिमा आज सकिएको छ । काभ्रेमा आज अन्तिम दिनसम्म आईपुग्दा एमालेबाट स्थानीय तहमा विजयी बनेका ५६ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।
काभ्रेका दुईजना प्रदेश सांसद लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईले पनि नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । स्थानीय तहबाट एमाले पार्टी र सूर्य चिन्हबाट विजयी बनेका मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाईबा, नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ र भुम्लु गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।
१३ वटा स्थानीय तह रहेको काभ्रेमा एमालेले ५ वटा नगरपालिकामा प्रमुख, उपप्रमुख र २ वटा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित विजयी हासिले गरेको थियो । जिल्लामा १३५ वटा वडा रहेका छन् । जिल्ला निर्वाचन कार्यालय धुलिखेलका अनुसार २०७४ सालको निर्वाचनमा जिल्लाभर एमालेका ३७४ जना उम्मेदवार विजयी बनेका थिए ।
बुझ्नलाई अझ सजिलो गरौँ । काभ्रेको ६ वटा नगरपालिकामा ७४ वटा वडा रहेका छन् । जसमा ४१ जना वडाध्यक्ष एमालेबाट विजयी बनेका थिए । ६ मध्य ५ वटा नगरपालिकामा प्रमुख, उपप्रमुख एमालेबाट विजयी बनेका थिए । प्रमुख, उपप्रमुख, वडाध्यक्ष, नगर कार्यपालिका सदस्य र वडा सदस्य गरी ६ वटा नगरपालिकामा जम्मा २९० जना जनप्रतिनिधि एमाले पार्टी र सूर्य चिन्हबाट विजयी बनेका थिए ।
त्यस्तै काभ्रेमा ७ वटा गाउँपालिका छन् । जसमा ६१ वटा वडा रहेका छन् । यसमा भुम्लु र खानीखोला गाउँपालिकामा एमालेबाट अध्यक्ष र उपाध्यक्ष विजयी बनेका थिए । १३ जना वडाध्यक्ष एमालेबाट निर्वाचित भएका थिए । ७ वटा गाउँपालिकामा पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, गाउँकार्यपालिका सदस्य र वडा सदस्य गरी जम्मा ८४ जना मात्रै जनप्रतिनिधि एमालेका थिए ।
अब स्थानीय तहमै हेरौँ । जिल्लामा नयाँ दलमा सनाखत गर्नेको सबैभन्दा बढी चासो पूर्वक हेरिएको नगरपालिका हो मण्डनदेउपुर । जहाँ १२ वटा वडा रहेका छन् । प्रमुख, उपप्रमुख र ८ जना वडाध्यक्ष सहित ५३ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए । मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाईबा नेकपा (एकीकृत समाजवादी) पार्टी काभ्रेका जिल्ला अध्यक्ष पनि हुन् । मण्डनदेउपुर नगरपालिकाबाट नगरप्रमुख टोक बहादुर वाईबा, ५ जना वडाध्यक्ष, २ जना कार्यपालिका सदस्य र १० जना वडा सदस्य गरी १८ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।
१० वडा रहेको भुम्लु गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र ५ जना वडाध्यक्ष सहित ३२ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए । त्यहाँको उपाध्यक्ष कल्पना श्रेष्ठ, दुई जना वडाध्यक्ष, दुई जना कार्यपालिका सदस्य र ६ जना वडा सदस्य गरी ११ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।
११ वटा वडा रहेको नमोबुद्ध नगरपालिकामा प्रमुख, उपप्रमुख र ६ जना वडाध्यक्ष सहित ४४ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका थिए । जसमा उपप्रमुख रामदेवी तामाङ, एक जना कार्यपालिका सदस्य र ५ जना वडा सदस्य गरी ७ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।
१२ वटा वडा रहेको पनौती नगरपालिकामा प्रमुख, उपप्रमुख र ६ जना वडाध्यक्ष सहित ४६ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका थिए । जसमा एक जना वडाध्यक्ष, कार्यपालिका सदस्य १ जना र तीन जना वडा सदस्य गरी ५ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।
१३ वटा वडा रहेको पाँचखाल नगरपालिकामा ४ जना वडाध्यक्ष सहित ३३ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए । जसमा वडा नम्बर ६ का वडाध्यक्ष सहित ४ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।
८ वटा वडा रहेको महाभारत गाउँपालिकामा ४ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए । जसमा वडा नम्बर ८ का वडाध्यक्ष सहित चारै जना सदस्यले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । महाभारत गाउँपालिकामा एमाले शुन्य भएको छ ।
१४ वटा वडा रहेको जिल्लाकै सबैभन्दा पुरानो नगरपालिका बनेपामा एमालेका सबैभन्दा बढी जनप्रतिनिधि छन् । जिल्ला निर्वाचन कार्यालय धुलिखेलको विवरण अनुसार प्रमुख, उपप्रमुख र ९ जना वडाध्यक्ष सहित ५८ जना जनप्रतिनिधि एमालेबाट विजयी बनेका थिए । जसमा वडा नम्बर ६ का वडाध्यक्ष सचितानन्द केसी र २ जना वडासदस्य गरी ३ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।
९ वटा वडा रहेको तेमाल गाउँपालिकाकामा दुई जना वडाध्यक्ष सहित १३ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका थिए । जसमा वडा नम्बर २ का एक जना वडासदस्यले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।
९ वटा वडा रहेको चौरीदेराली गाउँपालिकामा वडा नम्बर ६ का वडाध्यक्ष सहित ५ र वडा नम्बर १ मा एक जना वडा सदस्य गरी ६ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए । जसमा एक जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।
२ जना जिल्ला समन्वय समिति सदस्यले पनि नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।
धुलिखेल नगरपालिकामा १२ वटा रहेका छन् । जहाँ प्रमुख, उपप्रमुख र ८ जना वडाध्यक्ष सहित ५६ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका थिए । धुलिखेल नगरपालिकामा एमालेबाट विजयी बनेका एक जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेनन् ।
७ वडा रहेको खानीखोला गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र ४ जना वडाध्यक्ष सहित २६ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए । उनीहरू सबै एमालेमै रहेका छन् ।
१२ वटा वडा रहेको रोशी गाउँपालिकामा ५ जना मात्रै जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए । वडा नम्बर ९ का वडाध्यक्ष सहित ५ जना सदस्य नै एमाले रहेका छन् ।
जिल्लाको बेथानचोक गाउँपालिकामा भने एमालेबाट एक जनापनि उम्मेदवार विजयी बनेका थिएन् । बेथानचोक गाउँपालिकामा ६ वटा वडा रहेको छ ।
Facebook Comments